पर्यटकलाई दुर्लभ हाब्रे देखाउन दौडधुप

विप्लभ भट्टराई
इलाम, पुस १२ - 
लुगलुग काँप्ने चिसोबीच उत्तरी जमुना ८ इङलाका सांगे शेर्पा कुटुवा चामलको खाना र गुन्द्रुकको अचार पकाउन व्यस्त थिए । घरमा नै सजाइएका दुईवटा कोठा चटक्क पारिएका थिए ।

शनिबार बिहान दुई हजार सात सय ५० मिटरको उचाइमा रहेको उनको घर पुग्दा कुनै नजिकका नातेदारलाई मेजमान गर्न लागिएझंैको तयारी भइरहेको थियो तर शेर्पा परिवारको चटारो आफन्तलाई मेजमानभन्दा सदरमुकामबाट रेडपाण्डा हेर्न पुगेका पाहुनाको सत्कार गर्नु थियो ।
घरदेखि केही माथिको जंगलमा रेडपाण्डा हेर्न आउने पर्यटकका लागि उनीमात्र होइन यस क्षेत्रका हरेक घरमा यस्तै व्यस्तता देखिन्छ । रेडपाण्डा हेर्न पर्यटक जान थालेपछि चर्चा कमाएको चोयाटार सामुदायिक वनमा पहिलोपटक स्थानीय विकास अधिकारी, साहयक प्रमुख जिल्ला अधिकारी र सरोकारवालाको जम्मो टोली त्यहाँ पुगेको थियो ।

स्थानीयवासीकै सक्रियतामा केही समययता चोयाटार क्षेत्र विश्वमा दुर्लभ मानिएको रेडपाण्डा पाइने भएकाले महत्त्वपूर्ण बन्दै गएको छ । सदरमुकामबाट २१ किलो मिटर उत्तर कच्ची सडकबाट पुगिने यो स्थानमा पर्यटन वर्षको पूर्वसन्ध्यामा सरोकारवाला पुगेका थिए । 

'रेडपाण्डाले यहाँको पर्यटन व्यवसायलाई उचाइ दिनेछ,' स्थानीय विकास अधिकारी भूपराज राईले भने, 'पर्यटन विकासमा स्थानीयले देखाएको उत्साह सरहानीय छ ।' महिलाले संरक्षण गरेको यो वनमा रेडपाण्डा हेर्नका निम्ति विभिन्न नियम नै बनाइएको छ । रेडपाण्डाको संरक्षणका लागि त्यहाँ पुग्ने पर्यटकबाट आर्थिक सहयोगसमेत संकलन गरिएको छ । 

पर्यटकलाई बस्ने र खाने व्यवस्थाका लागि स्थानीय एक दर्जन घरमा पेइङ गेष्टको व्यवस्था गरिएको छ । सामुदायिक वनले पर्यटकलाई रेडपाण्डा भएको स्थानसम्म पुर्‍याउन केहीलाई रोजगारी दिएर नै खटाएको छ ।

'सम्बन्धित निकायबाट खासै सहयोग पाउन सकिएको छैन,' वन समूहकी अध्यक्ष गोपिका गुरुङले भनिन्, 'स्थानीयको उत्साहमा सरोकारवालाले साथ दिए रेडपाण्डा पर्यटनलाई व्यवस्थित बनाउँदै लगिनेछ ।'चोयाटार क्षेत्रमा आधा दर्जनभन्दा धेरै रेडपाण्डा रहेको अनुमान गरिएको छ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...