२१ फागुन, झापा । राजनीतिक दलहरुले वर्षमा एक पटक बाहेक सहिद र उनीहरुका आफन्तलाई नसम्झेको गुनासो सहिद परिवारहरुले गरेका छन् ।
शनिबार झापाको सुखानीमा एकीकृत नेकपा माओवादीले आयोजना गरेको सहिद सप्ताह समापन तथा श्रद्धाञ्जलि सभामा उपस्थित सुखानीका सहिदहरुका परिवारले राज्य र राजनीतिक दलले ओठे प्रतिबद्धता गरेपछि सहिद र उनीहरुका परिवारलाई उचित न्याय नगरेको बताए ।
पञ्चायती शासकले जेल सरुवाको नाममा ३८ वर्ष अगाडि सुखानीमा हत्या गरेका झापा विद्रोहका योद्धाहरुको सम्मानमा आयोजित कार्यक्रममा सहिद रामनाथ दाहालकी जीवन संगिनी जानुका दाहालले दलहरुले सहिदको व्याज खाने प्रयास मात्र गरेको आरोप लगाउनु भयो । एमालेले झापा विद्रोहका सहिद र परिवारहरुप्रति घोर अन्याय गरेको दुखेसो गर्दै उहाँले माओवादीले त्यसलाई दोहोर्याउनु नहुने बताउनु भयो ।
आफ्ना श्रीमान्ले हिडेको बाटो सही रहेको आफ्नो बुझाई रहेको बताउँदै ७० वर्षीय दाहालले सहिदहरुले चाहेको परिवर्तन र समानता एक दिन अवश्य आउने विश्वास व्यक्त गर्नुभयो । राज्य र पार्टीबाट अहिलेसम्म कुनै सहयोग नपाएकोले छोराछोरीले आफूलाई यस्ता कार्यक्रममा नजान भन्ने गरेको सुनाउँदै झापाको लालमाटीमा बस्दै आउनुभएका दाहालले सहिदका परिवारप्रति ध्यान दिन माओवादीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा उपस्थित सहिद कृष्ण कुईकेलकी भाउजु धनमायाँ कुईकलले पनि सहिदको नाममा एमालेले जस्तो राजनीति मात्र नगर्न एकीकृत माओवादीलाई आग्रह गर्नुभयो । जनताले चाहेको शान्ति र संविधान समयमै दलहरुले दिएमा सहिदको कदर हुने उहाँको भनाई थियो ।
कार्यक्रममा प्रगतिवादी लेखक खगेन्द्र संग्रौलाले एकीकृत माओवादीले सुखानीका सहिदहरुको वास्तविक उत्तराधिकारीको रुपमा आफूलाई उभ्याएको बताउँदै त्यसबाट बिचलित नहुन आग्रह गर्नुभयो । एमालेको लागि अव सुखानीको स्मृति घाँडो भइसकेको बताउँदै उहाँले सुखानीको झण्डा र सहिदको रगतलाई सम्मान गर्न अध्यक्ष प्रचण्डलाई आग्रह गर्नुभयो ।
एमालेलाई १६ स्राद्धको पुरोहितसँग तुलना गर्दै लेखक संग्रौलाले पुरोहित जस्तोसुकै जजमानकोमा पुरेत्याई गर्न गएजस्तै एमालेलाई सरकारबोहक अरु चिन्ता नभएको बताउनु भयो । राप्रपा, ज्ञानेन्द्र, काँग्रेस र माओवादी जोसँग मिलेर भएपनि सरकारमा जाने एमालेको एकमात्र उद्देश्य र ध्याउन्न रहेको भन्दै उहाँले उसले सहिदहरुलाई विर्सिएको बताउनु भयो ।
माओवादीले पनि सहिदको सपना अनुसार काम गर्न नसकेको उसको हातबाट सुखानीको झण्डा अर्कैले खोस्ने बताउँदै संग्रौलाले माओवादीलाई अछुत जातको रुपमा व्यवहार गर्ने कुलिनहरुलाई गलहत्याएर सत्ताबाट नपछारेसम्म जनताको मुक्ति नहुने बताउनु भयो ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...