महाशिवरात्रीको महिमा- सन्दर्भः महाशिवरात्री


प्रत्येक वर्ष फागुन कृष्ण पक्ष चतुर्दशी तिथिका दिन भारत र नेपालका शिवजीका मन्दिर र सार्वजनिक स्थलहरुमा धुनी जगाएर ‘महाशिवरात्री पर्व’ मनाइन्छ । वैदिक धर्ममा चार रात्रीहरुको विशेष ख्याति पाइन्छ । तीमध्ये मोहरात्री, कालरात्री, सुखरात्री र महाशिवरात्री । यस वर्षको महाशिवरत्री फागुन १८ गते बुधबार परेको छ । शिवरात्रीको व्रत सम्बन्धमा एकपल्ट भगवान् विष्णु र अन्य देवताले कुन चाहिँ व्रतले भोग र मोक्ष दुवै प्राप्त हुनेछ भनी सोध्दा भगवान् शंकरले शिवरात्री व्रतको महात्म्यबारे बताउनुभएको थियो भनी सूतजीले ऋषिहरुलाई सुनाउनुभएको कुरा शिव पुराणको कोटी रुद्र संहितामा उल्लेख गरिएको पाइन्छ । 
भगवान् शिवका अनुसार योग र मोक्ष दुवै एकैसाथ पाइने व्रत विविध व्रतहरु बसी बनाइने व्रतहरुभन्दा पनि विशेष महत्वको छ । यस दिन भगवान् शिवलाई खुशी पार्न विशेष गरी बेलपत्र चढाइन्छ र शिवको पूजा–अर्चना गर्नाले दिव्य ज्ञानदृष्टि प्राप्त गर्न सकिन्छ । शिव पुराणमा उल्लेख भएअनुसार फागुन कृष्ण पक्ष चतुर्दशी अर्थात् आजकै दिन भगवान शिवको ज्योतिर्लिङ्ग उत्पन्न भएको तथा शिव र सतीदेवीको विवाह पनि यसै दिन भएकोले यो दिनलाई महाशिवरात्रीको रुपमा धुनी जगाएर मनाइन्छ । 
सृष्टिको उषाकालदेखि नै ऋषिमुनिहरुले आफ्नो तपस्या, धर्मसाधना, परोपकार र मानव सेवा आदि कृत्यले आफ्नो जन्मभूमि वा तपःस्थलहरुलाई सार्थक ‘तीर्थ’ को संज्ञा दिए । त्यस्ता ठाउँहरु असंख्य छन् । तीर्थका नामले विख्यात भएका छन् । वस्तुतः आर्यावर्त क्षेत्र, उत्तराखण्ड वा हिमवत्खण्ड आर्य सँस्कृतिको केन्द्र रहेको र हिमालयका वक्षः स्थलका परिदृश्यहरु अनुपम रहेका हुन् । आर्यहरुको विश्रान्ती भूमि पनि यहीँ नै रहेको हो । हाम्रोद्द मुलुक नेपाल देवतै–देवताहरुको पवित्र थलो तथा ऋषिमुनिहरुको तपोभूमि र मन्दिरै–मन्दिर रहेको वैदिक धर्मको उन्नतिको थलो बनेको यस दैवी भूमिमा आश्चर्यलाग्दा अनेकौं स्थलहरु छन् । पवित्र स्थलहरुको अपार भण्डार छ । 
महाशिवरात्रीको पर्व परम्पिता परमात्मा शिव कलियुगको अन्त्य र सत्ययुगको शुभारम्भ पूर्वको वर्तमान संगम युगमा गरिएका दिव्य एवम् अलौकिक कर्तव्यहरुको यादगार पर्व हो । जब–जब चारैतिर अधर्म, पापाचार, अनाचार, भ्रष्टाचार र अत्याचारको तान्डव नृत्य सुरु हुन्छ र हरेक मनुष्य आत्मामा पतित् एवम् विकारी बन्दछन्, परमात्मा शिव परम्धामबाट यो साकार लोकमा अवतरित भएर ईश्वरीय ज्ञान