एमाले झापाको ताजा निर्णय


बिर्तामोड, १८ फागुन । नेकपा एमाले झापा जिल्ला कमिटिको आज बसेको बैठकले २१ फागुन र ८ मार्चलाई बिशेष महत्वका साथ मनाउने निर्णय गरेको छ । बैठकले पार्टीका केन्द्रीय अध्यक्ष झलनाथ खनाल मुलुकको ३४औं प्रधानमन्त्री निर्वाचित भई कार्यभार सम्हाल्नु भएकोमा विशेष धन्यवाद प्रस्ताव पारित गर्दै उहाँको कार्यकाल सफलतापूर्वक सम्पन्न होस् भन्ने कामना पनि गरेको छ । 
एमाले जिल्ला कमिटीका अध्यक्ष रविन कोइरालाको अध्यक्षतामा पार्टी जिल्ला कार्यालय बिर्तामोडमा आजदेखि शुरु भएको बैठकले २१ फागुनमा शहादत प्राप्त झापा आन्दोलनका शहीदहरु प्रति सम्मान जनाउँदै श्रद्धाञ्जलि अर्पण गर्ने निर्णय गरेको हो ।
पार्टी  सचिव तथा प्रचार विभाग प्रमुख पवित्रा निरौला खरेलका अनुसार फागुन २१ गते बिहान ९ बजे इलामको दानाबारी ३ मा अवस्थित सुखानी जंगलमा गएर शहादतप्राप्त शहीदहरुको प्रतिमामा माल्यार्पण गरिने छ भने दिउँसो ११ बजेदेखि शनिश्चरेको सालबारीस्थित शहीद पार्कमा श्रद्धाञ्जली सभा आयोजना गरिने छ । 
पर्टीको शनिश्चरे गाउँ कमिटीको ब्यवस्थापन तथा जिल्ला कमिटीको आयोजनामा हुने श्रद्धाञ्जलि सभामा विभिन्न आन्दोलनमा शहादतप्राप्त शहीदका परिवारलाई सम्मान गरिने कार्यक्रम रहेको जनाइएको छ । यसैगरी अन्तराष्ट्रिय नारी दिवस ८ मार्चको दिन जिल्लाका ७ वटै क्षेत्रमा बिशेष कार्यक्रमको आयोजना गरी भब्यतापूर्वक मनाइने निर्णय भएको छ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...