पार्टी सभापति सुशील कोइरालाले एकलौटी गरेको भन्दै त्यसको कसरी प्रतिबाद गर्ने भन्ने योजना बनाउन बसेको देउवापक्षको भेलामा कोइराला पक्षले पठाएको एउटा एसएमएसले खैलाबैला मच्चाएको छ ।
आजदेखि सुरु भएको केन्द्रीय समिति वैठकमा छलफल गर्ने एजेण्डाबारे देउवा र कोइरालापक्षबीच बिबाद थियो । कोइराला पक्षले तीनवटा भातृ संगठनलाई बिघटन गर्ने र पदाधिकारी मनोनयन प्रस्ताव वैठकमा ल्याउने तयारी गरेको थियो । त्यसको बिपक्षमा रहेका देउवाले सभापति कोइरालालाई भेटेर आफु उपचारका लागि सिंगापुर जान लागेकाले शान्ति र संबिधानको बिषयलाई मात्र बैठकको एजेण्डा बनाउन अनुरोध गरेका थिए ।आफ्नो अनुरोधलाई स्वीकारेपछि देउवाले आफ्नै निवास बुढानिलकण्ठमा आफ्ना पक्षको भेलामा त्यही सुनाइरहेका थिए । भेलामा देउवा बोलिरहेका बेला कांग्रेस मुख्य सचिव बसन्तकुमार गौतमले एसएमएस पठाए-’ आजदेखि सुरु हुने केन्द्रीय कार्यसमिति वैठकको एजेण्डा शान्ति, संबिधान निर्माण र सांगठानिक कामकारवाही लगायत हुनेछन् ।’ आफुसँगको भेटमा शान्ति र संबिधानबाहेक वैठकका एजेण्डा नबनाउने आश्वासन दिएका पार्टी सभापतिको निर्देशनमा गौतमले त्यस्तो एसएमएस पठाएको भन्दै देउवाले आक्रोश पोखे । देउवा पक्षको भेलामा सहभागी एक सदस्यका अनुसार कोइरालाले आफुलाई निकै हेपेको भन्दै देउवा झोक्किएका थिए ।
सभापतिले पदाधिकारी मनोनयन र भ्रातृ संगठन विघटनको प्रस्ताव ल्याए कडा प्रतिवाद गर्न आफु निकटका केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका थिए । यही तरिकाले कोइरालालाई अघि बढ्न दिए निरङ्कुशता हावी हुने भन्दै देउवाले आफुखुसी पदाधिकारी मनोनयन र भातृ संगठन भंग गर्ने निर्णय कुनै हालतमा नमान्ने बताएका थिए ।
अनलाइनखबरसँग कुरा गर्दै देउवा निकट केन्द्रीय सदस्य वालकृष्ण खाँडले भने-’पदाधिकारी मनोनयनमा अहिले सहमति भएको छैन, सभापतिले एकलौटी रुपमा अघि बढ्न खोजे हामी प्रतिवाद गछौं ।’ भ्रातृ संगठनहरु विघटनप्रति आफ्नो पक्ष सहमत नरहेको खाँडले बताए । ‘भ्रातृ संगठनको निर्वाचित केन्द्रीय कार्यसमितिलाई हामीले तँ भङ्ग भइस् भनेर हामीले भन्न मिल्दैन । यसमा हाम्रो सहमति हुँदैन ।’- खाँडको भनाई थियो ।
सभापति सुशील कोइरालाले भने पदाधिकारी मनोनयन र कार्यवअधि सकिएका नेवि संघ, तरुण दल र महिला संघलाई विघटन गर्ने प्रस्ताव लैजाने तयारी गर्नु गरेका छन् । देउवा पक्षको असहमतिकै कारण सभापति कोइरालाको उपसभापतिमा रामचन्द्र पौडेल र महामन्त्रीमा कृष्णप्रसाद सिटौलालाई मनोनयन गर्न राखेको प्रस्ताव केन्द्रीय समितिबाट तीन महिनादेखि पारित हुन सकेको छैन ।
देउवा उपचारका लागि सिंगापुरतर्फ लागेका छन् ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...