अलबिदा किसुनजी !


 पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ८६ वर्षको उमेरमा शुक्रबार राति ११:२६ बजे निधन भएको उपचारमा संलग्न चिकित्सक डाक्टर भारत रावतले जानकारी दिएका छन्।
स्वर्गिय भट्टराईले नेपालको प्रजातान्त्रिक आन्दोलनमा विशिष्ट योगदान पुर्याएको कुरा उदाहरणीय र अनुकरणीय छ ।गान्धीवादी सन्त नेता मानिने भट्टराई दृढ अठोट र संकल्पका धनी व्यक्तित्व मानिनुहुन्थ्यो ।विद्यार्थी कालदेखि नै राजनीतिमा प्रवेश गर्नुभएका भट्टराई सन १९४२ को अङ्ग्रेज भारत छोड स्वतन्त्रता आन्दोलनमा सक्रिय रुपमा सहभागी भएर पहिलोपटक अङ्ग्रेज सरकारबाट पक्राउ पर्नुभएको थियो ।

सन् १९४५ मा बनारस हिन्दु युनिभर्सिटीस्थित नेपाल छात्र संघको उपाध्यक्षका रूपमा रहेर नेपाली विद्यार्थीहरूबीच राजनीतिक चेतना फैलाउने काममा भट्टराई सक्रिय रहनुभयो ।नेपालको १०४ वर्ष लामो निरङ्कुश राणातन्त्र समाप्त पारेर संवैधानिक राजतन्त्रात्मक प्रजातन्त्र स्थापना गर्ने उद्देश्यले पहिलो पटक वि सं. २००३ मा भारतको बनारसमा अखिल भारतीय नेपाली राष्ट्रिय काङ्ग्रेस नामक संस्था गठन भयो।
देवीप्रसाद सापकोटाको सभापतित्वमा बनेको उक्त संस्थाका महामन्त्री रहनुभएका भट्टराईले विसं २००३ माघमा कलकत्तामा स्थापित नेपाली राष्ट्रिय काङ्ग्रेसमा संगठन मन्त्रीको पद सम्हाल्नुपरेको थियो।
भारत स्वतन्त्र भएपछि नेपालभित्रका राजनीतिकहरू र भारतका विभिन्न क्षेत्रमा निर्वासित तथा अन्य नेपालीहरूका बीच छलफल गरेपछि नेपाली राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातन्त्र काङ्ग्रेस मिलेर वि.सं. २००६ चैतमा नेपाली काङ्ग्रेस गठन भयो।यस गठनपछि सहमहामन्त्रीको पदमा आसीन भट्टराईलाई २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर-उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा आफ्नो क्षमता देखाउने अवसर मिलेको थियो।
प्रजातन्त्र स्थापनापछि २००८ मा प्रथमपटक गठित सल्लाहकार सभाका अध्यक्ष भएका भट्टराईले २०१६ सालमा प्रतिनिधिसभाका सभामुखको गरिमायम पदको दायित्व वहन गर्नुभएको थियो। प्रखर बौद्धिकता, कूटनीतिक क्षमता एंव सुझबुझका धनी मानिने भट्टराईले त्यसबेलाको संसदीय शासन व्यवस्थामा सभामुख जस्तो विशिष्ट पदमा रहेर राम्रोसँग आफ्नो कुशल नेतृत्व दिनुभएको थियो भन्ने कुरा उहाँका समकालीनहरू बताउने गर्छन् ।
२०१७ पौष १ गतेका दिन थापाथलीमा सम्पन्न हुँदैगरेको तरुणदलको सभास्थलबाट तात्कालीन प्रधानमन्त्री बीपी कोइरालासँगै तरुणदलको अधिवेशनस्थल त्रिपुरेश्वरबाट पक्राउ परेपछि भट्टराईले निरन्तर १० वर्षसम्म जेल बस्नुपर्यो। त्यसपछि पनि पटक-पटक जेल परेका भट्टराईले आफ्नो जीवनमा १४ वर्षभन्दा बढी समय जेलमै बिताउनु परेको थियो। एक दशक लामो जेल जीवनबाट मुक्त हुनेवित्तिकै २०२७ वैशाख ६ गते नेपाल विद्यार्थी सङ्घ स्थापना समारोहको उद्घाटन गर्नुहुने भट्टराईले विद्यार्थी आन्दोलनलाई सक्रिय पार्न विशेष योगदान दिनुभएको हो।
