२०११ का धेरै प्रत्याशित प्राविधिक उत्पादनहरू


पछिल्लो केही वर्षयता सूचना प्रविधिले उल्लेख्य फड्को मारेको कुरा सर्वविदितै छ । विश्वमा सूचना प्रविधिको बढ्दो नयाँ–नयाँ आविष्कारसँगै मानवीय जीवन शैली एकपछि अर्को गर्दै अझ सहज बन्दै जाने क्रमले निरन्तरता पाएको छ ।
मुख्य गरी आमसञ्चारसँग सम्बन्धित प्राविधिक उत्पादनको आविष्कारले अन्य पक्षको तुलनामा ठूलो छलांग मारेको छ । केही वर्ष पहिले सहरी क्षेत्रमा मात्र सीमित इन्टरसेवा अब गाउँ–गाउँमा नै पुग्न थालेको छ । प्रत्येक भरियादेखि लिएर सामान्य ग्रामीण परिवेशका नागरिकहरूका हात–हातमा मोबाइल सेट पुगिसकेको छ ।
यसरी समग्रमा विश्वव्यापीकरणको अभियानसँगै नेपाल जस्तो बहुसंख्यक कृषि व्यवसायीमा आधारित देशमा पनि सूचना प्रविधिको पहँुच निकै उच्च बनेको छ । फलस्वरूप प्राविधिक उत्पादन सामग्रीको बजारको माग बढ्ने क्रमले निरन्तरता पाएको छ । जसले गर्दा विश्वका प्रसिद्ध प्राविधिक कम्पनीहरूले एकपछि अर्को गर्दै नयाँ–नयाँ प्राविधिक उत्पादन सामग्री निर्माण गर्नपछि परेका छैनन् । कम्पनीहरूले नविनतम खोज र आविष्कारलाई निरन्तरता दिँदै आएका छन् ।
जसरी गत वर्ष सन् २०१० मा प्राविधिक कम्पनी एप्पल इंकले आफ्नो नविनतम उत्पादन ‘आइफोन–४ र आइप्याड’ द्वारा विश्व स्मार्टफोन बजारमा हंगामा मचायो, त्यसरी नै यो वर्ष सन् २०११ मा पनि एप्पल इंकलगायतका विश्वप्रसिद्ध अन्य प्रविधि कम्पनीहरूले पनि आफ्नो नयाँ उत्पादन बजारमा ल्याउन आतुर बनेका छन् । यहाँ यो वर्ष बजारमा आउने केही प्रत्याशित प्राविधिक उत्पादनहरूका बारेमा सामान्य चर्चा गरिएको छ–
पीएसपी फोन
केही समय पहिले पीएसपी फोनका बारेमा अनगिन्ती कुराहरू हुने गर्थे तर अहिले त्यो एकादेशको कथा वास्तविकतामा परिणत हुने भएको छ । यो फोनमा अद्वितीय गेमिङ र मल्टिमिडियालगायतका फिचर रहने बताइएको छ । जसको अपेक्षित स्वरूप १ जिगाहर्ज प्रोसेसर, एन्ड्रोइड ३.०, ५१२ एमबी ¥याम, १ जीबी रोम, ३.७ देखि ४.१ इन्च स्क्रिन र माइक्रो एसडी रहनेछ ।
ह्वाइट आइफोन–४
एप्पलले बजारमा ल्याउने यो वर्षको प्रत्याशित उत्पादनमध्ये ह्वाइट आइफोन–४ पनि  एक हो । जसको अपेक्षाकृत मूल्य १ सय ९९ अमेरिकी डलर अर्थात् झन्डै १४ हजार रुपैयाँ (१६जीबी) र २ सय ९९ डलर अर्थात् झन्डै २१ हजार रुपैयाँ (३२ जीबी) रहनेछ ।
यसैगरी यसको अपेक्षित  स्वरूप तथा क्षमतामाः १६ जीबी अथवा ३२ जीबी, ए४ प्रोसेसर, ९६०–बाइ–६४०–पिक्सेल रेटिना डिस्प्ले, ५ मेगापिक्सेल क्यामेरा, फ्रन्ट–फेसिङ क्यामरा र आईओएस ४.२ आदि रहने अनुमान छ ।
सोनी भाइयो थ्रीडी ल्यापटप
