गर्मीयाम बढेसंगै सर्पको विगविगी


हिमाल आचार्य
गर्मीयाम बढेसंगै नेपालको पूूर्वी तराईमा सर्पको विगविगी सुरु भएको छ । सर्पको विगविगी बढेपछि सर्पको डसाईको क्रम पनि बढेको सर्पदंश उपचार केन्द्र चारआलीले जनाएको छ ।
विशेष गरी माघ महिनादेखि बैशाख सम्म सर्पदंसाका लागि उपचार केन्द्रमा आउने विरामीको संख्या वृद्धि हुने गरेको छ ।केन्द्रमा यस वर्षको माघ र फागुनमा मात्र ३५ भन्दाबढीले सर्पदंशको उपचार गराईसकेका छन । उक्त संख्यामा फागुनको यो अवधि सम्ममा २० भन्दा बढी रहेको बताइन्छ । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा १६ भन्दा बढी रहेको सर्पदंश उपचार केन्द्र चारआलीका व्यवस्थापन समिति सदस्य माधव घिमिरेले बताउनुभयो । गत वर्षको सोही अवधिमा उपचार गराउनेको संख्या १९ रहेको थियो । 
त्यसैगरी केन्द्रमा यस वर्षको गत माघ महिनासम्ममा १ हजार ३ सय १० जनाले सर्पदंशको उपचार गराएका छन ।गत वर्ष यो संख्या १ हजार २ सय १९ रहेको थियो । केन्द्रका अनुसार यो संख्या वार्षिक रुपमा बढदै गईरहेको छ । तर सर्पको डसाइबाट मृत्यू हुनेको संख्यामा भने अघिल्लो वर्षको तुलनामा यो वर्ष कमी आएको छ । गत वर्षको उक्त अवधिमा ६ जनाको मृत्यू भएको थियो भने यो वर्ष भने त्यो संख्या ४ मा झरेको छ । 
केन्द्रमा नेपालको मेची अञ्चलका चार जिल्ला लगायत भारतको विहार, पश्चिम बङ्गालका विभिन्न क्षेत्रबाट समेत सर्पदंशको उपचारका लागि आउने गरेका छन । केन्द्रबाट केहीदिन अघि मात्र गोमन सर्पले डसेर गम्भीर अवस्थामा रहेका भारतको डुवर्स, सुकुनाका अन्दाजी १३ वर्षीय एक बालकलाई उपचार गरी पठाइएको केन्द्रले जनाएको छ । त्यसैगरी केन्द्रमा उपचारकार्यमा श्री नम्वर २१ वाहिनी अड्डा अन्तर्गत इन्द्रध्वज गण चारआलीबाट खटिएका प्रँविधिकहरु रहेका छन भने केन्द्रले उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानसंग समेत सहकार्य सुरु गरेको छ । 
बढ्दै गईरहेको सर्पदंशलाई नियन्त्रण गर्नका लागि केन्द्रले जनचेतनामूलक कार्यक्रम सुरु गरेको व्यवस्थापन समिति सदस्य माधव घिमिरेले बताउनुभएको छ । घिमिरेका अनुसार केन्द्रले हालसम्ममा जिल्लाका ज्यामिरगढी, दुवागढी, बाहुनडाँगी, बुधबारे, चन्द्रगढी लगायतका बिभिन्न गाविसहरुका विद्यालय तथा विभिन्न स्थानमा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरिसकेको छ । 
समाचार साभार :– पुर्वाञ्चल राष्ट्रिय दैनिक

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...