बालकुमार पाण्डे
सूचना–प्रविधिको विकासले गर्दा गुरु र शिष्य अर्थात् पुरानो पुस्ता र नयाँ पुस्ताबीचमा रहेको ज्ञानको दूरी क्रमशः घट्दै गएको कुरा ओशो रजनिसले उल्लेख गरेका छन । लामो समयसम्म गुरुकुलमा गएर शिक्षा ग्रहण गर्ने हाम्रो प्राचीन पद्धतिअन्तर्गत गुरु र शिष्यबीचको ज्ञानको अन्तर पुस्तामा हुने गरेकोमा सूचना–प्रविधिको विकासको कारण सो दूरी घटेर केही घण्टामा सीमित हुन पुगेको मात्र होइन, क्षमतावान् शिष्यले त गुरुलाई नै पछाडि छाड्ने अवस्था रहेको उनले उल्लेख गरेका छन् । ओशोले यो धरतीबाट बिदा लिएको घेरै समय भएको छैन, तर आज सूचना–प्रविधिमा भएको विकासको उत्कर्षको बिन्दुमा उभिएर हेर्दा उनले उल्लेख गरेको उक्त कुरा भने प्रमाणित भएको छ । वास्तवमा तीव्र गतिमा विकास भएको सूचना–प्रविधिलाई आत्मसात् गर्न नसकेको कारणले हाम्रो समाजको ठूलो बौद्धिक हिस्सा सूचना–प्रविधिको ज्ञानको हिसाबले म्याद सिद्धिएको औषधिजस्तै हुँदै गएको अनुभूति गर्न सकिन्छ ।
सूचना–प्रविधिको तीव्रतर विकास भइरहेको वर्तमान युगमा यससँग बेखबर यो बौद्धिक जमातलाई न्यूनतम रूपमै भए पनि सूचना–प्रविधिमैत्री बनाउन सकिएन भने सूचना–प्रविधिको ज्ञानका हिसाबले साक्षर र निरक्षरहरूबीचमा ठूलो खाडल सिर्जना हुने र सोबाट भविष्यमा ठूलो सामाजिक असन्तुलन निम्तिने सम्भावना रहन्छ ।
वैज्ञानिक चाल्र्स डार्बिनको विकासवादी सिद्धान्त सूचना–प्रविधिको क्षेत्रमा पनि लागू हुने परिस्थिति सिर्जना भएको छ । सूचना–प्रविधिको ज्ञानलाई आत्मसात् नगर्ने जो–कोही अबको आधुनिक समाजमा असान्दर्भिक बन्दै जाने खतरा उत्पन्न भएको छ । सूचना–प्रविधिले मानिसको जीवनका हरेक पक्षमा पारेको व्यापक प्रभावलाई हेर्दा अबका दिनमा सूचना–प्रविधिको ज्ञानबिनाको शिक्षा पूर्ण रूपमा अधुरो साबित हुने देखिएको छ । सूचना–प्रविधिको प्रयोग अब आममानिसको जीवनपद्धतिका रूपमा विकास भइसकेकाले सूचना–प्रविधिसम्बन्धी ज्ञानलाई केवल एउटा प्राविधिक विषयका रूपमा मात्र नहेरी आधारभूत शिक्षाको विषय बनाउनु अपरिहार्य भइसकेको छ । तसर्थ राज्यले सूचना–प्रविधिसम्बन्धी शिक्षालाई अनिवार्य र आधारभूत विषयका रूपमा मान्यता प्रदान गरी विद्यालय तथा विश्वविद्यालयको हरेक तह र संकायको अनिवार्य पाठ्यक्रममा राख्नु अपरिहार्य भएको अहिलेको अवस्थामा सो काम गर्न ढिला भइसकेको देखिन्छ । ढिलै भए पनि सूचना–प्रविधिसम्बन्धी विषयलाई अनिवार्य पाठ्यक्रमअन्तर्गत राखेर अघि बढ्न सकियो भने मात्र आगामी दिनमा सूचना–प्रविधिको विकासले समाजमा पार्ने प्रभाव र त्यसले उत्पन्न गर्ने चुनौतीलाई सामना गर्न सकिनेछ ।
सूचना–प्रविधिको युगको दर्जा पाइसकेको आजको समयमा पनि सूचना–प्रविधिसँग परिचयसमेत गाँस्न नसकेको थुप्रै जमात र क्षेत्रहरू हामीसँग अर्को चुनौतीका रूपमा रहेको छ । बौद्धिक वर्गमा पर्ने लाखौं शिक्षक, हजारौं प्राध्यापक, उच्च शिक्षा हासिल गरेका र गरिरहेका लाखांै विद्यार्थी, न्यायिक, प्रशासनिक तथा अन्य क्षेत्रमा कार्यरत कर्मचारीहरू र देश हाँक्ने राजनीतिक नेताहरूको ठूलो हिस्सा सूचना–प्रविधिको विकासको यो तीव्र गतिसँग पूर्ण रूपमा बेखबर छ, जसभित्र यो पंक्तिकार पनि पर्छ । त्यस्तै आजको आधुनिक युगमा पनि बजारबाट लोप भइसकेको टाइपराइटर मेसिन प्रयोग गरी सञ्चालन भइरहेका हाम्रो राज्यको न्यायिक तथा प्रसासनिक क्षेत्रलाई आधुनिक सूचना–प्रविधिको मूल प्रवाहमा जोड्नु अर्को पहाडजस्तै चुनौती रहेको छ ।
