सुखानीका सहिद कसका ?

चेतन अधिकारी
'झापा विद्रोह र सुखानीका सहिदहरूको मूल्य र मान्यतालाई स्थ्ाापित गर्ने माओवादीभन्दा अर्को पार्टी छैन । जहाँसम्म एमालेको कुरा छ, उसले त झापा विद्रोहको मूल्यलाई त्यागेको वर्षौर्ं भइसक्यो', २१ फागुनमा झापा विद्राेहका पाँच योद्धालाई हत्या गरिएको स्थान इलाम र झापाको सीमाको सुखानी जंगलमा आयोजित श्रद्धाञ्जली सभामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल गर्जिए ।
जनयुद्ध सुरु गर्दाका बखत ०५२ सालमा गोर्खाका स्कुले विद्यार्थी दिलबहादुर रम्तेललाई प्रहरीले हत्या गरेको फागुन १४ देखि ०२९ साल फागुन २१ गते झापा विद्राेहका पाँचजना नायकहरूलाई जेल सार्ने बहानामा सुखानीको जंगलमा हत्या गरिएको सम्झनामा माओवादीले सहिद सप्ताह मनाएको थियो । समापनको दिन सुखानीको जंगलमा झापा, मोरङ, सुनसरी र इलामदेखिका सर्वसाधारण र कार्यकर्ताको ठूलो संख्याको उपस्थितिले हौसिएका दाहालले थपे, 'सुखानीको ३८ वर्षे इतिहासमा आजसम्म श्रद्धाञ्जली गर्न यो भूमिमा कहिले पनि यति ठूलो जनमानस आएको थिएन । तर आज माओवादीको यो विशाल उपस्थितिले सुखानीका सहिद माओवादीका हुन् भन्ने मान्यतालाई अनुमोदन गरेको छ ।'
तत्कालीन मेची-कोशी कोअर्डिनेसन कमिटीबाट विद्रोह गरेर बनेको कोअर्डिनेसन कमिटी, झापाले 'वर्गशत्रु खतम अभियान' र तत्कालीन पञ्चायती दमनको विरुद्ध मोर्चाबन्दी गरेको आरोपमा पक्राउ परेका पाँचजना योद्धालाई झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने बहानामा सुखानीको जंगलमा लगेर हत्या गरिएको थियो । ती योद्धाहरू नेत्र घिमिरे, रामनाथ दाहाल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र कृष्ण कुइँकेल थिए । नेकपा एमाले वैकल्पिक पोलिटब्युरो सदस्य एवं झापा आन्दोलनका एक अभियन्ता नरेश खरेल सम्झन्छन्, 'उहाँहरूलाई प्रहरीले फागुन २१ गते राति हत्या गर्‍यो । हामीले बिहान धुलाबारीमा तत्कालीन मालेका सचिव सीपी मैनालीको अध्यक्षतामा बसेको बैठकले सहिद घोषणा गरेका हौं ।'
शान्ति प्रक्रियामा आएपछि माओवादी सुखानीको सेन्टिमेन्ट आफूतिर तान्ने प्रयास गरेको छ ।  सुरुमा सुखानी नामको साप्ताहिक र केही समयपछि मासिक पत्रिका निकालेको छ । त्यसो त पञ्चायतकालमै भएको अर्को ठूलो हत्याकाण्ड धनकुटाको छिन्ताङका र झापाको सुखानी मिलाएर द्वन्द्वकालमै माओवादीले छिन्ताङ-सुखानी स्मृति बिग्रेड नामको लडाकु दस्ता पनि बनाएको थियो । सहिद सबैका साझा भए पनि सुखानीका सहिदको सच्चा उत्तराधिकारी माओवादीले आफूमात्र भएको दाबी गर्नथालेको छ । केही दिनअघि सहिद सप्ताह मनाउनकै लागि दमक आएका माओवादी केन्द्रीय सदस्य गंगा श्रेष्ठले एक स्थानीय एफएमसँगको अन्तर्वार्तामा भने, 'सुखानीका सहिदहरूले देखाएको बाटो एमालेले उहिल्यै नै भुलिसक्योे । सुखानीका सहिदको स्पिरिटलाई माओवादीबाहेक कसैले पनि बोक्न सक्दैन्ा । त्यसकारण सुखानीका सहिद हाम्रा हुन् ।'
