५ सय ६२ नेपाली कामदार इजिप्टको सीमामा अलपत्र


लिबियामा जारी हिंसात्मक आन्दोलनपछि नेपाल फर्कन लागेका ५ सय ६२ नेपाली कामदार इजिप्टको सिमाक्षेत्र दर्नामा अलपत्र परेका छन् ।
८ वटा ट्रकमा चढाएर इजिप्टको सीमाक्षेत्रमा ल्याइएका नेपाली कामदारलाई सीमाक्षेत्रमा छाडी कम्पनी प्रतिनिधि भागेपछि उनीहरु अलपत्र परेको इजिप्टका लागि नेपाली राजदूत श्याम तपदारले बताउनुभयो । अनलाइनखबरसँग टेलिफोनमा कुरा गर्दै तपदारले भन्नुभयो-’पहिले कम्पनीले इजिप्टसम्म ल्याउने र इजिप्टबाट नेपाल जाने हवाई टिकटको खर्चसमेत बेहोर्ने बताएको थियो, तर इजिप्टको सीमाक्षेत्रमा ल्याएपछि कम्पनीका प्रतिनिधि सम्पर्कबिहीन भए ।’

कामदार जिम्मा लिन इजिप्टको सीमाक्षेत्रमा पुगेका इजिप्टस्थित दूतावासका प्रथम सचिव तीर्थ अर्याल नेपाली कामदारको सम्र्पकमा पुगेको तपदारले जानकारी दिनुभयो । अहिले उनीहरु सुरक्षित र सामान्य रहेको भएपनि इजिप्ट ल्याउन आर्थिक अभाव भएकाले नेपाल सरकारको निर्देशन कुरेर बसिरहेको तबदारले जानकारी दिनुभयो ।
‘उनीहरुलाई कायरोसम्म ल्याउन र हवाई टिकटको ब्यबस्था गरि नेपालसम्म पुर्‍याउन धेरै खर्च लाग्छ’- तपदारले भन्नुभयो- ‘खर्चका लागि मैले परराष्ट्रमा अनुरोध गरेको छु, निर्देशन आउनासाथ कामदारलाई इजिप्ट ल्याइन्छ ।’
कायरोबाट करिव ८ सय किलोमिटर टाढा रहेको दर्ना सीमाक्षेत्रमा रहेको नेपालीलाई जिम्मा लिन गएका प्रथम सचिव अर्याल आफ्नो नियमित सम्पर्कमा रहेका उहाँले जानकारी दिनुभयो । परराष्ट्र र फिल्डमा रहेका कर्मचारीसंग आफुले निरन्तर कुरा गरिरहेका भन्दै उहाँले सरकारको निर्देशन पाउनासाथ कामदारलाई बसमा राखेर कायरो ल्याउने जानकारी दिनुभयो ।
लिबियाको अबस्था झन झन खस्किदै गएको भन्दै कायरोस्थित नेपाली दूतावासले अन्य स्थानमा रहेका नेपालीहरुले दूतावासमा सम्पर्क गरिरहेको र उनीहरुलाई पनि सुरक्षित उद्दारका लागि पहल भइरहेको जानकारी दिनुभयो ।
यसैवीच बिहीवार सााझ काठमाण्डौंस्थित परराष्ट्र मन्त्रालयले नेपाली कामदारलाई नेपाल ल्याइपुराउन लाग्ने अनुमान खर्च कायरोस्थित दूतावाससंग मागेको छ । परराष्ट्रलाई अनुमानित खर्च बिबरण पठाएपछि शुक्रबारमात्र कामदार फिर्ति प्रकृया सुरु हुनसक्ने तपदारले बताउनुभयो ।
परराष्ट्र मन्त्रालयमा धर्ना
लिबियामा जारी सरकार विरोधी आन्दोलनका कारण अलपत्र परेका नेपालीलाई अविलम्ब उद्धार गर्नुपर्ने माग गर्दै आज परराष्ट्र मन्त्रालयमा एकघण्टा धर्ना दिइएको छ । पीडित परिवार र नेपाल मानवअधिकार सगठनद्वारा संयुक्त रुपमा बिहान १० बजेदेखि ११ बजेसम्म मन्त्रालयको ढोकामा धर्ना दिएका हुन् । धर्नापछि संगठनका अध्यक्ष सुदीप पाठकको नेतृत्वको टोलीले परराष्ट्र सचिव मदनकुमार भट्टराईलाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ । पाठकले लिवियामा अहिले करिब दुई हजार आठसय नेपालीको ज्यान जोखिममा रहेकाले सरकारले प्रतिनिधि पठाएर कूटनीतिक रुपमा तिनीहरुको सुरक्षा गर्नुपर्ने बताउनुभयो ।
अनलाइन खवर

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...