कोचिला राज्यको माग जायज छ’

भारतको कोच विहारमा पुस २० गतेदेखि २७ गतेसम्म नेशनल लाइब्रेरी कोच विहारले आयोजना गरेको ७ दिने पुस्तक मेला आजबाट सम्पन्न हुँदैछ । यिनै पुस्तक मेला र त्यहाँ बसोबास गर्दै आएका कोच राजवंशीहरुका बारेमा डिफरेन्ट राजवंशी अर्गनाइजेशन कोच विहारका अनुसन्धान कर्ता क्यानेडी रायसँग आत्माराम राजवंशी ले गरेको कुराकानी ः

पुस्तक मेलाको आयोजना गर्नुभएको छ । कस्तो खालको मेला हो यो ?  
– यसको  आयोजना नेशनल लाइब्रेरी कोचविहारले गरेको हो । यसको उद्देश्य खासमा भन्नु पर्दा विभिन्न देशमा छरिएका कोचहरुको संस्कृति, भाषा, साहित्यलाई संरक्षण र सम्वद्र्धन गर्न यसको आयोजना गरिएको हो । अर्को मुख्य कारण  हो नेपाल, भूटान, बंगलादेश र भारतमा बसोबास गरिरहेका कोच राजवंशीबीच एक आपसमा चिनजान होस् उनीहरुको संस्कृति एक आपसमा आदानप्रदान होस्, सामाजिक रुपमा उनीहरुबीच एकरुपता होस् भन्ने उद्देश्यले नै यसको आयोजना गरिएको हो । 
कोच विहारमा ठूलो संख्यामा कोच राजवंशीहरु छन् । राजवंशीहरुको राजवाडी छ यहा । यसबारे केही बताइदिनुहुन्छ कि ? 
– यहाँका राजवंशीहरुको परिचयमा ठूलो समस्या छ । जस्तो कि नेपालका राजवंशीहरु आफ्नो नामको पछाडि यानी थरमा राजवंशी नै लेख्छन् । तर यहाँ त्यस्तो लेख्दैनन् तर यहाँको राजवंशीहरु आफ्नो थर राजवंशी नलेखाई वर्मन, राय, चौधरी, दास, सिन्हा लेख्छन् । राजवाडीका बारेमा भन्नुपर्दा
राजा नरनारायणले जब राज्य गर्थे त्यसबेला उनको विशाल कोच राज्य थियो । त्यो राज्य भारतको पुरै विहार, पश्चिम बंगाल, आसाम, भूटानको केही भाग, बंगलादेशको केही भाग, नेपालको झापा, मोरंग सुनसरी मिली विशाल राज्य थियो उनको । त्यो कालान्तरमा विलय भएर भारत, बंगलादेश, भूटान र  नेपालमा गाभिएको छ ।
नेपालका झापा, मोरंग र सुनसरी जिल्लालाई त्यहाको कोचहरु कोचिला राज्यको माग गरिरहेका छन् ? यो कतिको सान्दर्भिक छ ? 
यहाँका आदिवासी कोचहरुको इतिहास पुरानो छ । यसबारे इतिहासै छ । पछि मात्रै भौगोलिक रुपमा कोचराज्य विभाजित भए पछि अहिले यसको अवस्था यस्तो भएको हो । 
यसबारे यहाँका कोचहरु एकदमै चासो राख्छन् । धेरै प्रतिशत कोचहरु यसको जानकारीमा छन् । कोच राज्यको मागलाई जायज भएको बताउँछन् । 
कोचहरुको यहा (कोचविहार)मा ऐतिहासिक राजवाडी छ, यसलाई सरकारले कसरी संरक्षण गरिरहेको छ ? 
– जबदेखि कोच विहार राज्यको विलय भयो त्यसबेलमा यहाँका कोचहरुले आफ्नो मठ, मन्दिर, दरवारलाई संरक्षण गर्न आन्दोलन चलाए, दवाव दिए । त्यसबेलादेखि राजवाडीलाई संग्राहलयको रुपमा संरक्षण गरेको छ । यद्यपि राजवाडी भित्र रहेको धेरै ऐतिहासिक वस्तुहरु चोरी भएको छ । 
अन्त्यमा केही भन्नु पर्ने छ कि ?
अन्त्यमा म के भन्न चाहन्छु भने जति पनि कोचहरु विभिन्न देशमा छरिएका छन्, तिनीहरुलाई एकजुट गरी अम्ब्रेला सोसाइटी निर्माण गरिएदेखि सांस्कृतिक, सामाजिक र राजनीतिकरुपमा अगाडि बढ्न सहज हुने थियो । 

2 comments:

  1. निश्चित रुपमा कोचिला राज्यको माग जायज छ!!

    ReplyDelete
  2. निश्चित रुपमा कोचिला राज्यको माग जायज छ

    ReplyDelete

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...