रातो प्लेटका सवारीसाधनलाई यात्रु बोक्न प्रतिबन्ध


सुव्रत न्यौपाने
झापामा रातो प्लेट भएका सवारीसाधनलाई यात्रु बोक्न प्रतिबन्ध लगाइएको छ । निजी प्रयोजनमा मात्रै प्रयोग गर्न पाउने सवारीले सार्वजनिक स्थलबाट यात्रु ओसार्ने क्रम तीव्र भएपछि सामुदायिक ट्राफिक सेवा केन्द्रको सहयोग लिएर प्रहरीले त्यस्ता सवारीमाथि कारबाही थालेको हो ।
ऐनविपरीत यात्रु ओसारेको पाइएकाले ती साधन सञ्चालनमा कडाइ गरिएको ट्राफिक प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र सामुदायिक ट्राफिक सेवा केन्द्रले संयुक्त रूपमा सार्वजनिकस्थलबाट रातो नम्बर प्लेटका निजी सवारीसाधन हटाउन थालेका हुन् ।
नियमविपरीत रातो प्लेटका सवारीले सार्वजनिकस्थलबाट यात्रु बोकेको पाइएकाले कारबाही थालिएको ट्राफिक प्रमुख प्रहरी निरीक्षक शान्तिराज कोइरालाले बताए । 'प्रयोजनविपरीत बिर्तामोड क्षेत्रमा चलाइएका रातो प्लेट नम्बरका डेढ सयभन्दा बढी सवारीलाई सार्वजनिक स्थलबाट हटाइसकिएको छ,' उनले भने, 'लुकीछिपी सार्वजनिकस्थलमा बस्नेलाई पनि ऐनअनुसार जरिवाना गरिरहेका छौँ ।' ट्राफिक स्रोतका अनुसार झापामा निजी नम्बर प्लेटका पाँच सयभन्दा बढी सवारीले सार्वजनिकस्थलमा बसेर यात्रु ओसार्दै आएका छन् । ती सवारीले गैरकानुनी रूपमा भाडाका यात्रु ओसार्ने गरेका छन् ।
'अहिले भाडामा यात्रु बोक्ने सार्वजनिक साना सवारीसाधनको संख्या २० प्रतिशत मात्र छ, बाँकी ८० प्रतिशत सबै निजी गाडीले यात्रु बोक्छन्’
झापाको काँकडभिट्टा, धुलाबारी, विर्तामोड, दमक, भद्रपुर, चन्द्रगढीलगायत सहरका मुख्य चोकमा निजी नम्बर प्लेटका सवारी पार्किङ गरेर राख्ने गरिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद मैनाली सार्वजनिक सवारीसाधनका सञ्चालक सरकारी उदासीनताको सिकार भएको बताउँछन् । ठूलाभन्दा साना सवारीसाधनका सञ्चालक बढी मारमा परेको उनले बताए । 'अहिले भाडामा यात्रु बोक्ने सार्वजनिक साना सवारीसाधनको संख्या २० प्रतिशत मात्र छ, उनले भने, 'बाँकी ८० प्रतिशत सबै निजी गाडीले मान्छे बोक्छन् ।' साना सवारीसाधन महासंघको पहुँचभन्दा बाहिर रहेकाले कारबाहीका लागि प्रभावकारी पहल गर्न नसकेको उनले बताए ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार निजी नम्बर प्लेटका गाडीले भाडाका यात्रु बोक्न पाउँदैनन् । भाडाका यात्रु बोक्न यातायात व्यवस्था कार्यालयबाट परमिट लिनुपर्ने प्रावधान छ । तर, त्यसविपरीत झापामा निजी प्रयोजनका लागि दर्ता गरिएका सवारीले भाडाका यात्रु ओसारेको पाइएकाले कारबाही थालिएको सामुदायिक ट्राफिक सेवा केन्द्रका अध्यक्ष दीपक तामाङले बताए । 'निजी गाडीले भाडामा यात्रु ओसारेर राज्यलाई कर छलिरहेका छन्,' अध्यक्ष तामाङले भने, 'भाडाका गाडीभन्दा निजी गाडीले कम कर तिर्नुपर्ने भएकाले ठगी बढ्दै गएको हो ।'
केन्द्रमा राजनीतिक दल, नागरिक समाज, उद्योग-व्यवसायी सबैको प्रतिनिधित्व भएकाले निजी नम्बर प्लेटका सवारीलाई कारबाही गर्न सजिलो भएको प्रहरी निरीक्षक कोइरालाले बताए । 'ऐनअनुसार सञ्चालनको अनुमति पाएका भाडाका सवारी मर्कामा परेको गुनासो आएपछि कारबाही थालिएको हो,' प्रनि कोइरालाले भने, 'अब ऐनअनुसार नचल्ने सबै सवारी कारबाहीको दायरामा पर्छन् ।' निजी प्रयोजनका सेन्ट्रो कार, जिप, भ्यानलगायतका सवारीसाधनले नियम मिचेर भाडामा यात्रु बोक्दा भाडाका गाडी व्यवसायी संकटमा परेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका उपाध्यक्ष एलबिन्द्र खत्री बताउँछन् । 'ट्याक्सी स्ट्यान्डमा कालो प्लेटका गाडीभन्दा रातो प्लेटका निजी गाडी यात्रु पर्खेर बसेको देखिन्छ,' उनले भने, 'जुन सवारी जे प्रयोजनका लागि दर्ता गरिएको हो त्यो त्यही प्रयोजनमा लगाइनुपर्छ ।'
निजी गाडी नेपालको जुनसुकै ठाउँमा जान पाए पनि भाडाका गाडी आप


\mनो परमिटबाहेकका स्थानमा जान पाउँदैनन् । जानुपरे पटके परमिट लिनुपर्छ । ऐनको दफा १२ को उपदफा १ मा कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनको निम्ति प्रयोग गर्न नपाइने व्यवस्था छ । ऐनकै दफा १६० मा निजी गाडीले भाडाको यात्रु बोके पाँच सयदेखि दुई हजारसम्म जरिवाना गर्न सक्ने उल्लेख छ ।




कालो नम्बर प्लेटवालाले सरकारलाई विभिन्न पाँच शीर्षकमा राजस्व बुझाउँदै आएका छन् । तर, रातो नम्बर प्लेटवालाले भने एउटा शीर्षकमा मात्र बुझाए पुग्छ । कालो नम्बर प्लेटवालाले सवारी करबापत वार्षर्िक पाँच हजार रुपैयाँ बुझाउनुपर्छ । रातो नम्बर प्लेटका सवारीले वार्षर्िक आठ हजार तिर्नुपर्ने भए पनि अन्य शीर्षकमा पैसा तिर्नुपर्दैन । तर, कालो नम्बर प्लेटवालाले योभन्दा थप चार शीर्षकमा पैसा बुझाउनुपर्छ । नवीकरण, प्राविधिक जाँच र पटके परमिटबापत पनि उनीहरूले पैसा तिर्नुपर्छ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...