तीव्र विरोधकाबीच विधानसभा निर्वाचनको तयारीमा


सिलिगुडी फाल्गुन १९ – सत्तारुढ माक्र्सवादी कम्युनिष्ट पार्टीको तीव्र विरोधका वावजुद दार्जिलिङमा राज्य विधानसभा निर्वाचनको मिति तय गरिएको छ ।

केन्द्रीय चुनाव आयोगले दार्जिलिङसहित पश्चिम वंगालका ६ जिल्लामा आगामी वैशाख ५ गते ६ चरणमा चुनाव सम्पन्न गर्ने घोषणा गरेको छ । दार्जिलिङमा तत्काल चुनावको स्थिति नभएको बताउदै आएको माक्र्सवादी निर्वाचनको विरोधमा उभिएको छ  । ‘पहाडमा चुनावी परिस्थिति नै छैन’, सिलिगुडीका विधायक अशोक भट्टाचार्यले भने,‘पहाडमा अहिले चुनाव गरिनु तनाव निम्त्याउनु मात्रै हो ।’  भट्टाचार्यले दार्जिलिङ र डुवर्सको स्थिति अझै गम्भीर रहेको बताउदै निर्वाचन नगराउन आयोगलाई यस अघि नै आग्रह गरेको थियो । तर, आयोगको एक प्रतिनिधि मण्डलले दार्जिलिङको हालैको भ्रमणमा निर्वाचनको सम्भावना देखिएको बताएको थियो । 
दार्जिलिङलगायत नेपालीभाषि वाहुल्य क्षेत्रमा माक्र्सवादीले पछिल्लो समय जनाधार गुमाउदै गएको छ । आफ्नो पार्टी पराजित वन्न सक्ने त्रासका कारण माक्र्सवादी चुनावदेखि डराइरहेको बताइएको छ  । मोर्चाका प्रचार सचिव हर्क क्षेत्री भन्छन्,‘आफ्नो पराजय निश्चित भएपछि माक्र्सवादी पार्टी चुनावदेखि डराएको हो ।’  क्षेत्रीका अनुसार पछिल्लो समय जलपाइगुडीको सिप्सुमा भएको गोली काण्डका कारण माक्र्सवादी सर्वत्र आलोचित बनेको छ । 
मुख्य निर्वाचन आयुक्त एसवाई कुरैसीले बताए अनुसार दार्जिलिङसहित कोचविहार, जलपाइगुडी, उत्तर र दक्षिण दिनाजपुर तथा माल्दामा एकै समयमा निर्वाचन हुदै छ । उत्तर र दक्षिण दिनाजपुर माओवादी प्रभावित क्षेत्र मानिन्छ । यस क्षेत्रमा कडा सुरक्षा सहित चुनाव गराइने जनाइएको छ । राज्य विधानसभाको कुल २ सय ९४ सिटमध्ये वंगालका ६ जिल्लामा ५४ सिटका लागि निर्वाचन हुदै छ । पश्चिम वंगालमा मात्रै नेपालको जनसंख्याको दोव्वर मतदाता छन् । दार्जिलिङमा भारतीय जनता पार्टी, माक्र्सवादी कम्युनिष्ट पार्टी, क्रान्तिकारी माक्र्सवादी कम्युनिष्ट पार्टी, अखिल भारत गोर्खा लिग, त्रिणमुल कंग्रेसलगायतका पार्टीले निर्वाचनमा भाग लिने जनाइएको छ । छुट्टै गोर्खाल्याण्डका लागि आन्दोलित गोर्खा जनमुक्ति मोर्चाले निर्वाचनवारे निर्णय गरिसकेको छैन । दार्जिलिङमा यस पटक ममता वेनर्जी नेतृत्वको त्रिणमुल कंग्रेसको पटक राम्रो देखिएको छ । केही महिना अघि दार्जिलिङको भ्रमण गरेकी वेनर्जीले हालै जारी रेल वजेटमा दार्जिलिङलाई विशेष योजनासहत प्राथमिकतामा राखेकी छन् । उनले सिलिगुडी नजिकको सेवोकदेखि कालिम्पोङसम्म जोड्ने रेल मार्गको विस्तार गर्ने, दार्जिलिङमा सफ्टवेयर कारखानाको निर्माण गर्ने र खर्साङमा नसिङ कलेजको स्थापना गर्ने वजेटमार्फत उल्लेख गरेकी छन् ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...