एप्पलका कार्यकारी प्रमुख स्टिभ जब्सले अघिल्लो वर्षको जनवरी २७ को बिहान अमेरिकाको लस एन्जलसमा सूचना प्रविधिको छुट्टै जिनिस सार्वजनिक गर्ने घोषणा हुँदा नेपाली युवा पनि रातभर जागा भएर टिभी नियाल्दै थिए । आइपड र आइफोनजस्ता लोभलाग्दा ग्याजेट सार्वजनिक गरेर तहल्का मच्चाएको एप्पलको यो नयाँ उपकरणको प्रतीक्षा हुनु स्वाभाविकै थियो । हातमा अटाउने त्यो सूचना प्रविधिको सानो बाकसको नाम आइप्याड भनेर जब्सले सुनाउँदा धेरैले आफ्नो हत्केलामा राखेर त्यसलाई नचाएको कल्पना गरे होलान् ।
त्यसको ५ महिनासम्म नेपालीले आइप्याडलाई अधैर्यसाथ प्रतीक्षा गरे । नेपालमा एप्पलका उत्पादन बेच्दै आएको नियोटेरिक नेपालका प्रबन्ध निर्देशक सञ्जय गोल्छाको हातमा गत वैशाखमै आइप्याड आइपुगेको थियो । विश्व बजारमा खुबै चर्चा पाएको यो जिनिस चलाएर सन्तुष्ट भएपछि अरूलाई सामग्री बेच्दै आएका उनले आफू पनि यसको ग्राहक बन्ने घोषणा गरेका थिए । त्यसपछि आइप्याड लिन चाहनेहरूसँग नियोटेरिकले माग लिन थालेको बताएको थियो । आइप्याडको दोस्रो संस्करण अमेरिकामा गत साता सार्वजनिक गरिसक्दा नेपालमा अझै यो ग्याजेट आई नपुगेको नियोटेरिकका अजय शेरावतले बताए । 'कोही आफन्त विदेशमा हुनेहरूले आइप्याड ल्याएर चलाएका छन्,' उनले भने, 'नेपाली बजारमा आधिकारिक रूपमा आइपुग्न अझै दुई महिनाजति लाग्ला । आफ्नो हातमा कहिले आइप्याड आइपुग्ला र धित मरुन्जेल चलाउँला भनेर कुर्नेमध्ये थिए एक निजी बैंकमा सूचना प्रविधि प्रमुखका रूपमा काम गर्ने गौरीनगरका पवन शर्मा । उनले साथीमार्फत मगाएको यो ग्याजेट उनकी श्रीमती विमला (तस्बिरमा) लाई औधि मन परेको छ । बैंकमै काम गर्ने उनी पनि आइप्याडमा गीत सुन्दै नेट चलाउन र पुस्तक पढ्न रुचाउँछिन् । 'मैले चलाएका ग्याजेटमध्ये सबैभन्दा मन परेको यही ट्याब्लेट हो,' उनले भनिन्, 'यसको आकर्षक डिजाइन, औंलाले खेलाउँदै पुस्तकझैं पाना पल्टाउन पाइने स्क्रिन साँच्चै लोभलाग्दो छ ।'
समय फेरिएको छ । पैसा हुनेका लागि एप्पलकै आइप्याड पर्खन पर्ने दिन यहाँ पनि सकिएको छ । पहिलो पटक आइप्याड बजारमा आएको एक वर्ष नबित्दै सामसुङ, प्रोलिंक, जेडटिई, ओलिभ, मोटोरोला, एचपी, डेल, ब्ल्याकबेरी, तोसिवालगायतले त्यस्तै डिभाइस ल्याइसकेका छन् । ग्यालेक्सी, लाइट, टच, जुम, स्लेट, स्टि्रक, प्लेबुक, प्याड आदि नाममा आएका ट्याब्लेट पिसीले बजारमा डेक्सटप, ल्यापटप लगायत कम्प्युटर बजारलाई चुनौती दिइरहेका छन् । ती सबै कम्पनीका ट्याबलेट बजारमा नपाइए पनि केहीले यहाँ ल्याएर बेच्न थालिसकेका छन् । गोजीमा बोकेर हिँड्न सकिने यी मिनी कम्प्युटरले खासगरी कामकाजी र युवायुवतीको मन जित्दै गएका छन् ।
हुन पनि आकर्षक मोडेल र हातमै संसार खेलाउन मिल्ने ट्याब्लेटले कम्प्युटरले गर्ने सबै काम गर्ने भएपछि के चाहियो ? लोडसेडिङ दैनिक १४ घन्टा पुगेको मुलुकका प्रविधिप्रेमीलाई कम समय चार्ज गर्दा धेरै समय चल्ने र कम बिजुली खपत हुने उपकरण चाहिएको थियो । त्यस्तो आवश्यकता ट्याब्लेटले पूरा गरेको प्रोलिंक ब्रान्डका ट्याब्लेट टच बेच्दै आएको एसएचटिसी इन्टरनेसनलका निर्देशक सुमित अग्रवाल बताउँछन् ।