२०३६ को जनमत सङग्रह घोषणा गर्ने परिस्थिति निर्माणका विभिन्न घटना र आधारमध्ये नेपाल विद्यार्थी सङ्घको सक्रिय गतिविधिबाट पनि एउटा प्रमुख आधार तयार भएको हो भन्न सकिन्छ। विसं २०३४ मा सम्पन्न भएको पटना सम्मेलनबाट जननेता बीपी कोइरालाले स्वास्थ्यको कारण देखाई भट्टराईलाई नेपाली काङ्ग्रेसको कार्यवाहक सभापति बनाउनुभयो।बीपीको निधनपछि २०३९ मंसीरमा गणेशमान सिंह निवास क्षेत्रपाटीमा सम्पन्न सम्मेलनबाट पुनः कार्यवाहक सभापतित्वमा समथिर्त भएका भट्टराईले करिब डेढ दशक कार्यवाहक सभापतिकै रूपमा रहेर नेपाली काङ्ग्रेसको नेतृत्व सञ्चालन गर्नुभयो।
नेपाली काङ्ग्रेसको आठौं महाधिवेशन २०४८ कलवलगुडी झापाले सर्वसम्मतिबाट सभापतिमा निर्वाचित गरेपछि २०५३ सम्म सभापतिको विशिष्ट पद सम्हाल्नुभयो। उहाँले करिब १७ वर्ष सभापतिको जिम्मेवारी बहन गरेर पार्टी संगठन सुदृढ पार्नुका साथै विभिन्न लोकतान्त्रिक आन्दोलन सञ्चालन गर्ने काममा ठूलो योगदान पुर्याउनुभएको हो। भट्टराईको सभापतित्वकालमा २०४२ को देशव्यापी सत्याग्रह सम्पन्न भयो। भट्टराईले २०४६ को जनआन्दोलन घोषणा भएको क्षेत्रपाटी सम्मेलनको सभापतित्व गर्नुभएको थियो ।
त्यस जनआन्दोलनको पार्टी सभापतिका रुपमा नेतृत्व गर्नुहुने भट्टराई प्रजातन्त्र पुनर्स्थापना भएपछि पहिलो अन्तरिमकालीन प्रधानमन्त्री बन्नुभयो। त्यसबेला अन्तरिमकालीन विकट परिस्थितिलाई सफलताका साथ समाल्नुभएका भट्टराईले एक वर्षभित्रै संविधान निर्माण र निर्वाचन सम्पन्न गराएर संवैधानिक राजा र जनताद्वारा आफूलाई सुम्पिएको काम सफलताका साथ सिध्याउनुभएको कुरा आज पनि चर्चा गरिन्छ।
उहाँले निष्पक्ष एवं स्वच्छ निर्वाचन गराएर पनि नेपाली काङ्ग्रेसलाई बहुमतमा ल्याउनुभयो तर आफूभने पराजित हुनुभएको थियो। यसअघि २०१५ मा गोर्खाबाट र २०४८, २०५० र २०५१ मा काठमाडौं क्षेत्र नं १ बाट निर्वाचनमा भाग लिँदा भने उहाँ पराजित हुनुभएको थियो ।

भट्टराई २०५६ सालको आम निर्वाचनमा पर्सा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा विजय हुनुभयो। यस कारण यो निर्वाचनसम्बन्धी सफलताचाँहि उहाँका जीवनको पहिलो घटना थियो। २०५६ जेष्ठ १३ गते नेपाली काङ्ग्रेसका सभापति एंव प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला प्रस्तावक र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा समर्थकका रूपमा रही श्री भट्टराईजीको नाम नेता पदका लागि संसदीय दलमा प्रस्तुत हुँदा नेपाली काङ्ग्रेस संसदीय दलले उहाँलाई र्सवसम्मतिबाट संसदीय दलको नेता पदमा चयन गरेको थियो ।
