सुनसरी-मोरङ औद्योगिक कोरिडोरका उद्योगहरु फेरी बन्द


विराटनगर, चैत्र ११ - चार वर्षसम्म उद्योग व्यवसाय क्षेत्रमा बन्द र हडताल नगर्ने सहमति भएको भोलिपल्टै सुनसरी-मोरङ औद्योगिक कोरिडोर क्षेत्रका उद्योग शुक्रबारबाट बन्द गरिएका छन् ।
आफूहरुलाई बेवास्ता गरी गरिएको सम्झौता मान्य नहुने भन्दै मधेसवादी दलसम्बद्ध मजदुर संगठनहरुले औद्योगिक क्षेत्र बन्द गराएका हुन् । बिहानैदेखि औद्योगिक कोरिडोर क्षेत्रमा घुमेर ती संगठनका कार्यकर्ताले उद्योग कारखाना बन्द गराएका थिए । कोरिडोर क्षेत्रमा ५ सयभन्दा बढी ठूला-साना उद्योगहरु छन् ।
मधेसी ट्रेड युनियन, युनियन फोरम नेपाल, स्वतन्त्र प्रजातान्त्रिक ट्रेड युनियन महासंघ, फोरम लोकतान्त्रिक र नेपाल प्रगतिशील ट्रेड युनियन महासंघ (फिनेप्ट) ले बन्द गराएका हुन् ।
स्वतन्त्र प्रजातान्त्रिक ट्रेड युनियन महासंघ, फोरम लोकतान्त्रिकको कारखाना सेक्टरका अध्यक्ष राजु मण्डलले आफूहरुलाई बेवास्ता गरेर गरिएको सम्झौता मान्य नभएकाले बन्द गरिएको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र तीन ठूला राजनीतिक दलसम्बद्ध ट्रेड युनियनबीच बिहीबार राजधानीमा भएको औद्योगिक क्षेत्रमा बन्द हडताल नगर्ने सहमतिको विरुद्धमा ती संगठनले बन्द गरेको जनाएका छन् ।
महत्वपूर्ण विषयमा निर्णय गर्दा पनि तीन दलसम्बद्ध ट्रेड युनियन र महासंघले आफूहरुलाई बेवास्ता गरेको मधेसवादी दलसम्बद्ध ट्रेड युनियनहरुले गुनासो गरेका छन् । आफूहरुको रोजगारीको ग्यारेन्टी हुनुपर्ने, महंगीअनुसार बेतन वृद्धि गरिनुपर्ने, स्थायी गरिनुपर्ने, सामाजिक सुधारका नाममा लिने गरिएको रकम फिर्ता गरिनुपर्ने लगायत माग ती संगठनहरुको छ ।
राजधानीमा भएको सहमतिमा आगामी चार वर्षसम्म उद्योग व्यवसाय क्षेत्रमा बन्द हडताल नगर्ने वाचा गर्दै रोजगारदाता र मजदुरले संयुक्त रुपमा औद्योगिक शान्ति वर्षघोषणा गरेका थिए । सहमतिमा न्यूनतम पारिश्रमिक वृद्धि गर्दै ११ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो ।
Via Source:- Ekantipur

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...