विराटनगरको अब नयाँ स्वरुप

विराटनगर/ आगामी पाँच वर्षभित्र आकर्षक ‘कलर जोन’ को रुपमा विकास गर्ने योजना विराटनगर उपमहानगरपालिकाले अगाडि बढाएको छ । योजनाअनुसार पहिलो चरणको काम प्रारम्भ गरिसकेको उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मीले जानकारी दिए । 

नगरपालिकाले विस्तृत नगर विकास कार्ययोजना तयार गरेपछि निजी क्षेत्रसँग सहकार्य गर्दै केन्द्रीय सरकार र अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा उपमहानगरपालिकालाई नमुना सहरको रुपमा विकास गर्ने कार्यक्रम अघि बढाइएको हो । 
विराटगनर क्षेत्रभित्र पर्ने कोशी राजमार्गको जोगबनीदेखि विराटगनर विमानस्थलसम्म छ लेनको सडक निर्माणसँगै ‘ग्रिन सिटी’ को रुप दिन नगरपालिका अग्रसर भएको छ । ग्रिन सिटी तथा कलर जोनका लागि आवश्यक पूर्वाधारको नक्साङ्कनका लागि दातृ संस्था जीटीजेडले सहयोग गरिरहेको कार्यकारी अधिकृत रेग्मीले जानकारी दिए । 
‘कलर जोन’ को रुपमा सहरलाई विकास गर्न त्यस क्षेत्रभित्रका भवनमा एकै प्रकारको रङ प्रयोग गरिनेछ । भवनको डिजाइन र त्यसको प्रयोग पनि योजनाअनुसार नै हुनुपर्ने छ । राजमार्गमा पैदल यात्रुको चहलपहल न्यून हुने गरी दुर्वतर्पm भवनहरुको डिजाइन तयार गरिने छ । नगरको आवश्यकताअनुसार सार्वजनिक स्थानहरु पर्याप्त मात्रामा छुट्याइने, बसपार्कलाई टर्मिनल बसपार्कको रुपमा विकास गरिने, विशेष आर्थिक क्षेत्रको प्रबन्ध मिलाइने र भारतबाट नेपाल प्रवेश गर्ने विन्दुमा निकै आकर्षक संरचना निर्माण गरी विराटनगरको छुट्टै पहिचान दिने योजना नगरपालिकाले अघि बढाएको हो । 
पहिलो चरणमा उपमहानगर पालिकाले विमानस्थल प्रवेशद्वार निर्माणको काम सुरु गरेको छ । करिब ३० लाख रुपैयाँको लागतमा सम्पन्न हुने प्रवेशद्वार मोरङ व्यापार संघको सहयोगमा सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत सुरु गर्न लागेको उपमहानगरपालिकाले जानकारी दिएको छ । यसैगरी यसै वर्ष ग्रिन सिटीको अवधारणाअनुसार सडकको ‘डिभाइडर’ लाई व्यवस्थित बनाउँदै बिरुवा रोप्ने कार्य प्रारम्भ गरिनेछ । त्यसका लागि विदेशी विशेषज्ञले अध्ययन गरिरहेका छन् । विज्ञले दुई महिनाभित्र प्रतिवेदन दिएपछि नगरपालिकाले सरोकारवालासँग छलफल गरी कार्यान्वयनमा लैजाने तयारी गरेको छ । 
समृद्ध, समुन्नत र व्यावसायिक सहरको रुपमा अघि बढाउन उपमहानगरपालिकाले पाँच वर्षमा ५ अर्ब रकम आवश्यक पर्ने जनाएको छ । नगरपालिकाको आन्तरिक स्रोतबाट यस अवधिमा करिब २० प्रतिशतमात्र लगानी गर्न सकिने भएकोले योजना सम्पन्न गर्न दातृ निकायकै भर पर्नुपर्ने अवस्था छ । अहिलेसम्म विभिन्न दातृ निकायको सहयोगबाट करिब २ अर्ब रुपैयाँ लगानीको आधार तयार भएको कार्यकारी अधिकृत रेग्मले बताए । उनले नेपाल सरकारले पनि चक्रपथ, क्षेत्रीय विमानस्थल, छ लेनको सडक, सुख्खा बन्दरगाह र विशेष आर्थिक क्षेत्र निर्माणका लागि योजना अघि बढाइएकोले उपमहानगरपालिकाले अघि सारेको नगर विकास योजनामा सहयोग पुगेको दावी गरे । ‘सबै क्षेत्रबाट सहयोग भयो भने आगामी बीस वर्षभित्र विराटनगर उपमहानगरपालिका अन्तर्राष्ट्रियस्तरको विकसित सहरको रुपमा परिचय दिन सक्षम हुनेछ’ उनले भने ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...