तपाइँले स्कूल कहाँ पढ्नुभएको हो ?
विराटनगरको द राइजिङ स्कूलमा पढेँ र त्यहीँबाट २०५७ सालमा एसएलसी पास गरेँ ।
स्कूलको पढाइ कस्तो थियो ?
राम्रो थियो । स्कूलको वातावरणले हामीलाई आकर्षित गर्दथ्यो । म त सानैदेखि नाँच्न औधी मन पराउँथेँ । स्कूलमा पनि खुब नाच्थेँ । पढ्दापढ्दै म आफैँ स्कूलमा डान्स शिक्षक भएँ । स्कूलमा मार्शल आर्ट थिएन । तर मलाई मन परेकाले मार्शल आर्ट सिक्न कक्षा छाडेर जान्थेँ । तर सरहरूले अतिरिक्त कक्षा लिएर मेरो छुटेको कोर्स पढाउनुहुन्थ्यो ।
तपाइँको आजको व्यक्तित्व निर्माणमा स्कूलको योगदान कत्तिको रह्यो ?
सरहरूले मलाई धेरै नै प्रोत्साहन दिनुहुन्थ्यो । नत्र मार्शल आर्ट सिक्न जाँदा छुटेको कुरा मैले पछि पढ्न नपाउन पनि त सक्थेँ नि ! मलाई कलाकार बन्न प्रेरणा दिने र आत्मविश्वास जगाइदिने काम मेरो स्कूलले गरेको हो । कलाकारितालाई पेशाकै रूपमा अपनाउन सक्छु भन्ने भावनाको विकास स्कूल नसकिँदै भइसकेको थियो ।
स्कूल जीवनका सम्झ्नायोग्य अरू कुरा पनि होलान् नि !
कुटाइ खाएको कुरा झ्ल्झ्ली सम्झ्न्छु । गणितमा एकदमै कमजोर थिएँ । घोक्न पनि सक्दिनथेँ । त्यही भएर मैले कक्षा ९ मा सरबाट धेरै पिटाइ खाएकी छु । त्यतिखेर म मिस कोशी भइसकेकी थिएँ । तैपनि सरले मलाई कुट्न छाड्नुभएको थिएन । तर अरू कुरामा स्कूलको वातावरण राम्रो थियो ।
स्कूलका साथीहरूलाई कत्तिको सम्झ्नुहुन्छ ?
हाम्रो कक्षामा जम्मा १२÷१३ जना मात्र थियौं । म केटीसँगभन्दा केटासँग बढी मिल्थेँ । दोमनता, सञ्जु, रमिला मेरा मिल्ने केटी साथी थिए । तर केटासँग मिल्ने बानीले फिल्म क्षेत्रमा प्रवेश गर्दा दुःख दियो । यहाँ त केटासँग सङ्गत गर्दा ‘लभ’ परेछ पो भन्दा रहेछन् !
फर्किएर आफू पढेको स्कूलमा जानुभएको छ ?
फिल्म लाइनमा लागेपछि अहिलेसम्म स्कूल गएकी छैन । तर अब छिटै जाने विचार गरिरहेकी छु । स्कूलले चाहेको र मैले गर्न सक्ने सहयोग पनि गर्छु अब ।
निजी स्कूल राम्रो कि सार्वजनिक ?
पहिला पहिला त निजी स्कूल थिएनन् नि ! नेपालमा जति पनि विद्वान्हरू भए, शिक्षकहरू भए, ती सबै सार्वजनिक स्कूलका उत्पादन हुन् । त्यसैले सार्वजनिक स्कूललाई हेलाँको
दृष्टिले हेर्नै मिल्दैन । स्कूल विद्याको मन्दिर हो, निजी होस् कि सार्वजनिक । त्यसैले म यो ठीक यो बेठीक भन्ने पक्षमा छैन । बरु दुवै थरी स्कूललाई हामी सबै मिलेर साँचो अर्थमा केटाकेटीको प्रतिभा उजागर गर्ने र उनीहरूलाई राम्रो कुरा सिकाउने ठाउँ बनाउनुपर्छ ।
सार्वजनिक स्कूललाई कसरी निजीजत्तिकै आकर्षक बनाउन सकिएला त ?
स्कूल कस्तो हुने भन्ने कुरा शिक्षकको हातमा हुन्छ । “हामीले तलब मात्र खाएका छैनौं, केटाकेटीको भविष्य बनाउने जिम्मा पनि लिएका छौं । राम्रो शिक्षा दिएनौं भने उसको भविष्य कसरी राम्रो हुन्छ र !” भन्ने भावना प्रत्येक शिक्षकमा पैदा गराउन सक्नुपर्छ । किनभने स्कूलका अरू समस्या ठूला समस्या होइनन् ।
राम्रो कलाकार पैदा गर्न स्कूलको कुनै हात हुन्छ ?
धेरै हुन्छ । बालबालिकामा अन्तरनिहित कलाकारिताको खोजी गर्ने र त्यसलाई फक्राउने फुलाउने थलो हो स्कूल । नाटक, चित्रकला, सङ्गीत र नृत्य साधारण बच्चाले त मन पराउँछ भने कलाकारिताको सम्भावना भएको बच्चाले झ्न् धेरै मन पराउँछ । यसै पनि बच्चाहरू सङ्गीतमय वातावरण बढी मन पराउँछन् । सङ्गीतमय वातावरणले केटाकेटीहरूमा खुसी र प्रेममय भाव वृद्धि गर्दछ । त्यसैले स्कूलमा दैनिक एक घण्टा नृत्य, सङ्गीत हुनुपर्छ । अतिरिक्त क्रियाकलापको माध्यमबाट बालबालिकामा निहित कलाकारिताको पहिचान, प्रस्फुटन र विकासमा शिक्षकहरूले विशेष ध्यान दिनुपर्छ ।
प्रस्तुती सुदर्शन घिमिरे
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...