माओवादी लडाकुद्वारा गाउँलेमाथि निर्घात कुटपिट


इलामको चुलाचुलीस्थित प्रथम डिभिजन मुख्यालयका माओवादी लडाकुले गाउँलेलाई निर्घात कुटपीट गरेका छन् ।
गएराती बिकलको नेतृत्वमा हातहतियार सहित शिविरबाट निस्किएका पचासभन्दा बढी लडाकुले चुलाचुली १ का ६ परिवारका सदस्यलाइ निर्घात कुटपिट गरेका हुन् ।
कुटपिटपछि उनीहरुले छवि सुब्बा, मानबहादुर फागो, चन्द्रबहादुर लिम्बु र दिपेन्द्र तुम्बापोलाई बेपत्ता बनाएको चुलाचुली गाविसका पूर्व अध्यक्ष ओमनारायण खनालले बताउनु भयो । लडाकु हतियारसहित गाउँ पसेर कुटपिटमा उत्रिएपछि गाउँ नै आतंकित भएको थियो ।
कुटपिटबाट स्थानिय डिकबहादुर लिम्बु र सुमन थाम्सुहाङ घाइते भएका छन् । उनीहरुको टाउको र शरीरका अन्य भागमा गम्भीर चोट लागेको छ । डिकबहादुरलाई थप उपचारकालागि बिराटनगरको न्यूरो अस्पताल लगिएको छ । स्थानिय योगमाया तुम्बापोले लडाकुले आफ्ना छोरा दिपेन्द्रलाई बन्दुकको कुन्दाले हिर्काउँदै राती नै शिविरभित्र लगेको र छुटाउन जाँदा आफूलाई लछारपछार गर्दै कुटपिट गरेको बताउनु भयो । आफ्नो घरबाट तीनतोला सुनसमेत लुटेर लगेको तुम्बापोको आरोप छ । स्थानियका अनुसार लडाकुहरु बन्दुक, खुकुरी, भाला लगायत हतियार लिएर गाउँ पसेका थिए ।
माओवादीका लडाकुले नेपाली काँग्रेसका महासमिति सदस्य तारा फागोको घरमा आक्रमण गरि मे ३ प ८३२८ नम्बरको मोटरसाइकल समेत तोडफोड गरेका छन् । गत बैसाख ३० गते चुलाचुलीको कमलमा भएको विवाहमा स्थानिय युवतीलाई जिस्काएको निहुँमा गाउँलेले शिविरभित्रका लडाकुलाई कुटपिट गरेका थिए । सोही घटनाको प्रतिशोधमा लडाकुले आफूहरुलाइ कुटपिट गरेको पीडितले बताएका छन् ।
घटनाको विषयमा बुझ्न शिविरमा रहेका विशेष समितिका सदस्य र प्रहरीको टोली घटनास्थलमा पुगेका छन् ।
कुमार

1 comment:

  1. जनताका खुनपसीना खाएर मोटाएका भिमसिने बोकाहरू, जनताकै छोरीचेली जिस्काउँछन्, जनतालाइ नै कुटपिट गर्छन् । खसी नपारी यी बोका सुध्रिने भएनन् ।

    ReplyDelete

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...