घरमा प्रयोग हुने बाँसका विभिन्न कलात्मक सामग्री बनाएर पाँचथर सदरमुकाम फिदिमका एक व्यवसायी रञ्जहाङ जबेगू मासिक ३० हजार रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन् । फिदिमको चारखम्बेमा धुव्रतारा बाँस फर्निचर उद्योग छ उनको । यही उद्योगबाट मासिक ३० हजार रुपैयाँ भन्दा बढी आम्दानी गर्न थालेपछि अहिले धेरैका लागि उदाहरण बनेका छन् । विगत ७ वर्षदेखि निरन्तर यस व्यवसयमा लागेका उनलाई मागअनुसार सामान पुर्याउन हम्मे छ । 'अर्डरको चाप निक्कै छ । काठभन्दा सस्तो भएकाले पनि यस्ता सामानको माग बढेको हो,' उनले भने ।
उद्योगका उनी एक्लो सदस्य हुन् । 'अरू कामदार राख्दा सामानको गुणस्तर खस्किएला भन्ने डर छ,' उनी भन्छन् । आफ्नो पहिलो कर्तव्य ग्राहकलाई राम्रो सामान दिनु ठान्छन् । 'सस्तो मूल्यमा राम्रो सामान पाइने भएर यहाँ आउने गरेकी छु,' ध्रुवतारा बाँस फर्निचर उद्योग पुगेकी स्थानीय बासिन्दा पवित्रा कटुवालले भनिन् 'जबेगूले बनाएको टीभी शोकेस २ हजार २ सय रुपैयाँमा खरीद गरेँ । त्यस्तै खालको काठको शोकेसको मूल्य न्यूनतम ८ हजार रुपैयाँ पर्छ ।
जबेगू एक्लैको आम्दानीले पाँच जनाको परिवारको गुजारा चलेको छ । उनले केही युवालाई बाँसका सामग्री बनाउने तालीम पनि दिएका छन् । उनीहरूले गाउँमा यस्तै उद्योग खोलेको जबेगू बताउँछन् । उनको उद्योगबाट उत्पादित सामग्री पाँचथरका विभिन्न गाँउदेखि झापा, इलाम ताप्लेजुङ र तेह्रथुमका विभिन्न बजारसम्म जाने गरेको छ ।
२०१५ सालमा पाँचथरको याङनाममा जन्मिएका जबेगूले कुनै तालीमविना नै बाँसका सामग्री बनाउन थालेका हुन् । पहिले काठको काम गर्ने उनी बाँसप्रतिको मोहले यो काम सिकेको बताउँछन् । आफ्नो उद्योगका लागि आवश्यक पर्ने बाँस उनले जिल्लाकै भारपा गविसबाट ल्याउने गरेका छन् । एक ट्रयाक्टर बाँसको ७ हजार रुपैयाँ पर्ने उनले बताए ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...