काँकडभिट्टा – कम्प्युटरको विकासले धेरैको दैनिकीलाई सहज पारिदिएको छ । तर, कम्प्युटरकै कारण विराटनगरका मौला राई, ५४ को दैनिकी भने डमाडोल देखिन्छ । उनी कम्प्युटरकै कारण दिनदिनै वेरोजगार वनाइदैछन् । ‘पहिला कम्प्युटर नहुँदा राम्रो थियो’, आफुलाई पूर्वाञ्चलकै एक्लो टाइपराइटर मेकानिक भएको दावी गर्दै राईले भने,‘कम्प्युटर आएपछि पेशा नै धरापमा परेको छ ।’ कम्प्युटरको प्रयोगले टाइपराइटरसंगै आफ्नो जिविकाको स्रोत पनि विस्थापित भएको राईको ठहर छ ।
पहिला कार्यालयदेखि विभिन्न संघ संस्थाले टाइपराइटरकै प्रयोग वढी गर्थे । समयको परिवर्तनसंगै अहिले टाइपराइटरको स्थान कम्प्युटरले ओगटेको छ । ‘त्यतिवेला टाइपराइटर वनाएर जिविका राम्ररी चलेको थियो’, राई भन्छन्,‘ कम्प्युटर वनाउन जान्दिन, त्यसैले समस्या छ ।’ कुनै समय उनी टाइपराइटर मर्मत गरेर मासिक १० हजारसम्म कमाउथे । तर, अहिले विहान वेलुका हात मुख जोड्ने माध्यममात्रै भएको छ । पहाडी जिल्ला खोटाङबाट साढे तीन दशक अघि विराटनगर झरेका राईले यो पेशा अपनाएको पनि लगभग त्यति नै वर्ष भएछ ।
उनी यो पेशामा आवद्ध हुन पुग्नुको पछाडि लामो कथा छ । २०३३ सालतिर लाहुरे वन्न भारत भासिएका राई अन्ततः टाइपराइटर मेकानिक भएर फर्किएका थिए । ‘उमेर पुगेन भनेर फर्काइदियो’, राईले त्यो क्षण सम्झिए,‘लाहुरे वन्न गाको चाउरे पो भएर फर्कियो ।’ लाहुरे वन्न नपाएको झोकमा उनले केही समय भारतमै विताए । त्यही समयमा उनले भारतको कानपुरमा टाइपराइटर मर्मत केन्द्रमा काम गर्न थाले र त्यही काम सिके । त्यहा सिकेको शीपलाई उनले वर्षौदेखि स्वदेशमा लगानी गरिरहेका छन् । तर, विडम्वना उनले आफु जस्तै मेकानिकलाई जन्माउन भने असक्ष्ँम वने ।
५ जनाको परिवार पनि यसै पेशाले धानिरहेको राई बताउछन् । हालसम्म १० हौ हजार टाइपराइटर मर्मत गरेको राईको दावी छ । ‘कति मर्मत गरियो गरियो’, इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टाइपराइटर मर्मतका क्रममा हालै भेटिएका राईले भने,‘लेखाजोखा नै छैन ।’ उनी टाइपराइटर मर्मतका लागि काँकडभिट्टादेखि सिरहा सप्तरीसम्म पुग्छन् । थोरै पारिश्रमिकमा राम्रो र भरपर्दो कामका कारण उनी सवैसामु लोकप्रिय वनेका हुन् ।
पूर्वाञ्चलमा जुनसुकै कार्यालयको टाइपराइटर विग्रिएमा मर्मतका लागि सवैले राईकै नाम लिन्छन् । हाल पूर्वका अधिकांश जिल्लास्थित प्रहरी कार्यालय र केही सरकारी कार्यालयमा टाइपराइटरको प्रयोगबाट काम सम्पादन गरिदै आएको छ । ‘विग्रियो भने वोलाउने उनैलाई हो’, इलाका प्रहरी कार्यालय काँकडभिट्टाका निरीक्षक देवीप्रसाद फागोले भने,‘टाइपराइटर मर्मत गर्ने अर्को मान्छे नै छैन, उनको शेषपछि पुर्वबाट यसको प्रयोग पनि हराउछ होला ।’
No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...