जीएसएम मोबाइल सेवामा टेलिकम र एनसेलबीच प्रतिस्पर्धा


दुई ठूला दूरसञ्चार सेवा प्रदायक कम्पनीबीच ग्लोबल सिस्टम मोबाइल (जीएसएम) सेवामा चर्का  प्रतिस्पर्धा देखिएको छ । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी लिमिटेड (टेलिकम) र निजीस्तरको ठूलो सेवा प्रदायक एनसेल प्रालिबीच जीएसएम दोस्रो पुस्ता (टुजी) र तेस्रो पुस्ता (थ्रिजी)मा प्रतिस्पर्धा बढेको हो ।
टेलिकम र एनसेलको जीएसएम सेवामा ग्राहकको संख्या बराबरी अवस्थामा पुग्न लागेको छ । एनसेलका अनुसार गएको माघ अन्त्यसम्ममा झन्डै ४६ लाख ग्राहक संख्या पुगेको छ । टेलिकमका जीएसएम ग्राहक ४८ लाख पुगेको कम्पनीले जनाएको छ ।
टेलिकमले पुस मसान्तसम्म ४७ लाख ६७ हजारले जीएसएम सेवा लिएको जानकारी गराएको थियो । गत वर्षको यसै समयमा टेलिकमका जीएसएम ग्राहक ३४ लाख ८३ हजार थिए भने एनसेलका २२ लाखमात्र थिए ।
गत वर्ष यी दुई सेवा प्रदायकबीच १२ लाखको अन्तर रहे पनि एक वर्षको अवधिमा करिब डेढ लाखबराबरको दूरीमात्र बाँकी छ ।
यसले एनसेलको ग्राहक संख्या अझ तीव्र रूपमा बढेको स्पष्ट गर्छ । कम्पनीको मुख्य उद्देश्य र उपलब्धि नै गुणस्तरीय सेवा भएको एनसेलकी कम्युनिकेसन म्यानेजर सञ्जु कोइराला बताउँछिन् । “गुणस्तरीय सेवाबाट ग्राहकलाई सन्तुष्ट पार्नु पहिलो प्राथमिकता हो,” उनले भनिन्, “ग्राहक संख्यामा भएको उल्लेख्य वृद्धि यसैको उदाहरण हो ।”
प्रतिस्पर्धी कम्पनी एनसेलको तुलनामा टेलिकमको बजारीकरण कमजोर रहेको सम्बद्ध विज्ञहरू बताउँछन् । “एनसेलको बजारीकरण पद्धति हेर्दा छिट्टै नै टेलिकमलाई उछिन्न सक्ने लक्षण देखिएको छ,” नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भेषराज कँडेलले भने । यी दुईबीचको प्रतिस्पर्धाले कम मूल्यमा गुणस्तरीय सेवा पाउन ग्राहकलाई सहयोग पुग्ने उनले बताए ।
एनसेलले चालू आर्थिक वर्षको अन्त्यसम्ममा देशका सबै जिल्लामा जीएसएम सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । टेलिकमको मोबाइल सेवा पनि सबै जिल्लामा पुग्न सकेको छैन ।
दुवै कम्पनीले जीएसएम सेवातर्फ टुजी र थ्रिजीमा प्रिपेड र पोस्टपेड सेवा दिएका छन् । विद्यार्थी, साथी, परिवार र व्यापारिक समूहका छुट्टाछुट्टै समूहलाई आकर्षित गर्न छुट्टाछुट्टै स्किम ल्याइएको छ । कर्पोरेट  समूहको ध्यानाकर्षण गर्ने र धेरैभन्दा धेरैलाई आफ्नो कम्पनीको ग्राहक बनाउने विषयमा दुवै कम्पनी चनाखो देखिएका छन् ।
एनसेलले आफ्ना ग्राहकलाई जति धेरै पुरानो समयसम्म सिम प्रयोग गर्दै गयो त्यस आधारमा बोनस थप्ने व्यवस्था गरेको छ ।
पछिल्लो समयमा थ्रिजी सेवाप्रति ग्राहकको चासो उल्लेख्य मात्रामा बढेको छ । जीएसएम प्रविधिको यो सेवा विषेश गरी भिडियो कल, हाई स्पिडमा डाटा डाउनलोड, मल्टिमिडिया म्यासेज(एमएमएस) टेलिभिजन र इन्टरनेटका प्रयोगकर्ताका लागि उपयुक्त मानिएको छ ।
एनसेलले कर्पाेरेट सेवाअन्तर्गत करबाहेक ६० पैसा प्रतिकलमा कर्पाेरेट गु्रपभित्र फोन गर्न सकिने व्यवस्था गरेको छ । टेलिकमले पनि ५५ पैसा प्रतिकलमा यो सेवा दिएको छ । 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...