पवन अधिकारी
इटहरी, १० चैत
पूर्वी नेपालका विभिन्न ठाउँमा अवैध रूपमा पेस्तोल प्रयोग गर्नेहरूको संख्या बढ्दै गएको छ । भारतसँगको खुला सिमानाका कारण त्यहाँबाट सजिलै पेस्तोलको किनबेच हुने गरेको छ । दुई देशबीचको सिमानामा स्थानीय प्रशासनले कडाइ नगरेका कारण सजिलै पेस्तोलको किनबेच हुने गरेको हो ।
पछिल्लो समयमा सुनसरी, मोरङ, झापालगायतका पूर्वका जिल्लामा पेस्तोल प्रयोग गर्नेहरूको संख्या बढदै गएको छ । सुनसरीका प्रहरी प्रमुख भुपालकुमार भण्डारीले पनि दुई देशबीच खुला सिमाना भएका कारण पेस्तोल प्रयोग गर्नेको संख्या बढ्दै गएको बताएका छन् । उनका अनुसार पेस्तोल प्रयोग गरेर अपराध गर्नेहरूको संख्या बढ्न थालेकाले राजमार्गमा विशेष गस्ती परिचालन गर्न थालिएको छ । सुनसरीको इटहरी, तरहरा, पकली, सोनापुरमा मात्रै महिनायता झन्डै आधा दर्जनभन्दा बढी पेस्तोल तथा व्यक्तिहरू पक्राउ गरेको उनले बताए । भारतमा दुई हजार रुपैयाँमा नै पेस्तोल किन्न पाइने गरेका कारण पूर्वमा पेस्तोल प्रयोगकर्ताहरू बढ्दै गएको बताइएको छ । पछिल्लो समयमा युवाहरूले बढी मात्रामा कटुवा पेस्तोल प्रयोग गर्ने पनि बताइएको छ । युवाहरूले यसरी भारतबाट किनेर ल्याउने गरेको पेस्तोलका कारण पूर्वमा अहिले अपराध बढ्दै गएको बताइएको छ । केही समययता सुनसरीमा पेस्तोल प्रयोग गर्नेलाई प्रहरीले पक्राउ गरेर स्थानीय प्रशासनलाई बुझाउने गरे पनि उनीहरू सामान्य धरौटी तिरेर नै रिहा भइहाल्ने गरेका कारण यस्ता पेस्तोल प्रयोगकर्ताको मनोबल बढ्दै गएको छ ।
सुनसरीको सोनापुरबाट प्रहरीले सोमबार चेकजाँचका क्रममा एक थान कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दुहबीबाट गएको प्रहरीको टोलीले सोनापुरबाट दुहबी-५ का सुनिलकुमार लामिछाने र दुहबी(४ का जोगिश्वर शाहलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय दुहबीमा राखेर अनुसन्धान थालिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक भुपालकुमार भण्डारीका अनुसार प्रहरी चेकजाँचका क्रममा उनीहरू पक्राउ परेका हुन् । उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली र एउटा मोटरसाइकलसमेत प्रहरीले पक्राउ गरेको प्रहरी प्रमुख भण्डारीले बताए ।
पछिल्लो समयमा सुनसरी मोरङ औद्योगिक करिडोर क्षेत्रअर्न्तर्गतका उद्योग हरूमा तराइमा सशस्त्र संघर्षरत पार्टीले मोटो रकम चन्दा माग्ने गरेको तर चन्दा दिन नमानेपछि उनीहरूले विभिन्न आपराधिक घटना घटाउने उद्देश्यले बम राख्ने गरेको बताइएको छ ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...