करोडौंका काठ कुहिने अवस्थामा


धरान/ सरकारले नौ महिनायता वन क्षेत्रबाट काष्ठजन्य पैदावर निकाल्न तथा बिक्री–वितरण गर्न रोक लगाएपछि पूर्वी तराईमा करोडौं रुपैयाँबराबरका काठ कुहिन थालेका छन् ।
काठजन्य पैदावारमा रोक लगाएपछि कुहिने प्रयोग नभएका कारण
 कुहिने अवस्थामा पुगेका काठहरु ।
तरहरा समाचारदाताका अनुसार हरियो रुख कटानमा रोक लगाउँदै सरकारले असारदेखि ओसार–पसारमा रोक लगाएपछि काठसँग सम्बन्धित उद्योगहरु सङ्कटमा पर्दै गएको नेपाल वन पैदावर उद्योग व्यवसायी महासंघका केन्द्रीय प्रथम उपाध्यक्ष सीताराम अग्रवालले जनाए । हरियो रुख कटान भएको भन्दै सरकारले बनाएको उच्चस्तरीय छानविन टोलीको म्याद सकिँदा पनि प्रतिबन्ध खुल्ला नगरिएकोले पूर्वाञ्चलमा मात्र पाँच हजार फर्निचर उद्योग र दुई सयभन्दा बढी समिलहरु सङ्कटग्रस्त वन्दै गएको उपाध्यक्ष अग्रवालले जनाए । 
बयरवन रेञ्जपोष्टका साहायक वन अधिकृत भोलाप्रसाद चौधरीले भने सरकारले काठ बिक्रीमा रोक लगाएपछि सरकारले पनि करोडौं रुपैयाँको राजश्व गुमाउन लागेको बताए । सरकारले वन पैदावरमा रोक लगाएपछि तस्करी झनै मौलाउँदै गएको बताउदै चौधरीले लिलाम गरेको काठ पनि बेच्न नपाएको बताए । उनले नौ महिनादेखि जङ्गलमा लडेपडेका काठहरु कुहिन थालेको बताए । ‘चैत र वैशाख महिनामा वन क्षेत्रमा आगो लाग्ने प्रबल सम्भावना छ,’ उनले भने, ‘त्यसो भएमा राज्यले ठूलो क्षति व्यहोर्नुपर्ने हुन्छ ।’
राजनीतिक परिवर्तनका बेला विनाश भएका नेपालका जङ्गल संरक्षणका लागि सामुदायिक वन उपभोक्ता समूहले आन्दोलन गरे पनि कुनै सुनुवाई नभएको बयरवनस्थित ग्रामीण सामुदायिक वन उपभोक्ता समूहका सदस्य अमीर जिमीले बताए । उनले वन संरक्षणमा भूमिका खेलेका उपभोक्तासमेत आक्रोशित हुँदै गएको जनाए ।
विराटनगर समाचारदाताका अनुसार मोरङको जङ्गलमा रहेको करिब एक करोड रुपैयाँबराबरको काठ नष्ट हुने अवस्थामा पुगेको छ । सरकारले जङ्गल प्रवेशमा लगाएको प्रतिबन्ध लामो समयसम्म नहटाउँदा गत बैशाख–जेठ महिनामा काटिएको काठ नष्ट हुने अवस्थामा पुगेको हो । 
जिल्लाका तीन दर्जन सामुदायिक वनको वार्षिक कार्ययोजनाअन्तर्गत जिल्ला वन कार्यालयले कटान आदेश दिएअनुसार काटिएका काठ अहिलेसम्म वनबाट निकालिएको छैन । गत वर्ष देशभर व्यापक वन विनाश भएपछि सरकारले छानविन अघि बढाएको र त्यसको प्रतिवेदन बुझाइसक्दासमेत जङ्गल प्रवेशमा लगाइएको प्रतिबन्ध अझै फुकुवा भएको छैन । 
हावाहुरी र डढेलोको समय आइसक्दा पनि जङ्गलबाट काठ निकाल्ने अनुमति नदिँदा करोडौंको काठ नष्ट हुने अवस्थामा पुगेको हो । गत वर्ष मोरङका एक सयभन्दा बढी स्थानमा डढेलो लागेको थियो । 
मोरङका राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा करिब २० हजार क्युबिक फुट काठ अलपत्र अवस्थामा रहेको सामुदायिक वन उपभोक्ता महासंघका मोरङ अध्यक्ष अग्नि पौडेलले जानकारी दिए । समयमा वन नखुलेका कारण जङ्गलका काठ कुहिन थालेको र त्यसबाट सरकारलाई लाखौं रुपैयाँ राजश्व घाटा भएको महासंघले जनाएको छ । अध्यक्ष पौडेलले भने, ‘एकातिर वर्षाको पानीले काठ कुहिन थालेको छ भने अर्कोतर्फ डढेलोको प्रकोप सुरु भएको छ, यसबाट उपभोक्ता र राज्यलाई ठूलो नोक्सानी हुनसक्छ ।’ 
सरकारले वन प्रवेशमा लगाएको प्रतिबन्ध फुकुवा गर्न मोरङका उपभोक्ताले दवाब सुरु गरेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै वनमाथिको प्रतिबन्ध तत्काल फुकुवा गर्न माग गरेका छन् । उनीहरुले सरकारी प्रतिबन्ध नहटे जङ्गलमा रहेको काठ निकालेर समुदायमा वितरण सुरु गर्ने बताए । 
उपभोक्ताले संरक्षण र संवद्र्धन गरेको वन पैदावर उपभोक्ताले नै निकालेर उपभोग सुरु गर्ने भन्दै महासंघले जिल्ला वन कार्यालयबाट अवरोध भए प्रतिरोधमा उत्रने चेतावनी पनि दिएको छ । 
यसैगरी उपभोक्ता समितिहरुले वनस्रोत चोरी–तस्करीमा संलग्नलाई पक्राउ गरी कारवाही गर्न माग गरेका छन् । उनीहरुले समुदाय तहबाट त्यस्ता व्यक्तिको पहिचान गरी सुरक्षा निकायलाई सहयोग गर्ने तथा उनीहरुलाई नियन्त्रणमा लिएर कारवाही गर्ने निकायसमक्ष बुझाउने अभियान पनि सञ्चालन गर्ने जनाए ।With Reference to Blast Times Daily

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...