मलेसिया दुईसय नेपाली अलपत्र


क्वालालम्पुर, चैत्र १ - विना सूचना अचानक कामबाट निकालेपछि जोहोरस्थित सेरी गार्मेन्ट कम्पनीमा कार्यरत झण्डै २ सय नेपालीहरु अलपत्र परेका छन् । तामान गम्बिरास्थित सो कम्पनीले बिनासूचना दुईसय नेपालीहरुलाई १५ दिन अघि कामबाट निकालिदिएपछि उनीहरु अलपत्र भईबस्न बाध्य भएका हुन् ।
कम्पनीले कामबाट किन निकाल्यो भन्ने प्रष्ट छैन । विगत ९ महिनादेखि सोही कम्पनीमा कार्यरत दोभान ७, नुवाकोट घर भएका अलपत्रमध्येका लोकनाथ बस्याललेसोमबार टेलिफोनमा भने "हामीलाई बिना सूचना एकैचोटी कामबाट निकालियो । किन निकालियो भन्ने केही बताइएको छैन । बिना तलब होस्टलमा यसरी बस्नुपरेको १५ दिनभईसक्यो, अझै काममा लगाइएको छैन ।" उनले केहीलाई भने काम दिइरहेको बताए ।
विराट ओभरसिज, लक्की ओभरसिज, फ्युजन इन्टरनेशनल, ह्युमर ओभरसिज र शेर्पा इन्टरनेशनल लगायत मेनपवार कम्पनीमार्फत् आएका दुईसय भन्दा बढी नेपालीहरु विभिन्न समयदेखि सो  कम्पनीमा काम गर्दैआएका थिए ।
बस्यालका अनुसार, अलपत्र सबैलाई काम दिलाउन नेपालबाट मेनपावरका प्रतिनिधिहरु केही दिनदेखि मलेसियामै छन्। मेनपावर प्रतिनिधिहरुले अलपत्र अवस्थामा रहेका केहीलाई अर्को एक कम्पनीमा काम गर्न प्रबन्ध मिलाएको भएपनि उचित तलब तथा सुविधा नभएको भन्दै नयाँकम्पनीमा कामका लागि लगिएका कामदारहरु पुनः पुरानै कम्पनीको होस्टल फर्किएका छन्।
बस्यालले भने "मेनपावर प्रतिनिधिहरुले हाम्रा केही साथीहरुलाई बातुपहातस्थित होंङ्ग सिंङ गार्मेन्टमा काम गर्न प्रबन्ध मिलाएका थिए । तर त्यहाँ काम लगाइएका साथीहरु पहिलेकै कम्पनीको अनुपातमा (सेरी गार्मेन्ट) भन्दा कम तलब तथा सेवा सुविधाहरु भएकाले काम नगर्ने भन्दै पुनः फर्कीएका छन् । " कामदारहरुले उपयुक्त काम दिलाउनुपर्ने जिकीर गरेका छन् । अबिलम्ब काम मिलादिने भन्दै मेनपावर प्रतिनिधिहरुले आश्वासन मात्र दिएको तर उपयुक्त काम दिलाउन भने निकै ढिलाई गरेको आरोप अलपत्र नेपालीहरुको छ । उनीहरुले समस्या समाधान गरीदिन आग्रह गर्दै यहाास्थित नेपाली दुतावासमा समेत सम्पर्क गरेको बताए ।
कामदारहरुका अनुसार, आफ्नै खर्चमा स्वदेश र्फकन चाहने कतिपयलाई पासपोर्टसमेत उपलब्ध गराउन कम्पनी व्यवस्थापन पक्षले आनाकानी गरिरहेको छ । कम्पनीले घर र्फकन चाहनेहरुले प्रतिव्यक्ति २ हजार रिंगेट तिर्नुपर्ने शर्तसमेत अघि सारेको छ । उक्त गार्मेन्टमा उत्पादित तयारी कपडाहरु अमेरिका, क्यानडा, युरोप र सिंगापुर लगायत देशहरुमा निर्यात हुँदै आएको छ । सन् १९८९ मा स्थापित मलेसियाकै पुरानोमध्येको उक्त गार्मेन्ट कम्पनीमा विभिन्न देशबाट गरी ५ सय भन्दा बढी कामदारहरु कार्यरत छन् तीमध्ये झण्डै आधाजसो नेपाली छन् । 
Via source:- eKantipur

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...