“म काम गर्न नसक्ने भएर फिर्नु पर्यो। ५ जनाको परिवार भएको घरमा ४ जना त वसेर खाने छौं । मेरी श्रीमतीले दैनिक वनिवुतो गरेर ल्याएको थोरै अन्न बाँडीचुँडी खाने गरेका छौं । अघाउने गरी खान अव पाइला जस्तो पनि लाग्न छाड्यो ।” झापाको दमक नगरपालिका वडा नं. १६ का ३५ बर्षीय भवानी धिमाल यस्तै कष्टपूर्ण दैनिकीको वेलिविस्तार लगाउँदै हुनुहुन्थ्यो । पेटमा एक वित्ता लामो डरलाग्दो घाउको खत देखाउँदै धिमालले आफु विदेश गएर पैसाको सट्टा शरीरभरि घाउका खत लिएर फिर्नु परेको गुनासो पोख्नुभयो ।
दायाँ खुट्टामा १ फुट लामो स्टिल लगाएको छ । गाउँमा मजदुरी गरेर दुखले जीवन गुजार्दै आउनु भएका धिमाल पैसा कमाउने वलियो अठोठका २०६४ साल वैशाखमा साउदी अरव जानु भएको थियो । काठमाण्डौको व्लु स्काई मेनपावर कम्पनीवाट ग्यारेजको कामका लागि भनेर विदेश गएका धिमालले त्यहाँ पुगेपछि कन्ट्रक्सनको कठिन काम गर्नु परेको वताउनु भयो ।
उहाँका अनुसार ११ महिनापछि कन्ट्रक्सनमा ड्रिल मेशिन चलाउनु परेको थियो । सोही काम गरिरहेको अवस्थमा पछाडिवाट गाडीले ठक्कर दिएको थियो । उक्त दुर्घटनापछि उहाँको टाउको, पेट, हातखुट्टा लगायत शरीरको कुनै पनि भाग सग्लो रहेन । साढे चार महिना उपचार गरेर उहाँ रित्तो हात घर फर्किनु भयो । कम्पनीको काममा दुर्घटना भइ सख्त घाइते हुँदासमेत उहाँले एक एक रुपैयाँ पनि क्षतिपूर्ति पाउन नसकेको वताउनु भयो । मेनपावर कम्पनीले पहल नगरिदिँदा आफ्नै पैसाले टिकट काटेर फर्किनु परेको थियो । त्यतिमात्र हैन मेनपावर कम्पनीले पनि जाँदा क्षतिपूर्ति नदिएको उहाँको गुनासो छ ।
![]() |
| Bhawani Dhimal |
वल्ल वल्ल चोटैचोटको शरीर लिएर घरमा आइपुगे पनि नियमित चेकजाँच तथा थप उपचारमा नै समस्या भएको छ । एक वर्षमा धिमालको खुट्टामा लगाएको स्टिल निकाल्न डाक्टरले सुझाव दिएका थिए तर आफूसँग नभएको र विदेशी कम्पनी र मेनपावरले समेत क्षतिपूर्ति वापतको रकम नदिएपछि खुट्टाको स्टील पनि निकाल्न सक्नु भएको छैन।
सयकडा तीन र चार रुपैयाँ मासिक व्याजमा ८५ हजार ऋण लिएर वैदेशीक रोजगारमा गएका धिमाल अहिले जीवनको अत्यन्त कठिन अवस्थामा हुनुहुन्छ । उपचारमा समस्या त छँदैछ, दैनिक छाक टार्न पनि त्यति नै गाह्रो छ ।
धिमाल जस्तै सोही स्थानका ३६ वर्षीय भोजराज उप्रेतीको पनि हालत त्यस्तै छ । १ लाख १० हजार रुपैयाँ खर्चेर २०६३ सालमा मलेशिया जानु भएका उप्रेती अहिले काम गर्न नसक्ने अवस्थामा हुनुहुन्छ । जग्गा जमिन केही नभएका उप्रेती ऋण लिएर मलेशिया जानु भएको थियो । काठमाण्डौस्थित डल्फिन मेनपावर कम्पनीवाट मलेशियाको केएफसी कम्पनीमा भनेर पठाएको उहाँको भनाई छ । यहाँवाट कम्पनीमा भने पनि त्यहाँ कम्पनीले नभइ एक पाकिस्तानी एजेण्टले जिम्मा लिएर ११ महिनासम्म विभिन्न कम्पनीमा काम लगायो । ६ सय ५० रिङ्गेट मासिक तलव भने पनि एजेण्टले ३ सयमात्र दिएर काम लगाएको थियो ।
त्यहाँको कानुन अनुसार गएको १ वर्षभित्रमा भिसा लगाई सक्नु पर्ने भएपनि एजेण्टले भिसा नलगाई काम लगाएर राख्यो । भिसाको म्याद सकिँदासम्म गैह्र कनुनी रुपमा नै काम गर्न लगायो । यसरी काम गर्दा गर्दै प्रहरीले पक्राउ गरी ५ महिना आधा खान दिएर जेलमा राख्यो । जेलभित्र चिसो सिमेण्टको भुइँमा नाङ्गै वस्नु परेकाले त्यहीँ विरामी परेको उहाँले बताउनु भयो । पैसा कमाउन गएका उप्रेती पैसाको सट्टा असक्त शरीर लिएर फर्कनु भयो ।



No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...