भारतीय हतियारसहित दुई पक्राउ

मुक्ति पौडेल
काँकडभिट्टा/प्रहरीले पूर्व–पश्चिम लोकमार्गअन्तर्गत झापाको मेचीनगर–२ स्थित टीकापुरबाट हतियारसहित दुईजना र सो हतियार भित्र्याएको आरोपमा थप तीनजनालाई पक्राउ गरेको छ । प्रहरीले मङ्गलबार यहाँ पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको छ ।
मेची अञ्चल प्रहरी कार्यालयको विशेष टोलीले गत सोमबार अपराह्न ३ बजे चेकजाँचको क्रममा मे. ३ प ८३०९ नम्बरको नीलो रङको मोटरसाइकलको सिटभित्र लुकाइराखिएको अवस्थामा हतियार बरामद गरेको हो । युजेए लेखिएको अटोमेटिक पेस्तोल एक, त्यसको म्याग्जिन दुई र सात वटा गोली बरामद गरेको अञ्चल प्रहरी प्रमुख एसएसपी रविराज श्रेष्ठले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा पाँचथरको लुङ्रुपा–२ का २९ वर्षीय मगेन्द्र राई र ताप्लेजुङको पापुङ–७ का २३ वर्षीय मनकुमार लिम्बू छन् ।
हतियार नेपाल भित्र्याएको आरोपमा पक्राउ परेका तीनजना अन्य आपराधिक गतिविधिमा पनि संलग्न रहेको प्रहरीले जनाएको छ । ताप्लेजुङको साँवा–३ का २४ वर्षीय अशोक लिम्बू, पाँचथरको फिदिम–१ का २१ वर्षीय राजभक्त योङ्या र ताप्लेजुङकै फुङलिङ–४ का सुजन लिम्बूलाई झापाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा अभियुक्तहरुले आफूहरु लिम्बुवानसम्बद्ध संघीय एकता संयोजन समिति र संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका कार्यकर्ता भएको बताएका छन् ।
सुदिप राजभण्डारीको कमाण्डमा खटिएर गएको टोलीले पाँचैजनालाई पक्राउ गरेको हो 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...