१३ औं बुढासुब्बा गोल्डकप चैत ८ देखि


धरान । १३ औं अन्र्तराष्ट्रिय बुढासुब्बा टुबोर्ग गोल्डकप यही चैत ८ गतेदेखि १९ गते (२२ मार्चदेखि २ अप्रिल)सम्म सञ्चालन हुने भएको छ । आयोजक धरान फुटबल क्लबले मंगलबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता हुने बारेमा जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष तथा प्रतियोगिताका मुल आयोजक समिति अध्यक्ष सुवास राईले प्रतियोगिताको ९५ प्रतिशत तयारी पुरा भइसकेको जानकारी दिए । प्रतियोगिताको तयारीस्वरुप प्रायोजन, सहयोगी दाताहरु खोज्ने कार्य, खेलमैदानको मर्मत, प्याराफिट निर्माण, टाइसिट निर्माण, प्रचारप्रसारका सामग्रीहरु निर्माण, प्रचारप्रसारका विविध कार्यक्रमहरुको तर्जुमाजस्ता कार्यहरु सम्पन्न भइसकेको अध्यक्ष राईले बताए ।
अब प्रतियोगिताको प्रचारप्रसाको लागि स्थानीय पत्रपत्रिका, रेडियो एफएम, पम्प्लेट,टाइसिट र माइकिंगजस्ता कार्यहरुलाई तीब्रता दिइने उनले बताए ।
प्रतियोगितामा भारत र बंगलादेशका दुई क्लब र राष्टिय १० क्लबसमेत गरी १२ वटा क्लबहरु सहभागी हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा अन्र्तराष्टिय क्लबमा सिक्किम भारतको नाम्ची फुटबल क्लब र बंगलादेशको मिरपुर फुटबल क्लब सहभागी हुने छ भने राष्टिय क्लबहरुमा रानी पोखरी कर्नर टिम(आरसिटि),धरान फुटवल क्लब, थ्री स्टार, नेपाल पुलिस क्बल, सशस्त्र प्रहरी बल, हिमालयन शेर्पा क्लब,डब्लुएमएससी मजदुर सहिद स्मृति क्लब,सहारा क्लब, झापा फुटबल संघ र मोरङ फुटबल संघले सहभागि हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता आयोजकले अनुमानित आयतर्फ २८ लाख ८५ हजार र खर्ततर्फ २८ लाख ४० हजार ५ सयको अनुमानित आयव्यय समेत प्रस्तुत गरेको थियो । यसैगरि,प्रतियोगिता अवधिभर दैनिकरुपमा टिकटबाट लक्की ड मार्फट एक दर्शकलाई वर्ड मोवाइल पुरस्कार स्वरुप दिइने आयोजकले जनाएको छ ।
पुरस्कार लिन कुनै पनि नेपाली कम्पनीको मोवाइलबाट बीएसजि स्पेश टिकेट नम्बर टाइप गरि ५००४ मा एसएमएस गर्ने व्यवस्था गरिएको पनि आयोजक क्लबका अध्यक्ष राईले बताए । पत्रकार सम्मेलनमा प्रतियोगितालाई सहयोगस्वरुप धरान दुबई हेल्पिङ्ग हेन्स, दुबईको तर्फबाट अध्यक्ष सोम तामाङले आयोजक समितिलाई नगद २५ हजार हस्तान्तरण गरेका थिए ।
आयोजकका अनुसार प्रतियोगितालाई सहयोग स्वरुप धरान हङ्गकङ्ग मञ्च,हङ्गकङ्गबाट नगद १ लाख ५० हजार र धरान यू.के. समाज, यू.के.बाट ५० हजार आर्थिक सहयोग प्राप्त हुने पक्का भएको छ भने धरान ६ निवासी खेलप्रेमी मेहरलाल श्रेष्ठले सौजन्यस्वरुप २२ जोर फुटवल जर्सी प्रदान गरेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले प्रथम नगद पुरस्कार वापत २ लाख र उपविजेताले १ लाख नगद पाउने आयोजकले जानकारी दिएको छ । प्रतियोगिता अवभिधरको उत्कृष्ट खेलाडीले नगद २५ हजार र सर्वाधिक गोलकर्ताले १५ हजार पाउनेछ । फाइनल खेलको म्याद अफ दि म्याच घोषित खेलाडीले नगद १० हजार र एक थान वर्ड मोवाइल सेट पाउने छ भने प्रत्येक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीले पनि वर्ड मोवाइल एक थान पाउनेछ ।
प्रतियोगिताको प्रचारप्रसार गर्न पूर्वका विभिन्न शहरहरमा चर्चित कलाकारहरुको साथमा टुबोर्ग म्युजिक अन विल्स इन सपोर्ट फर १३ बुढासुब्बा गोल्डकप नामको लाइभ कन्र्सट आयोजना गरिने धरान फुटबल क्लबका उपाध्यक्ष एवं प्रतियोगिताको प्रसारप्रसार समिति संयोजक इन्दु रसाईलीले जानकारी दिएका छन् ।
उक्त टूर कन्सर्ट चैत ५ गते इटहरी, चैत ६ गते इलाम, चैत ७ गते धनकुटा र चैत ८ गते उद्घाटन अवसरमा धरानमा आयोजना गरिनेछ । कन्र्सटमा चर्चित गायक राजेशपायल राई,नवराम राई, सपन श्रेष्ठ र डिल्ली फोम्बोको प्रस्तुती रहनेछ ।
शब्द : रोहित राई
तस्वीर:सोहन श्रेष्ठ

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...