यो वर्षको धेरै प्रत्याशित प्रविधि उत्पादनमध्ये सोनीको भाइयो थ्रीडी ल्यापटप पनि एक हो । यो ल्यापटपले बजारमा ठूलो हंगामा मच्चाउने अपेक्षा गरिएको छ । तर यो ल्यापटपमा अन्य थ्रीडीको डिभाइस समावेश गरिनेबारे सोनीले कुनै प्रतिवेदन सार्वजनिक गरेको छैन । यसको अपेक्षित स्वरूपः १६ इन्च एलसीडी डिस्प्ले तथा १९२०–बाइ–१०८० टुडी रेजुलुसन रहने बताइएको छ ।
स्प्रिन्ट ४जी ट्याबलेट
स्प्रिन्टका व्यावसायिक बजार प्रमुख प्यागेट आल्भसले समाचार एजेन्सी फोब्र्ससँगको कुराकानीमा हालै मात्र सन् २०११ मा ४जी ट््याबलेट ल्याउने बताएका थिए । तर ट््याबलेट कसले बनाउनेबारे अस्पष्ट छ, यद्यपि स्प्रिन्ट ४जी वाइम्याक्स नेटवर्कमा ठूलो मात्रामा धनराशी खर्चिंदै छ ।
एचपी वेबओएस ट््याबलेट
कम्प्युटर निर्माता कम्पनी एचपीले यो वर्षभित्र नै ‘एचपी वेबओएस’ नामक नयाँ ट््याबलेट बजारमा ल्याउने संकेत गरेको छ । जसको स्वरूपमाः एक–प्यानेल टचस्क्रिन, वेबओएस२ लगायतका छन् । यो ट््याबलेटलाई पाल्मप्याड भन्ने वा नभन्नेबारे भने निश्चित भएको छैन । जेहोस् यो ट््याबलेट एचपीका लागि एक नविनतम उत्पादन हुनुको साथै बजारको हिसाबले सकारात्मक रहने प्रक्षेपण छ ।
विन्डोज–८ पब्लिक बेटा
माइक्रोसफ्टको विन्डोज–७ को सुधारित अर्थात् अझ बढी विकसितरूप विन्डोज–८ पब्लिक बेटा यो वर्षभित्र नै सार्वजनिक हुने अपेक्षा छ । जसको स्वरूप विन्डोज–७ को तुलनामा धेरै विकसित छ । मुख्य गरी होम, मोबाइल, कम्प्युटर, एप्स स्टोर आदिका बीच गहिरो सहकार्य हुने खालका स्वरूप रहने अपेक्षा छ । त्यसको साथै अझ बढी विस्तारित डिजिटल मिडिया सपर्ट, सुधारित स्टार्टअप टाइम र पावर म्यानेजमेन्ट  रहनेछ ।
आइफोन–५
यो वर्ष बजारमा आउने धेरै प्रत्याशित स्मार्टफोनमध्ये आइफोन–५ पनि लिइएको छ । जुन हाल बजारमा उपलब्ध आइफोन–४ लगायतका अन्य कम्पनीहरूको आइफोनको तुलना अझ पातलो र हलुको रहने प्रक्षेपण छ । त्यसको साथै छिटो र धेरै स्टोरेज क्षमतायुक्त रहनेछ ।
गुगल क्रोम ओएस नेटबुक
सीमित फ्लास स्टोरेज, पूर्ण आकारको किबोर्ड, १० देखि १२ इन्चको स्क्रिन, थ्रीजी सपर्ट र वाइफाइ स्वरूपयुक्त गुगल क्रोम ओएस नेटबुक यो वर्ष सार्वजनिक हुने अपेक्षा छ । यो वर्षको मध्यसम्म बजारमा आउने भनिएको यो नेटबुकले लोकप्रियता पाउनेमा दुईमत छैन ।
ब्लाकबेरी प्लेबुक
यो वर्ष सार्वजनिक हुने भनिएका प्रत्याशित प्राविधिक उत्पादनमध्ये ब्लाकबेरी प्लेबुक पनि एक हो । जसको अपेक्षित स्वरूपमा  ७ इन्च एलसीडी स्क्रिन (१०२४×६०० पिक्सेल), १ जीबी ¥याम, १ गिगाहर्ज डुअल कोर प्रोसेसर, एडोब फ्लास १०.१, माइक्रो–युएसबी, माइक्रो–एचडीएमआई, ३–मेगापिक्सेल फ्रन्ट–फेसिङ क्यामरा, ५ पिक्सेल रियर–फेसिङ क्यामरा रहेका छन् । यसका साथै सञ्चारका लागि ब्लुटुथ २.१ र वायरलेस सुविधा रहेको छ ।
प्रस्तुतिः नरेश चौधरी

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...