सागको व्यापारले धानेको परिवार


धनकुटा, चैत्र २३ 
मूर्तिढुंगा गाविसकी सीता कार्की रायोको साग बेचेरै परिवारको गुजारा गर्न सक्ष्ाम भएकी छिन् । उनी साग बिक्री गरेर घरायसी र छोराछोरी पढाउने खर्च जोहो गर्दै आएकी छिन् ।

उनी मात्र नभएर जिल्लाका लेकाली भेगका अधिकांश कृषक रायोको साग उत्पादन गरी आम्दानी जुटाउँदै आएका छन् । अधिकांश महिना उत्पादन गर्न सकिने र बजारको समेत समस्या नभएपछि कृषकहरू ढुक्क भएको बताए । महिनामा कम्तीमा एक हजारभन्दा बढीको साग बिक्री गर्दै आएको कार्कीले बताइन् । 

सिधुवा तथा हिले लगायतका स्थानमा आफूले डोकोमा बोकेर लगेको साग क्षणभरमा बिकिहाल्छ, कार्कीले दंग हुँदै भनिन्, एक डोको बिक्री गर्दा महिनाको घर खर्च चल्छ । उनका तीन बालबच्चा र परिवारका लागि विगत चार वर्षदेखि सागको कारोबार मुख्य आम्दानीको स्रोत बनेको बताइन् । 

असोजदेखि चैत महिना मुख्य उत्पादन हुने रायोको सागले वर्षभरका लागि कृषकहरूले आम्दानी जुटाउन सक्षम भएको सिधुवा कृषि सहकारी संस्थाका अध्यक्ष मेगेन्द्र गुरुङले बताए ।

 बजारमा खुद्रा रूपमा बिक्री हुने गरे पनि उचित मूल्यमा साग तथा अन्य तरकारी सहकारीले खरिद गरिदिएपछि बजारको समस्या नभएको गुरुङले जानकारी दिए । मूर्तिढुंगा, परेवादिन, जितपुर, तांखुवा तथा चौबीसे क्षेत्रको भेडेटार, डाँडाबजार, राजारानी लगायतका स्थानमा साग उत्पादन र कारोबार हुने गरेको जिल्ला कृषि विकास कार्यालय स्रोतले जनाएको छ ।

वर्षमा करिब सात महिनासम्म उत्पादन हुने रायोको सागले परेवादिनकी दीपा गुरुङले पनि मनग्य आम्दानी हुने बताइन् । उनले महिनाभरमा कम्तीमा साढे तीन हजारभन्दा बढी सागको बिक्रीबाट आम्दानी गर्छिन् । 

यस बाहेक अन्य प्रकारका तरकारी खेतीलाई पनि यहाँका कृषकहरूले आम्दानीको स्रोत बनाएका छन् । जसबाट वाषिर्क तरकारी खेतीबाटै यस क्षेत्रका कृषकले कम्तीमा एकदेखि चार लाखसम्म आम्दानी गर्दै आएको सिधुवा सहकारी स्रोतले जनाएको छ । 

यहाँका कृषकहरूले स्थानीय बजारबाहेक धनकुटा सदरमुकाम, धरान, इटहरी, विराटनगरसम्म आफ्ना उत्पादन पुर्‍याउने गरेका छन् । प्रत्यक्ष रूपमा स्थानीय बजारमा कृषक स्वयम्ले बिक्री वितरण गर्दै आए पनि खरिदेहरूको माध्यमले अन्य ठूला बजारमा उत्पादन पुुग्ने गरेको छ । 

प्रतिमुठा सागको मुख्य कम्तीमा दसदेखि पन्ध्र रुपैयाँसम्म रहेको छ । ठूला सानो मुठाको आधारमा मूल्य कायम हुन्छ, परेवादिनका जितबहादुर विष्टले भने, यसको खेती गर्न सहज भएकाले आम्दानी बढी हुनेगर्छ ।

राजधानी तथा अन्य ठूला सहरमा पनि यहाँको सागको माग बढ्दै गएको कृषि विकास कार्यालयले जनाएको छ । वाषिर्क रूपमा सागको एक करोडभन्दा बढीको कारोबार हुने गरेको स्रोतले जनाएको छ ।
Source:- ekantipur

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...