हरेक काम कम्प्युटरले गर्नुपर्ने जमानामा साना, छरिता र आकर्षक ट्याब्लेटले डेक्सटप र ल्यापटपको स्थान लिने प्रयास गरिरहेका छन् । हत्केलामा राखेर औंलाले खेलाउन मिल्ने, किताबको पाना पल्टाएजसरी ब्राउजर पल्टाउन मिल्ने ट्याब्लेटमा इन्टरनेट चलाउने, कार्यालयको काम गर्ने, तस्बिर, भिडियो खिच्ने, गीत सुन्ने, पुस्तक पढ्नेलगायत कम्प्युटरले गर्ने सबै काम गर्न मिल्छ । वाइफाई, ब्लुटुथजस्ता वायरलेस डिभाइस जडिएकाले यी ग्याजेट जहाँ जाँदा सँगै लगेर इन्टरनेट चलाउने, फाइल साटासाट गर्ने काम गर्न सकिन्छ । यिनमा युएसबी पोर्ट हुने भएकाले वायरलेस डिभाइस नभएका अरू नेटवर्कमा पनि जोड्न सकिन्छ । केहीले त यसबाटै टेलिभिजनसमेत हेर्न सकिने बनाएका छन् ।
एसएचटिसीका अग्रवालका अनुसार इन्टेल एटम एन ४५० प्रोसेसरयुक्त प्रोलिंकको यो ट्याब्लेटमा विन्डोज सेभेन अपरेटिङ सिस्टम छ । 'अरू कम्पनीका ट्याब्लेटले गुगलको मोबाइलमा प्रयोग गरिने एन्रोइड अपरेटिङ सिस्टम प्रयोग गर्छन्,' अग्रवालले भने, 'हामीले मात्र विन्डोज प्रयोग गर्ने हुनाले टचमार्फत ल्यापटपले गर्ने सबै काम गर्न सकिन्छ ।' यसमा ३२ जिबीको हार्ड डिस्क छ, जसलाई बढाएर दोब्बरसम्म बनाउन सकिन्छ । यस्तै २ जिबीसम्म बढाउन मिल्ने १ जिबीको र्याम भएको यसमा वाइफाई, ब्लुटुथ, क्यामेरा, २ वटा युएसबी पोर्ट, कार्डरिडर स्लट छन् । ११.६ इन्चको स्त्रिmन भएको यसको तौल १ किलोग्रामभन्दा कम छ । यसको ब्याट्री ४ घन्टासम्म चल्छ । यसको मूल्य कम्तीमा ५५ हजार रुपैयाँ पर्ने अग्रवालले बताए । 'त्यसमा थपिने हार्डडिक्स, मेमोरी र सक्कली विन्डोज अपरेटिङ सफ्टवेयरले यसको मूल्य थपिन सक्छ,' उनले भने ।
कोरियाली कम्पनी सामसुङले ग्लालेक्सी ट्याब साढे दुई महिनादेखि नेपाली बजारमा बेच्दै आएको छ । इन्टरनेसनल मार्केटिङ सर्भिसले भित्र्याएको ग्यालेक्सीले राम्रो बजार लिइरहेको कम्पनीका प्रबन्ध निर्देशक दीपक मलहोत्राले बताए । 'उपभोक्ता ब्रान्ड कन्सस भएकाले ब्रान्डेड सामानै खोज्छन्,' उनले भने, 'बजारमा ल्याएको छोटो अवधिमा हामीले २ सय २० वटा सेट बेचिसकेका छौं ।'
आफूले ग्यालेक्सी लिएपछि ल्यापटप बोक्न छाडेको जानकारी दिँदै उनले भने, 'सबै काम ट्याब्लेटले गर्ने भएपछि ल्यापटप किन बोकिरहनु ?' पाँच मेगापिक्सेलको क्यामेरा जोडिएको ग्यालेक्सीमा मोबाइल फोन चलाउन मिल्ने सुविधा पनि छ । ७ इन्चको स्क्रिन भएको यसको अर्को संस्करण १० इन्चको भएर आउन लागेको मलहोत्राले जानकारी दिए ।
वाइफाई, ब्लुटýथलगायत सुविधायुक्त यसमा १६ जिबीको मेमोरी छ । त्यति नै क्षमता बढाउन मिल्ने युएसबी पोर्टयुक्त यसलाई मोडेमका रूपमा प्रयोग गरेर अरू पाँच वटा कम्प्युटर समेत चलाउन सकिने कम्पनीका प्रमेश घिमिरेले जानकारी दिए ।