माओवादी झापाका इन्चार्ज ज्योतिसिंह दर्लामीको दाबी छ, झापा विद्रोहको विकसित रूप नै १० वर्षे जनयुद्ध थियो । सुखानी हत्याकाण्डसँगै त्यागिएको विद्रोहको विचारलाई अहिले एमालेले आफ्नो विचार हो भन्नु हास्यास्पद हो  । उनी थप्छन्, 'सुखानीका सहिदको विचारलाई माओवादीले बोकेको छ । एमालेलाई सुखानीका सहिद हाम्रा भन्ने कुनै हक बाँकी छैन ।' दुवै पार्टीले आ-आफ्नै प्रतिष्ठासँग सुखानीलाई गाँस्नथालेपछि माओवादीले अध्यक्ष पुष्पकमल दाहाललाई प्रमुख अतिथि बनाएर सुखानीकै जंगलमा २१ गते सहिद दिवस मनाउने सूचना स्थानीय पत्रिका र एफएमहरूमा छरेको छ । यो सूचनासँगै एमाले मेची अञ्चल कमिटीले फागुन १६ गते र एमाले झापाले १८ गते निर्णय गरेर सुखानी सहिद दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ । एमाले जिल्ला कमिटीले सुखानीका सहिदहरूको सालिक भएका ठाउँहरूमा स्थानीय कमिटीहरूलाई सहिद दिवस मनाउन निर्देशनसमेत जारी गरेको छ । सुखानीका सहिदको सालिक झापाको गरामनीमा पनि छ । 
यता एमालेकै कार्यकर्ताहरूले सञ्चालन गरेको सुखानी स्मृति प्रतिष्ठानले पनि २१ गते नै सुखानी गएर श्रद्धाञ्जली व्यक्त गर्ने अनि सालबाडीमा आएर त्यहाँ बनाइएको सहिद पार्कमा अन्तरक्रिया गर्ने कार्यक्रम राखेको छ । सोही दिन माओवादी अध्यक्ष दाहाल एउटै प्रयोजनको कार्यक्रम लिएर आउने भएपछि आफूहरू ओझेलमा पर्ने देखेपछि बिहीबार अबेर एमालेको सुखानी प्रतिष्ठानले आफ्नो पूर्वनिर्धारित कार्यक्रम भोलिपल्टका लागि सारेको छ । सुखानीका सहिदका विषयमा भएका तँछाड-मछाड अहिलेमात्र देखिएको होइन । विगतमा एमालेबाट फुटेर गएको मालेका पालामा पनि यस्तै हुन्थ्यो । त्यतिबेला केपी ओली पहिले कि सीपी मैनाली पहिले श्रद्धाञ्जली दिन सुखानी पुग्ने भनेर प्रतिस्पर्धा हुन्थ्यो । त्यसबेला सुखानी दिवस मनाउने क्रममा एमाले र मालेका  कार्यकर्ताहरूको भिडन्त रोक्न धौधौ नै पथ्र्यो । 
खासमा वर्गशत्रु खतम अभियान लिएर सुरु भएको झापा विद्रोहको पहिलो कारबाही २०२८ साल जेठ २ गते रामनाथ दाहालको नेतृत्वमा  झापा ज्यामिरगढीका एक जमिनदारको हत्या गरिएको थियो । यसलाई झापा विद्रोहको पहिलो कारबाही मानिएको एमाले वैकल्पिक पोलिटब्युरो सदस्य खरेल बताउँछन् । मेची-कोशी कोअर्डिनेसन कमिटीबाट फुटेर आएका केही जोशिला युवाहरूले सुरु गरेको सशस्त्र विद्रोह ठीक थियो कि थिएन भनेर अहिलेसम्म विभिन्न ठाउँमा बहस हुने गरेका छन् । 'त्यतिबेलै सशस्त्र विद्रोह ठीक छैन भनेर हतियार बिसाएको हो', एक पुराना एमाले कार्यकर्ता भन्छन्, 'तत्कालीन मालेले हतियार बिसाएको २४ वर्षपछि त्यसैको नक्कल गरेको माओवादीले सुखानीका सहिदको स्पिरिट हामीसँग छ भन्नु हास्यास्पद छ ।'
सहिदहरूलाई आफ्ना भनेर सालिकमा फूलमाला गर्न मरिहत्ते गर्ने दुवै पार्टीका नेताले भावना बुझेको भए सायद झापा विद्रोहका सहयोगी डिगेन राजवंशीले एमाले कायर्ालय र छोरोले आत्महत्या गर्नुपर्ने परिस्थिति निम्तिने थिएन । सहिदलाई आफ्ना पार्न माओवादीले गरेको यो अर्घेल्याइँको पनि उपलब्धि खासै देखिँदैन । किनभने आफंैले सञ्चालन गरेको जनयुद्धका झन्डै साढे १० हजार सहिद र तिनका मार्गदर्शनबाट च्युत हुँदै उनका परिवारबाट उपेक्षित भइरहेको माओवादीले ०२८ सालको झापा विद्रोहका सहिदलाई आफ्नो भनेर हतारो गर्नुको कारण के होला ?
Via Source:- Ekantipur

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...