पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण क्षेत्र ठमेललाई वाइफाई सुविधासम्पन्न क्षेत्र बनाइने भएको छ । ठमेल पर्यटन विकास परिषद् र मर्कण्टाइल कम्युनिकेशन प्रालिको संयुक्त पहलमा ठमेललाई वाइफाई क्षेत्र बनाउन लागिएको हो । यो सेवा सञ्चालनका लागि मर्कण्टाइलले करीब रू. ४ करोड लगानी गर्ने भएको छ ।
सेवा सञ्चालनका लागि ठमेलमा रहेका होटल, रेष्टुराँ तथा डिपार्टमेण्टल स्टोरका सञ्चालकहरूसँग छलफलसमेत भइसकेको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठले बताए । उनका अनुसार यो सेवा सञ्चालनका लागि सबै पक्ष सकारात्मक देखिएका छन् । आगामी एक हप्ताभित्र ठमेलमा वाइफाई सुविधा शुरू गरिने पनि उनले जानकारी दिए । यो सुविधा शुरू भएपछि ठमेलभित्र जुनसुकै स्थानमा पनि वाइफाईको सुविधा उपलब्ध हुनेछ ।अहिले ठमेलका केही होटल तथा रेष्टुराँमा निःशुल्क वाइफाईको सुविधा भए पनि गुणस्तरीय नभएका कारण नयाँ वाइफाई सुविधा उपलब्ध गराउन लागिएको श्रेष्ठले जानकारी दिए । तर, आफूले शुरू गर्न लागेको सेवा भने सशुल्क हुने श्रेष्ठले बताए । २४ सै घण्टा उपलब्ध गराइने सो सेवाका लागि अहिले पावर ब्याकअपको तयारी भइरहेको बताइएको छ । गत बिहीवार त्यसबारे छलफल गर्न ठमेलस्थित मस्याङ्दी होटलमा बैठक बसेको थियो ।
लगानीकर्ता कम्पनी मर्कण्टाइल कम्युनिकेशनका कार्यकारी निर्देशक प्रचण्डमान शाक्यले सेवा सञ्चालन गुणस्तरीय हुने बताए । उनका अनुसार सेवा सञ्चालनपछि आन्तरिक तथा बा⋲य पर्यटक आर्कषण गर्न सहज हुनेछ ।
सम्पूर्ण ठमेललाई वाइफाई क्षेत्र बनाउन भने ६ महीनादेखि १ वर्ष लाग्नेछ । शुरूमा ठमेलका मुख्य स्थानमा सुविधा सञ्चालन गरिने र बाँकी भागमा माग र आवश्यकताका आधारमा सुविधा उपलब्ध गराइनेछ । यस्तै वाइफाई सुविधा प्रयोग गर्नका लागि वाइफाई कार्डको व्यवस्थासमेत गरिने श्रेष्ठले बताए । अहिले कस्तो र कति मूल्यबराबरको कार्ड बनाउने भन्नेबारेमा छलफल भइरहेको बुझिएको छ । श्रेष्ठका अनुसार कार्ड एक घण्टा, एक दिन, एक महीना कति आवश्यक पर्ने हो, सोहीअनुसार बनाइनेछ । अहिले कार्ड प्रतिघण्टा ७५ देखि १ सय रुपैयाँसम्मको बनाउनेबारेमा छलफल भइरहेको छ । वाइफाई सुविधा सञ्चालनपछि ठमेल क्षेत्रको विशिष्ट पहिचान हुनुका साथै यसको विकासमा समेत सहयोग पुग्ने श्रेष्ठको विश्वास छ । कार्ड विक्रीबाट उठेको रकमको ५० प्रतिशत मर्कण्टाइलले, २० प्रतिशत परिषद् र ३० प्रतिशत रकम विक्री गर्नेले पाउने पनि उनले बताए । 'यसबाट सेवाग्राहीले एकातिर गुणस्तरीय सुविधा पाउने छन् भने अर्कोतिर आम्दानी पनि राम्रो हुनेछ' श्रेष्ठले भने ।
ठमेल पर्यटन विकास परिषद्का अनुसार ठमेलमा अहिले २ सय होटल, १ सय ५० भन्दा बढी रेष्टुराँ र २ हजार ६ सयओटा विभिन्न पसल छन् । ती होटल, रेष्टुराँ र पसलमा गरी इण्टरनेटका ग्राहक हजारौंको सङ्ख्यामा छन् । ठमेल क्षेत्रभित्रको करीब ५ किलोमिटर बाटो र साना गल्लीहरूमा समेत वाइफाईको सुविधा उपलब्ध गराइने परिषद्को भनाइ छ । सो क्षेत्र अत्यधिक पर्यटक आउने क्षेत्र भएकाले पनि इण्टरनेट ग्राहक सङ्ख्या अधिक भएको हो । देशमा आउने कुल पर्यटकमध्ये ८० प्रतिशतभन्दा बढी पर्यटक एकपटक ठमेल पुग्ने तथ्याङ्क छ ।
त्यस्तै, ठमेलका प्रमुख चोकहरूमा राति उज्यालोका लागि १ सयओटा सीएफएल जडान गर्ने कार्य पनि भइरहेको छ । सो कार्यअन्तर्गत अहिले १० ओटा सीएफएल जडान गर्ने कार्य पूरा भइसकेको छ । बाँकी ९० ओटा सीएफएल जडानका लागि आर्थिक सहयोग जुटाउने कार्य भइरहेको छ । साधारणतया एउटा सीएफएल जडानका लागि करीब ३ सय रुपैयाँ खर्च हुन्छ । सीएफएल १० वाटको हुनेछ । ठमेलमा अन्य स्थानमा भन्दा रातको समयमा समेत चहलपहल हुने भएकाले सीएफएल जडान गर्ने तयारीमा परिषद् जुटेको हो । यसअघि उज्यालोका लागि सोलारको व्यवस्था गर्ने योजना भए पनि धेरै खर्च हुने देखिएकाले उक्त योजना स्थगित गरिएको थियो ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...