प्रसारणमा देखिएको समस्या केही दिनमै समाधान हुन्छ : अध्यक्ष
डाइरेक्ट टु होम (डीटीएच) सेवाप्रदायक कम्पनी डिस टिभी र होम टिभी प्रालि मर्ज भइसकेपछि एउटै स्याटेलाइटबाट च्यानल प्रसारण हुने भएको छ । एउटै कम्पनीले दुईवटा स्याटेलाइट प्रयोगमा ल्याउनु आवश्यक नभएको भन्दै डिस–होमले भैंसीपाटीस्थित अर्थस्टेसनबाट सेवा दिने भएको हो । कम्पनीले एउटै स्याटेलाइटमा रुपान्तरण गर्न लागेकाले करिब १५ दिनयता सेवामा समस्या देखिएको छ ।
सुरुमा भिन्दाभिन्दै अर्थस्टेसनबाट सेवा लिएका ग्राहकले अब एउटै अर्थस्टेसनबाट सेवा पाउने भएका छन् । “दुईवटा अर्थस्टेसन राख्दा धेरै आर्थिक भार पर्छ,” डिस–होम प्रालिका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले भने, “एउटै कम्पनीका लागि दुईवटा आवश्यक छैन, त्यसैले बिस्तारै दरबारमार्गको अर्थस्टेसन बन्द गरी भैंसीपाटीबाट मात्रै सेवा दिन लागेका छौं ।” उनका अनुसार ग्राहकले एम्पेग–४ प्रविधिमा आधारित सेवा पाउँछन् ।होम टिभीले भैंसीपाटी र डिस टिभीले दरबारमार्गबाट च्यानल प्रसारण गरेका थिए । अब डिस–होमले ‘रिसिभिङ लुक एंगल’ ६४.२ डिग्रीबाट सेवा दिनेछ । यसअघि डिस टिभीले ५०ं डिग्री एंगल बनाई स्याटेलाइट राखेको थियो । डीटीएच सेवाका लागि ४५ डिग्रीभन्दा माथिको लुक एंगल राम्रो मानिने प्राविधिकहरूले बताएका छन् । जति लुक एंगल कम भयो, त्यति नै होचो भवन वा अन्य चिजले असर पार्छ ।
पछिल्लो समय टेलिभिजनको पर्दामा एकपछि अर्को च्यालन परिवर्तन हुँदा समय लाग्ने, सेटिङ गरिएको स्थानमा अन्य च्यानल आउने र तस्बिरको गुणस्तर कम हुँदै जाने समस्या देखिएको सीतापाइलाका डीटीएच प्रयोगकर्ता मनोज श्रेष्ठले कारोबारलाई बताए । “मैले होम टिभीबाट लिएको हो, पहिला छिटो चल्थ्यो, अहिले धेरै कम गतिमा चल्छ,” उनले भने, “शुल्क तिरेर पनि राम्रो सेवा पाउन सकिएन ।”
डिसले ७२ मेघाहर्ज स्यास्टेलाइट स्पेस लिएको छ । यसबाट ८० वटासम्म गुणस्तरीय च्यानल देखाउन सकिन्छ । ७० च्यानलका लागि ८ हजार ५ सय ४५ (भ्याटसहित) रुपैयाँ शुल्क तय गरिएको छ । कम्पनीले उपभोक्तालाई मासिक किस्ताबन्दीमा सेवा उपलब्ध गराएको छ । सुरूमा नगद २ हजार तिरेपछि मासिक ४ सय ५० रुपैयाँ दुई वर्षसम्म तिर्नुपर्छ ।
डीटीएच सेवा सञ्चालनका लागि प्रसारण अनुमतिपत्र र अर्थस्टेसनको अनुमति सूचना तथा सञ्चार मन्त्रालयले दिने गरेको छ । प्रसारण इजाजत अनुमतिपत्रका लागि २५ हजार रुपैयाँ र अर्थस्टेसन लाइसेन्सका लागि १ लाख रुपैयाँ प्रतिच्यानल धरौटी राख्नुपर्छ ।
ठूलो लगानीमा भित्रिएका यी दुई कम्पनीले अहिले डिस–होम ब्रान्डको नाममा सेवा विस्तार गरेका छन् । एउटै व्यक्तिले धेरै डीटीएच सेवा लिएमा विशेष छुटको व्यवस्था गरिएको समेत कम्पनीले जनाएको छ ।
नेपाली डीटीएच बजारमा आए पनि ग्रामीण क्षेत्रसम्म पर्याप्त बजारीकरण हुनले पनि अवैध डीटीएचले स्थान लिएका छन् । अवैध रूपमा सञ्चालमा आएका डीटीएचले बर्सेनि अर्बाैं रुपैयाँ राजस्व छली गरी आफूखुसी च्यानल प्रसारण गरिरहेका छन् ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...