पूर्व राजाको तस्बिर अंकित नोट विस्थापित गराउने निर्णय राष्ट्र बैंकले बुधबार उल्ट्याएको छ । सर्वसाधारणलाई सास्ती भएको भन्दै राष्ट्र बैंकले पूर्वराजा अंकित नोटहरु पूर्ववत् चलन चल्तिमा रहने सूचना जारी गरेको छ ।
![]() |
नेपाल राष्ट्र बैंकले पूर्वराजाको टाउको भएका नोट फिर्ता गर्ने घोषणा गरेपछि दमकस्थित नेपाल बैंक लिमिटेडको शाखा कार्यालयमा त्यस्ता नोट साट्दै सर्वसाधारण । फोटो – बिष्णु सुव्वा |
'पूर्वराजा अंकित नोटहरु सट्टाभर्ना गर्न सर्वसधारलाई कठिनाइ परेको व्यहोरा बैंकको जानकारीमा आएकाले सर्वसाधारणको सुविधालाई ध्यानमा राखेर पूर्वराजा अंकित नोटहरु पूर्ववत् चलनचल्तिमा रहने व्यवस्था गरको छ,' राष्ट्र बैंकको जारी सूचनामा भनिएको छ ।
राजाको तस्बिर भएका नोट विस्थापित गर्दा सर्वसाधारणलाई पूर्व सूचना नदिइ अन्यौलमा राखेको, एकैपटक नोट छापेर अनियमितता गर्न खोजेको आरोप लागेपछि अख्तियारले बुधबार नै राष्ट्र बैंकका डेपुटी गर्भनरसहितका पदाधिकारीलाई सोधपुछ गरेको थियो । अख्तियारले पूर्वराजा अंकित नोट विस्थापन गरेकोबारे दुई डेपुटी गर्भनर, राष्ट्र बैंक प्रवक्ता, मुद्रा व्यवस्थापन र कानुन महाशाखा प्रमुखसँग सोधपुछ गरेको थियो ।
राजपत्रमा समेत सूचना प्रकाशित नगरी राष्ट्र बैंकले गम्भीर त्रुटि गरेको भन्दै अख्तियारले पूर्वराजा अंकित नेाटहरु पूर्ववत् चलन चल्तिमा ल्याउन भनेको थियो । अख्तियारले कानुनी अड्चनसमेत देखाएपछि राष्ट्र बैंक निर्णय उल्ट्याउन बाध्य भएको हो ।
दोस्रो जनआन्दोलनपछि बनेको मन्त्रिपरिषद् बैठकले २०६३ जेठ २९ गते पूर्वराजा अंकित नोट चलनचल्तिबाट हटाउने निर्णय गरेको थियो । मन्त्रिपरिषदको निर्णय चार वर्षपछि कार्यान्वयन गर्न राष्ट्र बैंकले चैतदेखि पूर्वराजाको तस्बिर भएका नोट चलनचल्तिबाट हटाउने निर्णय गरेको थियो । यस निर्णयपछि व्यापारीलेसमेत नोट लिन छाडेकाले सर्वसाधारणले सास्ती खेप्नुपरेको थियो ।
तीन दिनमा तीन निर्णय
राष्ट्र बैंकले पूर्वराजाको तस्बिर भएका नोट चलनचल्तिबाट हटाउने विषयमा तीन दिनमा तीन निर्णय गरेको छ ।
राष्ट्र बैंकले सोमबार पूर्वराजाको तस्बिर भएका नोट चलनचल्तिबाट हटाउने निर्णय गरेको थियो भने मंगलबार समस्या भएको भन्दै देशभर १ सय ५० काउन्टरसँगै बैंक तथा वित्तिय संस्थाका सवै मुख्य शाखा, सिटी शाखा र जिल्लामा नोट साट्ने व्यवस्था गरेको थियो ।
तर बुधबार अख्तियार र सर्वसाधारणको दबाबमा राष्ट्र बैंकले निर्णय सच्याएको छ ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...