मासिक तलब ७५ रुपैयाँ


कसैको मासिक तलब ७५ रुपैयाँ भएको सुन्दा अचम्म लाग्न सक्छ । पशुपति मृगस्थलीस्थित विश्वरूपा मन्दिरका पाले -रकमी) रावण पन्तको महिनाको तलब यत्ति हो । उनले २०४२ मा ३० रुपैयाँ तलबबाट जागिर सुरु गरेका थिए । त्यसको दुई वर्षपछि ४५ रुपैयाँ र २०५१ सालमा बढेर ७५ रुपैयाँ भएको हो ।
पशुपति क्षेत्र विकास कोषले मन्दिरको सम्पूर्ण जिम्मेवारी लिएकाले अन्य कर्मचारीसरह हाम्रो तलब हुनुपर्ने उनले बताए ।  जंगबहादुरको पालामा सन् १८६७ मा निर्मित मन्दिरमा शिवशक्तिको रतावस्थाको विशाल ढलौटे मूर्ति छ ।  
गुठीले पूजाआजा खर्चका लागि वाषिर्क २८ हजार रुपैयाँ दिने गरी २०५५/५६ मा उक्त मन्दिरको सम्पूर्ण जिम्मेवारी कोषलाई दिएको हो । कोषको साधन स्रोत विभागका निर्देशक रमेशकुमार उप्रेतीले मन्दिरको संरक्षण र पूजाआजाको जिम्मवारी मात्र आफूहरूले पाएको बताए । उक्त मन्दिरमा कार्यरत पन्त गुठी संस्थानद्वारा नियुक्त कर्मचारी भएको हुनाले उनको तलबका लागि कोष जिम्मेवार नभएको उनले बताए ।
'उनीहरूको तलब समयसापेक्ष पक्कै होइन तर उनीहरूको तलबको निधो गर्ने जिम्मेवार निकाय गुठी नै हो, उप्रेतीले भने । बिहान-बेलुका मन्दिरको हेरचाह गरेपछि उनीहरूले अन्य काम गर्नलाई स्वतन्त्र भएकाले पूर्णकालीन कर्मचारीझैं तलब तोक्न नसकिने उप्रेतीले बताए । 
कोषले २०४९ सालदेखि उक्त मन्दिरको जीर्णोद्धार सुरु गरेर अहिलेसम्म झन्डै डेढ करोड रुपैयाँ खर्चिसकेको छ । उक्त मन्दिरमा हुने पूजाआजामा वाषिर्क झन्डै डेढ लाख रुपैयाँ खर्च हुने गरेकाले गुठीले दिएको रकमले समेत नपुग्ने गरेको उनले बताए । 'गुठीले पाँच वर्षदेखि कोषलाई पूजाआजाका लागि रकम दिन छाडेको छ,' उनले भने । 
पशुपति क्षेत्रमा ४ सय ९२ मन्दिर, सतल, ढुंगेधारा, चैत्य र देवालयलगायतका धार्मिकस्थल एवं झन्डै एक हजार शिवलिंग छन् । परापूर्वकालदेखि त्यसको देखभाल र पूजाआजामा खटिएका अधिकांश न्यून तलब थापेर बसेका छन् । गुठी संस्थान पशुपति गोश्वारा शाखा कार्यालयकी प्रमुख उमा आचार्यले परापूर्वकालदेखि मन्दिरमा राखिएका पुजारी र रकमी खानकीको तलब निकै कम हुने गरेको बताइन् । मठ मन्दिरमा न्यूनतम २० रुपैयाँदेखि १ सय ५० रुपैयाँ मासिक तलबमा यस्ता पुजारी र पालेले काम गरेको देखिन्छ । 
गुठी संस्थान केन्द्रीय कार्यालयका उपप्रशासक सरोज थपलियाले २०६१/६२ सालमा भएको निर्णयअनुरूप मन्दिरमा कार्यरत महन्त, पुजारी, गुठियार, सरसफाइ र पाले लगायतकालाई सय रुपैयाँको हाराहारीमा तलब दिने निर्णय भएको बताए । 

 उक्त मन्दिरमा कार्यरत पन्तसँग तलब बढेको आधिकारिक कागजात नभएको हुनाले कोषले आनाकानी गरेको हुनसक्ने औंल्याउँदै उनले भने, 'त्रिपुरेश्वरस्थित गुठी संस्थान कार्यालयमा निवेदन दिएमा आवश्यक कागजात पाउनेछन् ।'
Via Source:- eKantipur

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...