सहिदको सपना र सुखानीको उद्घोष


विमल लामिछाने । 
हरेक वर्ष बलिदान दिवसको अवसर पारेर फाल्गुन १४ देखि २१ गतेसम्म सहिद सप्ताह मनाईदै आएको छ । जनयुद्ध र जनआन्दोलनको क्रममा राज्यद्धारा हत्या गरिएका सहिदहरुको सम्झनास्वरुप यो दिवस मनाइन्छ । २०५२ फाल्गुन १४ गते गोरखाका १५ वर्षीय दिलबहादुर रम्तेलको हत्या भएको दिनदेखि २०२८ सालको झापा विद्रोहका अगुवा कार्यकर्ताहरुको २०२९ फाल्गुन २१ गते हत्या भएको दिनसम्मलाई सहिद सप्ताहका रुपमा मनाईदै आएको छ । 
वर्ग सङ्घर्षको जटिल क्षणबाट गुजिँ्रदै इतिहासको विशिष्ट क्षणमा सहिदका रगत सिँचिएका ठाउँहरु बलिदान, त्याग र समर्पणको विम्ब बन्न पुग्दा रहेछन् । युग परिवर्तन गर्ने महान् अभियानको यात्रामा हजारौं सपुतले त्याग, बलिदानी गर्न बाध्य हुनुपर्यो । धेरै रगत पोखियो, तिनै मान्छेको त्याग र बलिदानीले परिवर्तनको ढोका खोल्यो । माटोमा बलिदानको रगत पोखिएपछि ती ठाउँहरु ऐतिहासिक र अविष्मरणीय बन्दारहेछन् । यस्तै ऐतिहासिक स्थलमध्धे एक हो सुखानी । 
सामान्य अर्थमा बुझ्दा सुखानी इलाम जिल्लाको दानाबारी–३ स्थित जङ्गलको नाम हो । तर, मुलुक परिवर्तनका निम्ति लामबद्ध मान्छेहरुको रगतले सिञ्चिएपछि सुखानी सजीव बनेको छ । क्रान्तिकारहिरुले आमूल रुपान्तरणका लागि रगत पोखेको र बलिदानको पर्याय बनेको छ सुखानी । झापाको भूमिबाट आन्दोनलको उठान गर्दै २०२९ फाल्गुन २१ गते तत्कालीन पञ्चायती सरकाले झापा आन्दोलनका नेताहरु रामनाथ दाहाल, नेत्र घिद्धमिरे, वीरेन राजवंशी, नारायण श्रेष्ठ र कृष्ण कुइँकेललाई रातारात जेल सार्ने नाममा सुखानी जङ्गलमा पुर्याएर निर्मम हत्या गरेको थियो । २०२९ फाल्गनु २१ गतेका दिन तत्कालीन एसपी पद्मबहादुर मानन्धरको आदेशमा बेलुका ४ बजेतिर इलाम जेल सार्ने बाहानामा पाँच जनालाई गाडीमा हाली सुखानीको निस्पट्ट जङ्गलमा पुर्याएर लाम लगाएर गोली ठोकियो । हिरासतमा महिनौँदेखि यातना दिएरु जिउ सुन्निएर हलचल गर्न नसक्ने गरी हत्कडीमा बाँधिएका नेपाल आमाका यी परिवर्तनका पक्षधर छोराहरुलाई भागेको बहानामा इतिहासका पाखण्डीहरुको ठाडो आदेशमा घनघोर जङ्गलभित्र गोली ठोकिएको थियो । लामो हिरासतमा यातनाको शिकार हुँदा पनि सामन्तवादको कडा विरोध र माक्र्सवादी सिद्धान्तमा अविचलित रहेको कुरा पञ्चायती जल्लादहरुलाई खतरा सावित थियो । 
यी सपूतहरुको हत्यापछि आन्दोलन रोक्निछ भन्ने पञ्चहरुको दुस्वप्न पूरा भएन, शोक शक्तिमा बदलियो । २०३५ सालमा सहिदको बलिदानीको जगतमा क्रान्तिकारी पार्टीको स्थापना भयो । झापा जिल्लामा किसान आन्दोलनको ज्वाला अझ दन्कियो । आन्दोलनको अगुवाई गर्ने मदान खपाङ्गीको अध्यक्षतामा बनेको क्रान्तिकारी समितिले अग्रगामी कार्यदिशा बोध गर्यो । एक एरिया–एक युनिट, एक वार्ड–एक एक्सनको आधारमा आन्दोलनले गुणात्मक छलाङ हान्न सफल भयो । धुवीकरणमा झाँगिएको यो विद्रोहले छोटो समयमा नै देशी–विदेशी प्रतिक्रियाबादीहरुलार्य हल्लाइदियो । 
त्यसैको उपजका रुपमा २०५१ सालमा गठित नेकपा माओवादीले संशोधननवादको विरोध गर्दै नेपाली जनताको मुक्तिका लागि २०५२ फाल्गुन १ गतेदेखि जनयुद्ध सुरु गर्यो । सुखानीले दिएको बलिदानीको अभिव्यक्तिलाई यसले मुखरित गर्यो । जनयुद्धले सुखानीको कडीलाई जोड्न काम गर्यो । आज हजारौँ नेपाली आमाका सपूतले दिएको उच्च बलिदानीका कराण मुलुकले निरङ्कुश तानाशाही एकतन्त्तीय शासनबाट मुक्ति पाएको छ । जनयुद्धको क्रममा हजारौँले बलिदानी गरेका छन् । 
