काभ्रे जिल्लाका १२ ओटा गाविस अहिले ई-भिलेजका रूपमा विकास हुँदै छन् । कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान) काभ्रेले साढे दुइ वर्षअघि काभ्रे जिल्लालाई ई-भिलेजको रूपमा विकास गर्ने अवधारणा ल्याएको थियो ।

महावीर पुनले म्याग्दीमा शुरू गरेको वायरलेस प्रणालीबाट प्रेरित भए र ई-भिलेजको अवधारणा शुरू गरिएको हो । कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान) का सचिव तथा क्यान काभ्रेका संस्थापक अध्यक्ष अमृतकुमार पन्तका अनसार अहिले जिल्लाका दुइओटा निवार्चन क्षेत्रका क्रमशः ५ र ७ गरी १२ गाविसमा अभियान सञ्चालन भइरहेको छ । अभियान शुरू गर्नुअघि यसका सम्भावना र चुनौतीसम्बन्धी सेमिनारसमेत गरिएको थियो । सेमिनारमा विभिन्न ५ ओटा विषयमा कार्यपत्रसमेत प्रस्तुत गरिएको पन्तले जानकारी दिए ।
सो क्षेत्रका सम्पूर्ण कामकाज प्रविधिको माध्यमबाट गर्न तथा सूचना प्रविधिको पहुँच सबैमा पुर्याउन ई-भिलेजको अवधारणा ल्याइएको हो । यस अभियानमा सो क्षेत्रबाट संविधानसभाका लागि निर्वाचित दुइ सभासद्, क्यान काभ्रे, गाउँ विकास समिति, जिल्ला विकास समिति काभ्रे, निर्वाचन क्षेत्र विकास कोष-काभ्रे, माई नेपाललगायत सङ्घ-संस्थाले सहयोग गरेका छन् । अभियानले सरकारले थालेको 'ज्ञानमा आधारित समाज' निर्माणको कार्यक्रमका लागि समेत सहयोग गर्ने अभियानकर्ता पन्तको भनाइ छ । त्यस्तै, सरकारले लागू गर्ने भनेको ई-गभर्नेन्स प्रणालीमा समेत यसले सहयोग गर्नेछ । अभियान अन्तर्गत विकेन्द्रीकृत राज्य व्यवस्थाको मुख्य अङ्ग गाउँ विकास समितिको कार्यालयबाट यसको शुरुआत गर्न लागिएको छ ।
क्यानका सचिव पन्तले भने, 'देश विकासका मुख्य जिम्मेवार राजनीतिक दल, राजनीतिज्ञ तथा जनप्रतिनिधिहरू भएकाले उनीहरूले सूचना तथा सञ्चार प्रविधिसम्बन्धी जानकारी हासिल नगरेसम्म यस्ता कार्यक्रमलाई राष्ट्रिय रूपमा विकास गर्न सकिँदैन ।' भविष्यमा नेताहरूले निर्वाचनका बेला भोट माग्न गाउँगाउँमा जानुभन्दा ई-मेल र वेबसाइट तथा सूचना र सञ्चार प्रविधिलाई नै मत माग्ने मुख्य साधनको रूपमा प्रयोग गरून् भन्ने अभियानको अभीष्ट भएको उनको भनाइ छ । 'अब बाटो खनेरमात्र गाउँको विकास हुँदैन, सूचना प्रविधिको प्रयोग अत्यावश्यक भइसकेकाले यसका लागि सबै एक हुनुपर्छ' उनले भने । यसका लागि सबै क्षेत्रबाट सक्दो सहयोग गरिनुपर्नेमा उनले जोड दिए । सरकारले शुरू गरेको 'ज्ञानमा आधारित समाज' निर्माणमा समेत यसले सहयोग पुर्याउने उनको विश्वास छ । पन्तका अनुसार प्रत्येक सभासद्ले कम्तीमा पनि आफ्नो क्षेत्रका २ ओटा गाविसबाट मात्रै यस्तो अभियान थाल्ने हो भने केही वर्षमै देशका धेरै गाउ ई-भिलेजको रूपमा विकास हुनेछन् ।
