चैत्र २ - माओवादीले वाईसीएल खारेज गर्नुपर्ने माग उठिरहेकै बेला 'जनताको सुरक्षा गर्ने' भन्दै त्यस्तै अर्को संगठन 'जनस्वयं सेवक परिचालन ब्युरो' गठन गरेको छ । ब्युरो संयोजकको जिम्मेवारी 'जनविद्रोहलाई मुख्य कार्यदिशा मान्ने' स्थायी समिति सदस्य नेत्रविक्रम चन्दलाई दिएको छ ।
ब्युरो घोषणा नहुँदै अन्य दलहरूले यसको विरोध गरिसकेका छन् । माघ पहिलो साता बसेको केन्द्रीय समिति बैठकले स्वयंसेवक ब्युरो बनाउने निर्णय गरे पनि त्यसलाई धेरै समय गोप्य राखेको थियो । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी औपचारिक रूपमा ब्युरो घोषणा गरिएको हो ।
माओवादीले यो ब्युरोलाई पार्टीको खुला मोर्चाको रूपमा गठन गरेको जनाएको छ । संयोजक चन्दले माओवादी विचारसँग नजिक भएका व्यक्तिलाई समेट्न स्वयंसेवक ब्युरो गठन गरेको बताए । 'यसमा पार्टीको विचारसँग निकट व्यक्तिहरू समेटिने छन्,' उनले भने, 'यो वाईसीएलभन्दा अलि खुला खालको ब्युरो हो ।'
उनले स्वंसेवकबाट जनतालाई नयाँ तरिकाले सेवा दिने दाबी पनि गरे । ब्युरोअन्तर्गत माओवादी विद्यार्थी, मजदुर, महिला, युवा गरी करिब तीन दर्जन विभाग छन् ।
'जनतालाई नयाँ तरिकाले सेवा दिन जाँदैछौं,' उनले भने, 'राज्यसँग युवा शक्ति परिचालन गर्न योजना छैन, उनीहरूलाई विकासका काममा परिचालन गर्ने योजना लिएका छौं ।' वाईसीएल गठन गर्ने बेला माओवादीले विकास निर्माण र सुरक्षाका लागि गठन गरेको जनाएको थियो ।
चन्दले जारी गरेको विज्ञप्तिमा ब्युरोको प्रमुख उद्देश्य जनता र राष्ट्रको सेवा गर्नु रहेको उल्लेख छ । 'जनस्वंसेवक परिचालन ब्युरो र जनस्वंसेवकको प्रमुख उद्देश्य जनता र राष्ट्रको सेवा गर्नु रहेको छ,' विज्ञप्तिमा भनिएको छ, 'सही विचार दृष्टिकोण बोकेको संगठित नेतृत्वमा आमनागरिकहरूलाई लिएर जनतासँग सीप, क्षमता र स्रोत साधनहरूको समुचित परिचालन गरेर समाज, जनता र राष्ट्रको सेवा गर्नु महत्त्वको विषय हो ।'
स्वयंसेवक हुन उमेरको हदबन्दी नलगाइएको चन्दले जनाए । 'वाईसीएलमा १८ वर्षदेखि ४० वर्षसम्मका व्यक्ति रहन्छन्, तर यसमा उमेरको सीमा छैन ।' ब्युरोले निर्माण, ध्वस्त संरचना पुनर्निर्माण र जनसुरक्षा गर्ने योजना अघि सारेको छ । 'जनयुद्धकालमा र प्राकृतिक प्रकोपका कारण ध्वस्त भएका गाउँ, वस्ती र घरहरूको पुनर्निर्माण र जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने तर अभावयुक्त रहेका क्षेत्रहरूमा बाटो, पुल, सिँचाइ, पोखरी, स्कुल आदिको निर्माण हुनु पर्दछ,' उसको योजनामा भनिएको छ, 'राज्यको संक्रमणकालीन चरित्रका कारण जनताको चौतर्फी जीवनमा राज्यका पहुँच र नियन्त्रण नपुग्ने या अपुग रहने र त्यसबाट फाइदा उठाएर विभिन्न अपराधिक तत्त्वहरूले जनतामाथि हत्या, हिंसा, लुटपाट, कुटपिट मच्चाइरहेको सन्दर्भमा जनतासँग मिलेर आफ्नो सुरक्षाको व्यवस्था आफैं गर्दै, जनतालाई सेवा पुर्याउने र एक हदसम्म राज्यलाई मद्दत गर्ने कार्य भनेर बुझ्नु पर्दछ ।'
माओवादीले यो ब्युरोलाई नयाँ आयाम पनि भनेको छ । 'जनस्वयंसेवक ब्युरो र जनस्वंसेवक नेपालको विशेष राजनीतिक, सामाजिक र आर्थिक अवस्थाको नयाँ आयामको रूपमा बुझ्नुपर्छ' उसले भनेको छ ।
संयोजक चन्दले यो जनविद्रोहका लागि नभई शान्ति र संविधानका लागि 'ब्याकफोर्स' भएको बताए । 'यो शान्ति र संविधानका लागि ब्याकफोर्स हो,' उनले भने, 'यसले राज्यसँग मिलेर काम गर्छ ।'
वाईसीएल संयोजक गणेशमान पुनले वाईसीएलजस्तो ब्युरोको काम नभएको बताए । 'यो वाईसीएलभन्दा फरक ब्युरो हो' उनले भने, 'जनसेवामा बढी केन्दि्रत हुनेछ ।' ब्युरोमा चन्दलगायत पोलिटब्युरो सदस्यहरू शक्ति बस्नेत, देवेन्द्र पौडेल, वाईसीएल संयोजक गणेशमान पुनलगायत १० जना छन् ।
संसद्को सोमबारको बैठकमा कांग्रेस सभासद् कमला पन्तले माओवादीले अर्को वाईसीएलजस्तै दस्ता गठन गर्न लागेको भन्दै विरोध गरेकी थिइन् ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...