सूचना–प्रविधिको तीव्रतर विकास भइरहेको वर्तमान युगमा यससँग बेखबर यो बौद्धिक जमातलाई न्यूनतम रूपमै भए पनि सूचना–प्रविधिमैत्री बनाउन सकिएन भने सूचना–प्रविधिको ज्ञानका हिसाबले साक्षर र निरक्षरहरूबीचमा ठूलो खाडल सिर्जना हुने र सोबाट भविष्यमा ठूलो सामाजिक असन्तुलन निम्तिने सम्भावना रहन्छ । सूचना–प्रविधिको जानकारी राख्ने र त्यसमा पहुँचसम्म नहुने वर्गबीचको खाडल (डिजिटल डिभाइड) हाम्रोजस्तो विकासशील देशका लागि सबैभन्दा गम्भीर चुनौती हो । त्यसका लागि यो ठूलो जमातलाई सूचना–प्रविधिसँग सम्बन्धित न्यूनतम आधारभूत ज्ञान प्रदान गर्ने वातावरणको सिर्जना गर्नु जरुरी छ । हुन त कतिपय क्षेत्रमा यो प्रयास नभएको होइन, तर आफूलाई समयक्रमसँगै अद्यावधिक गर्न नचाहने हामीहरूको प्रवृत्तिले गर्दा यसमा असफलता हात लागेको देखिन्छ । एउटा विश्व विद्यालयले आफ्ना प्राध्यापकहरूलाई बदलिँदो समयअनुसार सूचना–प्रविधिमा अद्यावधिक गराउने उद्देश्यसहित कम्प्युटर शिक्षा प्रदान गर्नको लागि आयोजना गरेको तालिम कार्यक्रमको विरोधमा प्राध्यापकहरूद्वारा हड्ताल गरिएको प्रसंगलाई यहाँ जोड्न सकिन्छ । सूचना–प्रविधिमा अद्यावधिक हुने र बनाउने कुरामा आफंैले लिनुपर्ने तत्परता पनि एउटा महत्वपूर्ण पक्ष हो । हुन त यस क्षेत्रमा रहेका एकाध व्यक्तिहरूबाट सूचना–प्रविधिसँग आफूलाई परिचित र अभ्यस्त गराउनका लागि आवश्यक प्रयत्न भइरहेको फाट्टफुट्ट रूपमा समाचारहरू आउन थालेकाले यो बौद्धिक समूह पनि सूचना–प्रविधिको विकाससँगै आपूmलाई अध्यावधिक गराउन चाहिरहेको छ भन्ने संकेत त मिलेको छ, तथापि न्यून रूपमा भइरहेको यो प्रयास आफैंमा पर्याप्त नहुने भएकाले यो ठूलो संख्यालाई सूचना–प्रविधिसम्बन्धी ज्ञान प्रदान गर्न सो विषयमा अद्यावधिक गराउन विशेष कार्यक्रम बनाई सो कार्यक्रमलाई व्यवस्थित रूपमा लागू गर्नु उपयुक्त हुने देखिन्छ । आधुनिक सूचना–प्रविधि मानवजीवनको अभिन्न अंगका रूपमा विकास भइसकेको र आजको आधुनिक समाजमा यसले मानवजीवनसँग अन्योन्याश्रित सम्बन्ध स्थापित गरिसकेको वर्तमान सन्दर्भमा यसको विकासको गतिलाई आत्मसात् गर्न सूचना–प्रविधिसम्बन्धी शिक्षालाई सबै तह र संकायमा अंग्रेजी विषयजस्तै अनिवार्य गर्नुपर्ने देखिन्छ भने सूचना–प्रविधिमैत्री नभएका र सूचना–प्रविधिको विकासको हिसाबले संक्रमणकालमा रहेका उल्लिखित बौद्धिक समूहलाई सूचना–प्रविधि मैत्री बनाउने तथा अद्यावधिक गराउने काम पनि साथसाथै गर्नुपर्ने देखिन्छ । यसका लागि आफूलाई बौद्धिक भनाउन रुचाउने तर सूचना–प्रविधिको ज्ञान शून्य भएका हामीजस्ता मानिसहरूले पनि बिनासंकोच आफूलाई सूचना–प्रविधिमैत्री बनाउने तथा अद्यावधिक बनाउने काममा तयार राख्नुपर्ने देखिन्छ । सूचना–प्रविधिको विकासको गतिलाई आत्मसात् गर्न उल्लिखित विषयहरूलाई समयमै सम्बोधन गर्न सकिएन भने समाज विकासको क्रममा आफूलाई सँगसँगै अघि बढाउन नसक्दा ‘राउटे’ समुदाय पिछडिएजस्तै हामी पनि बौद्धिक हिसाबले शिक्षित तर सूचना–प्रविधिको ज्ञानको हिसाबले ‘राउटे’ बन्ने सम्भावना प्रबल छ ।
(पाण्डे किष्ट बैंक लिमिटेडका कम्पनी सचिव हुन् ।)
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...