ई-भिलेजका रूपमा विकास गर्न लागिएका १२ गाविसका करीब २५ ओटा विद्यालयमा अहिले २ सयभन्दा बढीको सङ्ख्यामा कम्प्युटर उपलब्ध गराइसकिएको क्यान काभे्रका संस्थापक अध्यक्ष पन्तले जानकारी दिए । त्यस्तै, प्रत्येक गाविसबाट एक जना पुरुष र एक जना महिलालाई छनौट गरी कम्प्युटरसम्बन्धी तालीम सञ्चालन भइसकेको पनि उनले बताए । उनका अनुसार पुरुषलाई हार्डवेयर र महिलालाई सफ्टवेयरसम्बन्धी तालीम दिइएको थियो । तालीमप्राप्त महिला तथा पुरुष अहिले आफूले सिकेको शीप स्थानीय जनतालाई सिकाउँदै छन् । यस्तो तालीम न्यूनतम शुल्कमा सञ्चालन भइरहेको छ ।
ई-भिलेज अभियानअन्तर्गत ई-एजुकेशन, ई-हेल्थ, ई-एग्रिकल्चर तथा ई-गभर्नेन्सको विकास गरिने कार्यक्रम छ । काभ्रे जिल्लाका क्षेत्र नं. २ बाट चुनिएका सभासद अकलबहादुर थिङका अनुसार अहिले सो क्षेत्रका पाँचओटा गाविसका स्कूलमा कम्प्युटरको व्यवस्था भइसकेको छ । त्यस्तै, अहिले पाँचैओटा गाविसका जनतालाई कम्प्युटरसम्बन्धी आधारभूत तालीमसमेत दिइरहेको छ । स्कूलमा अध्ययनरत विद्यार्थीहरूलाई कम्प्युटरसम्बन्धी पाठयक्रम पढाउने तथा आगामी वर्षदेखि कम्प्युटरसम्बन्धी अध्ययनसमेत शुरुआत गर्न लागिएको उनले बताए । 'यसले गर्दा सरकारी विद्यालय पनि स्रोत र साधनको सुविधा भएमा महँगा निजी विद्यालयमा पढ्ने विद्यार्थीभन्दा कम हुँदैनन्' थिङले भने । उनका अनुसार यसका लागि सरकारी स्तरबाट पनि ई-भिलेजका लागि आर्थिक, प्राविधिक सहयोग भएमा अभियान सञ्चालनमा सहयोग पुग्नेछ ।
त्यस्तै, काभ्रे जिल्लाको क्षेत्र नं. ३ का संविधानसभा सभासद् कृष्णप्रसाद सापकोटाका अनुसार अहिले सो क्षेत्रमा ताररहित (वायरलेस) इण्टरनेटको सुविधा उपलब्ध गराइसकिएको छ । ११ ओटा पिलरमा प्रविधि जडान गरी इण्टरनेटको सुविधा उपलब्ध गराइएको उनले जानकारी दिए । सो सुविधा उपलब्ध भएपछि त्यस क्षेत्रका जनताले अहिले इण्टरनेटको प्रयोग गर्न पाएको उनले बताए । त्यस्तै, स्कूलहरूमा कम्प्युटर उपलब्ध गराई कम्प्युटर शिक्षासमेत दिन शुरू गरिएको छ । सापकोटाका अनुसार सो क्षेत्रमा अहिले विज्ञान तथा प्रविधि मन्त्रालय, सूचना प्रविधि केन्द्रले समेत सहयोग गरेका छन् ।
क्यानका सचिव पन्तका अनुसार अभियानअन्तर्गत एउटा साझा वेबसाइट बनाएर स्थानीय स्तरका सबै विषय सोही साइटमा राख्नु राम्रो हुन्छ । उनले सो वेबसाइटमा शिक्षा, स्वास्थ्य, कृषिजस्ता क्षेत्रमा स्थानीय स्तरमा भएका विकास तथा अवस्थाबारे जानकारी दिनु आवश्यक भएको बताए । ई-एजुकेशनको उद्देश्य विद्यालयमा कम्प्युटरको प्रयोग बढाउने र सोही प्रविधिको प्रयोगबाट शिक्षा दिनुरहेको छ । विद्यार्थीहरूलाई श्रव्य-दृश्यको माध्यमबाट अध्ययन गराउने काम अहिले भइरहेको छ । साथै, ई-एग्रिकल्चर अन्तर्गत इण्टरनेटको माध्यमबाट कृषिसम्बन्धी जानकारी दिइनुका साथै तरकारी खेती र बाख्रापालनबाट हुने फाइदाबारे बताउने र तरकारीको भाउ कहाँ कति छ भन्ने सूचना दिने जस्ता विषय समावेश गर्नु आवश्यक छ । त्यस्तै, ई-हेल्थअन्तर्गत इण्टरनेटको माध्यमबाट बिरामी उपचार गर्ने र स्वास्थ्यसम्बन्धी जानकारी दिइने व्यवस्था मिलाउन सके विकट क्षेत्रका जनतालाई सहज स्वास्थ्य सेवा प्राप्त गर्न सजिलो हुने सचिव पन्तको भनाइ छ ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...