अनि सोही दिन भट्टराई प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको थियो। यसरी भट्टराई दोस्रो पटक प्रधानमन्त्री बन्नुभएको थियो । तर पार्टीभित्रकै विभिन्न आन्तरिक द्वन्द्व र कलहका कारण एक वर्ष नपुग्दै उहाँले पद त्याग गर्नुपर्यो । भट्टराईले नेपाली काङ्ग्रेसको स्थापना कालदेखि नै बीपी कोइराला, सुवर्णशमशेर र गणेशमान सिंह तीनैजना नेताहरूसँग समान रूपले काम गर्दै आउनुभएको हो।
अहिंसात्मक आन्दोलनबाटै प्रजातन्त्र स्थापना गर्न सकिन्छ भन्ने दृढ अठोट र सङकल्प बोकेर करिब डेढ दशक जेल जीवन बिताउने भट्टराईले निर्वासनचाहिं कहिल्यै रुचाउनु भएन। जे गर्नुपर्छ नेपालभित्रै बसेर नेपालबाटै गर्नुपर्छ भन्ने उहाँको विश्वास र आत्मबल नै वास्तवमा उहाँको सफलताको परिचायक हो।

पार्टीको आन्तरिक कलह बढ्दै गएर २०५८ मा शेरबहादुर देउवा प्रधानमन्त्री भएकै बेला उनकै नेतृत्वमा पार्टी विभाजित भएर नेपाली काङ्ग्रेस प्रजातान्त्रिकका रुपमा अर्को पार्टी गठन भयो । यसबाट भट्टराई ज्यादै चिन्तित बन्नुभएको थियो। पार्टी विभाजनको त्यस घटनापछि एक प्रकार उहाँ मौन बस्न थाल्नुभयो। ९ यद्यपि पार्टी विभाजनपछि भट्टराईजीलाई धेरैले आरोप पनि लगाएका थिए त्यसबेला। शेरबहादुरले उनकै निर्देशनमा पार्टी फुटाएका हुन् भन्नेहरू पनि थिए।
२०५० मा भट्टराईलाई आफ्नै पार्टीकाहरूले अन्तर्घात प्रणालीबाट निर्वाचनमा हराएपछि धेरैले सल्लाह दिएका थिए पार्टी फुटाउनुपर्छ भनेर। पार्टीको केन्द्रीय समितिको दुइतिहाइ संख्या र संसदको ४५ प्रतिशत जतिले भट्टराईजीलाई पार्टी फुटाउने कुरामा साथ दिएका थिए। तर उहाँले भन्नुभएथ्यो – बरु म मेटिन तयार छु तर पार्टी फुटाउँदिन। त्यसकारण पार्टी फुटाउने पक्षमा उहाँ कहिल्यै रहनुभएन । जब फेरि पार्टी एक भयो, अनि पार्टीको संयुक्त एकता सभामा उहाँ उपस्थित हुनुभएको थियो । यद्यपि राजतन्त्रबारे उहाँको छुट्टै मत रहेको थियो । जनआन्दोलनपछि पनि उहाँ तत्कालै राजा हटाउने पक्षमा देखिनुहुन्न थियो । अहिलेको गणतन्त्रीय नेपाल र नेपाली जनसमुदायको आकाङ्क्षा विपरित उहाँले राजतन्त्रका पक्षमा बोल्नुभएपछि चांहि उहाँ आलोचित हुनुभएको हो ।
नेपाली काङ्ग्रेसभित्र सबैभन्दा बढी राजा विरोधी र राजप्रवृत्ति विरोधी व्यक्तिका रूपमा उहाँ परिचित रहँदै आउनुभएको थियो । २०४६ को जनआन्दोलनपछि उहाँले गरेको अन्तरिम सरकारको नेतृत्व सञ्चालनको सुझबुझ र क्षमता पनि प्रमाणित भएकै हो ।
तर पनि बेला-बेलाचांहि उहाँका केही अभिव्यक्तिहरू आलोचित बन्ने गरेको कुरा नयाँ घटना होइन। समय समयमा केही अनौठा अभिव्यक्ति दिनु पनि एकप्रकार भट्टराईजीको पहिचानकै विशेषता बनेको छ ।
सन्त नेता भट्टराईको निधनले हामी सवै नेपालीलाई यतिबेला स्तव्ध बनाएको छ । यो शोकपूर्ण घडीमा मृत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन प्रति धैर्यधारण गर्ने शक्तिप्रदान होस भन्ने कामना गर्दछौं ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...