इटहरी, फागुन १७ - सुनसरी भोक्राहाकी रन्जुकुमारी यादवलाई एकसातापछि हुने वार्षिक परीक्षाले पिरोल्न थालेको छ। श्री पृथ्वी नारायण निम्न माध्यमिक विद्यालय कक्षा–६ मा अध्ययनरत उनलाई परीक्षाले पिरोल्दा पनि मंगलबार आधा समयमात्र विद्यालयमा पढ्न पाइन्।
कांग्रेस नेतृ सुजाता कोइरालाको अगुवा कार्यकर्ता भेला तथा सम्मान कार्यक्रमले गर्दा दुई पिरियड पढाएर विद्यालय वन्द गरेकाले पूरा समय पढन नपाएकी हुन्। रन्जुको परीक्षा फागुन–२६ गतेदेखि सुरु हुँदैछ।
विद्यालय परिसरमै कार्यक्रम गर्दा विद्यालयले अकास्मत विद्यालय बन्द गर्यो। विद्यालय बन्द गर्नासाथ तल्लो कक्षाका विद्यार्थी घर गए पनि माथिल्लो कक्षाका विद्यार्थी कांग्रेस कार्यकर्तासँगै मिसिएर दिनभरि बस्नुपर्यो।
'कार्यक्रमले नेताको भाषण सुन्न पाए पनि पढाई बिथोलिएकाले नजिकिँदै गरेको परीक्षामा असर गर्यो,' कक्षा–७ मा अध्ययनरत अजयकुमार साहले भने, 'आफ्नो विद्यालयमा विभिन्न कार्यक्रम हुदाँ त खुसी लागे पनि विद्यालय बन्द भएको दिन कार्यक्रम गरिदिएको भए पढाईलाई असर गर्दैन्थ्यो।' उनले आगामी दिनमा राजनीतिक दलले कार्यक्रम गर्दा विद्यार्थीको पढाईलाई असर नपुग्ने गरी गर्न सुझाव दिए।
अधिकांश शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारी कांग्रेस निकट रहेकाले एक्कासी विद्यार्थीलाई विदा भएको सूचना सुनाइएको थियो। विदा भएपछि किन विदा भयो? भन्नेमा समेत कतिपय विद्यार्थी अन्योलमा थिए।
'एक्कासी विद्यालय बन्द भयो केही जानकारी भएन,' विद्यालयबाट बाहिरिँदै गरेका कक्षा–५ मा अध्ययनरत नविन उराँवले भने। अकास्मत विद्यालय बन्द गर्नमा स्थानीय समुदाय नै दोषी रहेको शिक्षिका ज्ञानकुमारी साहले बताइन्। 'विद्यालय समुदायले भन्छन् अब उनीहरुले भनेपछि बन्द गर्नैपर्यो,' उनले भनिन्, 'विद्यार्थी र शिक्षक–शिक्षिकाको कुनै दोष छैन्।'
विद्यालयका प्रधानाध्यापक विष्णुदेव उराँवका अनुसार क्षेत्रीय सचिव सुनिलकुमार साह, गाउँ कमिटि अध्यक्ष हारुन अनसारीसहित अन्य विद्यालय व्यवस्थापन समितिमा कांग्रेसको बाहुल्यता रहेकाले पनि विद्यालय बन्द गर्नु परेको हो। उनका अनुसार राजमार्ग छेउँ र भोक्राहामा अन्य स्थानमा कार्यक्रम गर्ने व्यवस्थित स्थान नहुदाँ महिनामा थुप्रै पटक विद्यालयमा विद्यार्थीको पढाई असर गर्ने गरेको छ।
कांग्रेस जिल्ला कार्यसमिति सुनसरीले अचानक कार्यक्रम परेकाले अन्यत्र गर्न स्थान नभएकाले विद्यालय परिसरमै कार्यक्रम गर्न परेको जानकारी दियो। 'कार्यक्रम अकास्मत परेर विद्यालयमा राखियो, खबर पनि गर्न पाइएन। त्यही भएर विद्यालयले विद्यालय बन्द गर्यो,' सचिव केदार भण्डारीले बताए। @ नागरिक


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...