पथरी/ मोरङको उर्लाबारी मङ्गलबारेका चार परिवारले दूधबाट राम्रो आम्दानी गरी आर्थिक गर्जो टारिरहेका छन् । पुर्खौलीरुपमा भैंसी पाल्दै आएका यहाँका मस्तक खान, ताहिर खान, इन्ताज अन्सारी र कासिन खानले दूध बेचेरै जीविकोपार्जन गर्ने गरेका हुन् । उनीहरुका गोठमा बाहै्र महिना दुहुना हुन्छन् ।
उनीहरुले यहाँ आएर पशुपालन गरेको पाँच वर्ष भयो । यसअघि सुनसरीको मधुवन–५ मा भैंसी पाल्थे । कासिन खानको तीन माउ दुहुना भंैसीले दैनिक १५ लिटर दूध दिन्छन् । दूधलाई प्रत्येक दिन पथरी, उर्लाबारी, मङ्गलबारेको चिया पसलहरुमा बेच्ने गरेको खान बताउँछन् । पसलले २० देखि ३० रुपैयाँ प्रतिलिटर मूल्य दिने गर्छन् । परिश्रम गरे पनि राम्रो मूल्य नपाएको कासिनको दुखेसो छ । दूधबाट उनीहरुको वार्षिक १ लाखभन्दा बढी रकम आम्दानी हुनेगर्छ ।इन्ताज अन्सारीको ७ माउ दुहुना भैंसी छन् । व्यवसाय नै त्यही भएकोले उनी पूरै समय दुहुनो भैंसीलाई खर्चने गर्छन् । उनीहरुसँग खेतीको रुपमा एक टुक्रा जमिन पनि नभएकाले यसै पेसालाई मुख्य आयस्रोतको रुपमा लिएका छन् ।
तीन माउ दुहुनो भैंसीका मालिक ताहिर खानको दिनचर्या पनि भैसी गोठमै बित्छ । चार परिवारले पालेको दुहुनो भैंसी र पाडोको हुल देख्दा पशुको हाटजस्तै देखिन्छ । उनीहरुले पश्चिम सिराहा र सुनसरीबाट मुर्रा, सरी, दोग्ला गरेर तीन जातका दुधालु भैंसी ल्याएका हुन् । यहाँ पूर्वको काँकडभिट्टा, भद्रपुर, दमकदेखि दुहुनो भैसी किन्न आउने गरेका छन् । एउटा भंैसी ८० हजारदेखि १ लाख २० हजार रुपैयाँसम्म बेच्ने गरेको अनुभव सुनाउँछन् अन्सारी । उनका अनुसार राम्रो दुहुनो भैंसीले बिहान साँझ गरेर १० देखि १२ लिटरसम्म दूध दिन्छ ।
उनीहरुले बिहान, दिउँसो, साँझ परालको कुटी काटेर दानासँग मिसाएर खुवाउँछन्। वार्षिकरुपमा एक परिवारबराबर एक लाख रुपैयाँबराबरको पराल किन्ने गरेका छन् । प्रतिबोरा ११ सयका दरले १ सय १४ बोरा दाना वार्षिकरुपमा खर्च हुने उनीहरु बताउँछन् ।
६० फुट लम्बाई, १८ फुट चौडाइ भएको दुईवटा टहरा र करिब ५ कठ्ठा क्षेत्रफलमा परिवारसहित बस्दै आएका खान र अन्सारीको छोराछोरी पथरी–९ स्थित सरस्वती प्राविमा अध्ययनरत् छन् । उनीहरुको परिवारमा दूध खानको लागि कहिल्यै खाँचो हुँदैन । बिक्रीभन्दा अगाडि नै दुहुनो भैंसी गोठमा ल्याइसकिन्छ ।
श्रीमतीहरु परालको कुटी काट्ने र गोबरको गुइँठा बनाउने गर्छन् । पथरी, उर्लाबारी संयुक्त पशु बजार हाट र मङ्गलबारे बजारमा प्रत्येक साताको मङ्गलबार पशु बजार लाग्दछ । बजारले बनाएको टहरामा बसेवापत् उनीहरुले दुहुनो भैंसी बेचेको सयकडा दुई प्रतिशतले बजार व्यवस्थापनलाई कर बुझाउने गरेको बजार व्यवस्थापन समितिका सचिव रत्नबहादुर बस्नेतले बताए ।
Via Source:- Blast [dot] com [dot] np

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...