एवम् सहज योगको शिक्षा दिई यस सृष्टिलाई परिवर्तन गर्नुहुन्छ । भगवान् शिव (शंकर) को दिव्य धाम हिमालय पर्वत कैलाश हो । यो अत्यन्त पवित्र तीर्थस्थल हो । कैलाश पर्वतको टुप्पा विशाल कालो र खँदिलो ढुङ्गा हो । यसको शिखर सधैं दूधजस्तै सेतो हिउँले छोपिएको हुन्छ । यो महान तीर्थ क्षेत्र हो । देवस्वरुप कैलाश पर्वतको दर्शन र परिक्रमा आदि गर्नाले ठूलो पुण्य मिल्ने धर्मशास्त्रमा वर्णन गरिएको छ । 
देवी–देवताहरुले बास बसेको विजयपुर र विजयपुरपछिको धरानस्थित शिवका मन्दिरहरु यस प्रकार छन्– 
धरानका शिवालयहरु
१. वडा नं. १ः वि.सं. १९९५ वैशाख अक्षय तृतीयका दिन कृष्ण गोविन्द रिजालद्वारा निर्माण गरिएको चन्द्रेश्वर–शिवपञ्चापतम् मन्दिर ।
२. वडा नं. ५ः वि.सं. १९९५ सालमा सुब्बा नारायणप्रसाद रिजालद्वारा नयाँ बजारको मुटु मानिने ठाउँमा स्थापित बलभद्रेश्वर शिव मन्दिर । गीता भवनको परिसरमा २०३२ वैशाख १५ गते श्रीमती ललितादेवी श्रेष्ठ (क्वेजू) द्वारा निर्मित ‘शिव मन्दिर’
३. वडा नं. १०ः सिंहवाहिनी भगवती मन्दिरसँगै २०२५ वैशाख २५ गते ले. नरेन्द्रबहादुर बस्नेतद्वारा निर्मित ‘शिवमूर्ति’
४. वडा नं. १२ः २०३४ फागुन २४ गते सानुकाजी श्रेष्ठ (चित्लोङ) ज्यूबाट निर्मित ‘रत्नेश्वर शिवालय मन्दिर’
५. वडा नं. १३ः वि.सं. २०११ सालमा कृष्ण दिलमाया चापागाईंद्वारा निर्मित ‘सिद्धेश्वर महादेव’ र फुश्रे बजारमा वि.सं. २०१३ सालमा रामजी श्रेष्ठद्वारा निर्मित ‘शिव मन्दिर’
६. वडा नं. १४ः पौराणिक, ऐतिहासिक एवम् धार्मिक रुद्राक्षारण्य, अमृत पिण्ड ‘पिण्डेश्वर बाबाधाम’ र विजयपुर बजारबाट दन्तकाली मन्दिरबीच दाहिनेतिरमा वि.सं. १९९० सालमा चैतन्य ब्रह्मचारी पोखरेलद्वारा निर्मित ‘लोकेश्वर शिव मन्दिर’ २०६१ वैशाख १४ गते पिण्डेश्वर मन्दिरको परिसरमा श्री गोविन्द श्रेष्ठ बनेपालीद्वारा निर्मित ‘शिव–पदमेश्वरी मन्दिर’
७. वडा नं. १६ः २०३० सालमा चन्द्र सँस्कृत माविको हाताभित्र तहवीलदार चन्द्रप्रसाद आचार्यद्वारा निर्मित ‘सर्वेश्वर शिव मन्दिर’ र २०६४ सालमा वीरबहादुर बस्नेतद्वारा निर्मित ‘कौशिकेश्वर शिव मन्दिर’ 
प्राचीन ऋषि–महर्षीहरुको साधनाभूमि, यज्ञभूमि र तपोभूमि हो । यसै भूमिको पूर्व खण्ड ‘शीतशैल’ हो, जसलाई हामी विजयपुर भन्दछौं । यसै विजयपुरको एक भाग ‘रुद्राक्षारण्य’ नामले विश्व प्रसिद्ध छ । देवी–देवताहरुले बास बसेको विजयपुर र विजयपुरपछिको हो, धरान ।


No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...