फर्कन थाले विदेशिएका युवा


 हिमाल दहाल
‘धेरै कमाउँला भनेर गएको थिएँ’, सुनसरीको औराबनी–७ का सुनिलकुमार चौधरीले भने, ‘तर कम्पनी नै बन्द भएपछि लगानीको माया मारेर फर्कें ।’ खनारस्थित रिलायन्स मिलको काम छाडेर आकर्षक तलब–सुविधाको लागि एक वर्षअघि विदेशिएका चौधरी विदेशमा दुःख सहन नसकेपछि फर्किए । अहिले उनी भन्छन्, ‘काम गर्नेलाई नेपालमै पैसा छ ।’
वैदेशिक रोजगारमा जाने युवाको लहर घटेको छैन तर रहरैरहरले विदेशिएका केही युवा भने आफ्नै देशमा पसिना बगाउन फर्किएका छन् । ती युवाले सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगमा काम गर्न थालेका छन् । नेपाली युवा विदेश पलायन हुने क्रम बढेका कारण देशका उद्योगमा मजदुर अभावको समस्या देखिरहेकै समयमा विदेशिएका केही युवा भने पुनः पहिलेकै उद्योगमा काम गर्न आइपुगेका छन् ।
चौधरी धेरै पैसा कमाउने सपना बुनेर मलेसिया गएका थिए । एक वर्षअघि मलेसिया पुगेका उनी सात महिनामै स्वदेश फर्किए । उनले भने, ‘विदेशमा निकै पेलिएर काम गर्नुपर्छ ।’ खनारस्थित रिलायन्स मिलमा काम गर्ने उनी अहिले महिनाको १२ हजार रुपैयाँ कमाउँछन् । उनले मलेसियामा मासिक १८ हजार रुपैयाँ बचत गर्थे । आम्दानी थोरै भए पनि परिवारसँग बसेर काम गर्न पाएकोमा उनी खुशी छन् । भन्छन्, ‘अब स्वदेशमै काम गर्छु ।’
झापाको भद्रपुरका नवराज खतिवडाले पनि स्वदेशमा पाँच वर्ष काम गरे, करिडोरका उद्योगमा समेत पसिना पोखे । अनि, धेरै पैसा कमाउने सुरमा विदेशिए । विदेशमा कमाइ हुने भए पनि असुरक्षा र अनिश्चतताले समस्यामा पार्ने उनको अनुभव छ । ओभरटाइम पाएमात्र पैसा हुने बताउँदै उनले विदेशको गाह्रो कामभन्दा स्वदेशमा आफ्नै परिवारसँग बसेर काम गर्नु ठीक ठानेर स्वदेश फर्किएको जनाए । उनी पनि रिलायन्स मिलमै काम गरिरहेका छन् ।
यस्तै, सुनसरीकै खगेन्द्रमान श्रेष्ठ पनि राम्रो काम पाउने आशामा कतार पुगेका थिए । स्वदेशभन्दा राम्रो कमाइ हुन्छ भन्ने सुनेर त्यहाँ पुगेका उनी राम्रो कमाइ नभएपछि स्वदेश नै फर्किए । अहिले उनी नेपालकै एक उद्योगमा काम गर्छन् । भन्छन्, ‘देशमै कमाएर बाँच्न सकिन्छ भने किन विदेश जाने ?’
रिलायन्स मिलमा मात्र होइन, सुनसरी–मोरङ करिडोरका अधिकांश उद्योगमा विदेशमा दुःख पाएर फर्किने कामदारको सङ्ख्या बढ्दो रहेको उद्योगले जनाएको छ । तथापि उद्योगहरुबाट राम्रो अवसरको खोजीमा विदेश जानेहरुको सङ्ख्या पनि कम छैन । सुनसरीकै अरिहन्त जुट मिलबाट पनि मासिक दर्जनौं कामदार विदेशिने सुरमा काम छाडिरहेका छन् । उद्योगका सहव्यवस्थापक गोविन्द बजगाईंका अनुसार मजदुरहरुले काम छाड्ने क्रम तीब्र छ । तर विदेशमा हण्डर खाएर पुनः पुरानै जिम्मेवारी सम्हाल्ने मजदुर पनि चार सयभन्दा बढी छन् ।
रिलायन्स मिलका दीपक तिवारीले श्रम ऐनअनुसार युवालाई सुविधा दिइरहेको जनाउँदै विदेशबाट फर्किने युवाको सङ्ख्या बढ्दै गएको बताए । विदेशजतिको कमाइ नभए पनि स्वदेशमा काम गरेजस्तो आरामदायी नहुने हुँदा स्वदेश फर्किने यी युवाको अनुभवबाट पनि विदेशिन लागेका युवाले पाठ सिक्नुपर्ने बजगाईंले बताए । नेपाली उद्योगले अहिले मजदुरहरुको सेवा–सुविधामा समेत वृद्धि गरेकोले कार्यानुकूल वातावरण रहेको जनाउँदै तिवारीले मजदुरहरुलाई नेपालमै पसिना बगाउन आग्रह गरे ।

सहर जाने पनि फेरि गाउँतिरै
 छेटु शेर्पा
सङ्खुवासभा/गाउँ छाडेर बसाइँ जाने जिल्लावासीहरु गत वर्षदेखि गाउँ फर्कने क्रम बढेको छ । गाउँको घरबार बिक्री गरेर गएका मानिस पनि जिल्लाको आर्थिक अवस्थामा सुधार भएपछि र मोटरबाटो पुगेपछि सहर– तराईका घर–जग्गा बेचेर गाउँ नै फर्कन थालेका छन् ।
सुख खोज्दै हिँडेकाहरु गाउँबाट बसाइँ–सराइ गर्ने क्रममा बिक्री हुन नसकेका बाँझो जमिनमै अलैंची र अन्य बाली लगाएर आम्दानी गर्न सकिने भन्दै गाउँ फर्कने क्रम बढेको हो । जिल्लामा अलैंची, रुद्राक्ष, यार्सागुन्बुलगायत्का जडिबुटीको वार्षिक करोडौंको कारोबार हुने गरेको छ । पाथीभरा–४ बाट १२ वर्षअघि तराई पुगेका नारायण पराजुली अन्य जिल्लाभन्दा सङ्खुवासभा नै आर्थिकरुपले बलियो भएकोले गाउँ फर्केको बताउँछन् ।
पराजुलीजस्तै गाउँ फर्कनेमा दिदिङ–६ चिचिलाका झलकबहादुर गुरुङको परिवार, मत्स्यपोखरी–४ का लोकमणि निरौला, प्रवीण निरौलालगायत् धेरैको लर्को छ । तराईबाट मात्र नभएर जिल्ला सदमुकामबाट पनि गाउँ फर्कनेको सङ्ख्या तीब्ररुपमा बढेको पाइन्छ ।
जिल्लामा हुने आर्थिक कारोबारले जग्गाको मूल्य अचानक बढेकोले पनि बसाइँ सर्नेहरु जग्गाको मोह बढेर गाउँ फर्कन थालेका हुन् । द्वन्द्वताका र त्यसपछिको समयमा बसाइँ सर्नेहरु समेत गाउँमा राम्रो आम्दानी हुने भन्दै फर्कन थालेका छन् 

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...