भारतीय कम्पनी ओलिभ कन्जर्भेसन्सका उत्पादन बेच्दै आएको मल्ली ब्रदर्सले केही महिनाअघि मात्र ओलिभ प्याड नेपाली बजारमा ल्याइसकेको छ । 'मल्टिफङ्सन डिभाइस' का रूपमा चलाउन मिल्ने कम्पनीले दाबी गरेको प्याडमा वाइफाई, ब्लुटुथ डिभाइस छ । जसले गर्दा इन्टरनेट चलाउन सकिन्छ । यसमा ३ मेगापिक्सेलको क्यामेरा, ई-बुक, मल्टिमिडिया लगायत सुविधा रहेको कम्पनीका कार्यकारी निर्देशक कुशल मल्लीले बताए । यसमा भारतीय टिभी च्यानलको प्रत्यक्ष प्रसारणसमेत हेर्न सकिन्छ । त्यो सुविधा ६ महिनाका लागि ओलिभले उपलब्ध गराएको छ । त्यसपछि उपभोक्ताले पैसा तिरेर सेवा लिन सक्छन् ।
एक वर्ष वारेन्टी भएका यी प्याडमा बिक्रीपछिको सेवा समेत रहेको मल्लीले बताए । मोबाइल फोनका रूपमा समेत प्रयोग गर्न मिल्ने यो ट्याब्लेटको कम्पनीले ४२ हजार रुपैयाँ मूल्य तोकेको छ । नेपालमा सुरुमा भित्र्याएको ५० वटा सेट तुरुन्तै बिक्री भएको जानकारी दिँदै उनले माग देखेर उत्साहित भएको बताए ।
संसारको चौथो ठूलो मोबाइल सेट उत्पादक कम्पनी जेडटिईले केही महिना अघि मात्र जेडटिई लाइट बजारमा ल्याएको छ । गत क्यान इन्फोटेकमा नेपाली बजारमा सार्वजनिक गरेको कम्पनीले एक सातादेखि बजारमा बेच्न थालेको नेपालका लागि वितरक बिके ट्रेडर्सका निर्देशक शिरीष मुरारकाले बताए । फोनकै जत्रो (७ इन्च) स्क्रिन रहेको लाइटमा वाइफाई, ब्लुथलगायत वायरलेस डिभाइस जोडिएको छ । यसमा रहेको १६ जिबीको कार्डलाई विस्तार गरेर ३२ जिबीसम्म बनाउन सकिने मुरारकाले बताए । जिपिएस जडित यसको काठमाडौको लोकेसनसमेत पत्ता लगाउन सघाउने उनले दाबी गरे । यसमा पनि वर्ड, एक्सेल लगायत अफिसका कामहरू गर्न सकिन्छ । कम्पनीले यसको मूल्य ३७ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ । थि्रजी सिमकार्ड राखेर चलाउन मिल्ने यसमा गेम खेल्न, मल्टिमिडिया चलाउन निकै रमाइलो अनुभव हुने मुरारकाले बताए । यसको ब्याट्री ब्याकअप १० घन्टाको छ । बजारमा लगेको साता नबित्दै झन्डै ८० वटा लाइट बिक्री भएको उनले जानकारी दिए ।
यी बाहेक मोटोरोलाको जुम, एचपीको स्लेट, डेलको स्टि्रक, ब्ल्याकबेरीको प्लेबुक, तोसिवाको ट्याब्लेट, लेनोभोको लिप्याड पनि विश्व बजारमा आएका छन् । केही व्यापारीले तिनलाई नेपाली बजारमा भित्र्याउने तयारी गरिरहेका छन् ।
सामसुङ ग्यालेक्सी
अपरेटिङ सिस्टमः एन्ड्रोइड २.१
साइजः ७ इन्च
हार्डडिस्कः १६ जिबी
विशेषताः वाइफाई, मल्टिमिडिया, थि्रजी, क्यामेरा, युएसबी पोर्ट
ब्याट्री ब्याकअपः ७ घन्टा
मूल्यः ५० हजार ५ सय रुपैयाँ
Via Source:- eKantipur

http://networkedblogs.com/fonG1
ReplyDeleteउल्लेखित समाचार मैले कान्तिपुर दैनिकका लागि लेखेको हु“ । तर तपाईको साइटमा यसलाई साभार गर्दा मेरो नाम कतै उल्लेख भएको पाइन । मेहनत गरेर लेखेको समाचार साभार गर्दा त्यसका लेखकलाई मार्नु कत्तिको जायज हो - तपाईले मेरो समाचार साभार गर्नु भएकामा कुनै आपत्ति छैन । तर त्यसमा क्रेडिट नराख्नु भएकामा मेरो चित्त दुखेको छ । यसबारे अवश्य सोच्नु हुनेछ भन्ने आशा गरेको छु । धन्यवाद !
लीलानाथ घिमिरे