तत्कालित झापा आन्दोलनको सङ्घारमा पूर्व कोसी प्रान्तीय कमिटीसँग विद्रोह गरी मदन खपाङ्गीको नेतृत्वमा गठित झापा जिल्ला सङ्गठन समितिभित्र रहेर आन्दोलनलाई निरन्तरता दिने सीपी मैनाली, आरके मैनाली, हर्क खड्का, नरेश खरेल, मोहन्द्रचन्द्र अधिकारी, लीला कट्टेल, खड्गप्रसाद ओली, ठूलो दुर्गाप्रसाद अधिकारी, शिवप्रसाद शिवाकोटी, पुन्य शर्मा, डम्बर बानिँया, दधिराम उप्रेती, मनकुमार तामाङ, मनकुमार गौतम, घनेन्द्र बस्नेत, पानवीर विश्वकर्मा, अमर विश्वकर्मा, नारद वाग्ले, धर्म घिमिरे, वेदराज रेगमी, शेखर बस्नेत, सीता खड्का , बलबहादुर सुवेदी, मातृका पठाक, कृष्ण खड्का, दिलबहादुर खड्का, भोगेन्द्र राजवंशी, मदन खपाङ्गी, अमर अधिकारी, मङ्गलमणी सतार लगायतले भोगेको जेल, नेल, बगाएको पसिना र रगतको समिक्षा गर्दै उपलब्धीहरुको रक्षा गर्नु सुखानीको बलिदानको सन्देश हो । 
हरेक हिसाबले परिवर्तन र ऐतिहासिक आन्दोलनको निर्णायक भूमिका निर्वाह गर्दै आएका झपामा आज पनि राजनीतिक आगरण ल्याउन महान् सहिदहरुप्रति लक्ष्य र विचारले प्रेरित गरिरहेछ, मान्छे थुप्रै जन्मन्छन् र जन्मेपछि मृत्यु अनिवार्य हुन्छ । तर, देश र जनताका निम्ति आन्दोलनको इतिहासमा रक्तरञ्जित विरगाथा कोरेर सहिदको उपाधी पाउने कमै हुन्छन् । वर्गाीय मुक्तिका लागि सर्वदा लडिरहने, कहिल्यै विचलित नभई आफ्नो लक्ष्य र उद्देश्यमा लागिरहने परिवर्तनकै निम्ति मृत्युवरण गर्न नहट्ने मान्छेहरुले नै ऐतिहासिक गाथा निर्माण गरेका हुन्छन् र इतिहासको रचना गरेका हुन्छन् । यस्तै इतिहास बोकेको छ, २०२८ सालको विद्रोहले । समाजका निरङकुशता झाँगिएको थियो, सोझा र निमुखा जनतामाथि चरमशोषण थियो, अन्याय र अत्यचारले सीमा नाघेको थियो । स्वभावैले किसानहरुमा समान्तको दबदबा थियो । राजा महेन्द्रले प्रतिकिसान छ मनदेखि दस मनसम्म धान कर लगाएका थिए, कर नतिरे जनतालाई बाध्ने, दुःख दिने र लखेट्नेसम्म गरिन्थ्यो । किसान यही प्रथाका विरोधी थिए । वनजङ्गल र उत्पादित नगदेबाली किसानका मातहतमा थिएनन्, महेशपुर र मेचीनगरका जङ्गलहरु भारतको कब्जामा थिए । किसानलाई मल बिऊको व्यवस्था थिएन । सामन्तको दबाबमा किसानले मजदूरी गर्नुपथ्यो । यिनै प्रथाका विरोधी नारा र मुद्दाहरु थिए झापा विद्रोहका । यही नारा र मुद्दामा जनताले न्याय र मुक्ति नपाएसम्म लडिरहन प्रेरित गरिरहन्छ, सुखानी हत्याकाण्डले । 
सुखानीको बलिदानले कागजी पानामा मात्र इतिहास सीमित गरेन, आज पनि मुलुक परिवर्तनको यो महान् यात्रामा लामबद्ध भएर राष्ट्रिय स्वाधिनताको निम्ति लडिरहन उत्प्रेरित गरिरहेको छ, राष्ट्रियता र मुक्तिका निम्ति खबरदारी गरिरहेको छ । विकृति र विसङ्गतिलाई जरेदेखि उलेखेकर फाल्न प्रतिज्ञा गर्दै गर्न सत्रुप्रति ज्वालामुखीको लप्का बनेर निस्कन सुखानीले उद्घोष गरिरहेछ । त्याग, बलिदान र सर्मपर्णबाट विचलित नहुन फाल्गुन २१ ले घचघचाईरहेको छ । यसलाई कुने नेता र कार्यकर्ताले नभुल्न सहिदहरुको त्याग र बलिदानीको जगको उपजका रुपमा रहेको सङ्घीय गणतन्त्रलाई संस्थागत गर्नु र मुलुकमा शान्ति स्थापना गर्नु सबै राजनीतिक दल, नागरिक समाजर आमजनताको साझा दायित्व हुनजान्छ । आआफ्नो दलीय स्वार्थमा अल्झिरहेको वर्तमानमा स्वतन्त्राका लागि सगरमाथा जस्तो गह्रौँ मृत्युलाई अँगाल्ने ती महान् सहिदहरुको सपना साकार पार्नका लागि इतिहासले हामी माथि सुम्पेको जिम्मेवारीलाई इमान्दारीपूर्वक कार्यानवयन गर्न लाग्योँ भने मात्र सहिदपैतिको साँचो श्रद्धाञ्जली हुने्छ । 
लेखक सुखानी आवाज राष्ट्रिय मासिकका सम्पादक हुन् । 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...