बोक्सी आरोपमा कुटपिट

लुम्फाबुङ-६ का एक दम्पतीलाई बोक्सा-बोक्सीको आरोपमा गाउँलेले कुटपिट गरेका छन् । ४४ वर्षीय सार्कीराम राई र उनकी श्रीमती ३३ वर्षीया वसन्तीलाई कुटपिट गरी पटकपटक गाउँ निकालाको धम्कीसमेत दिएपछि न्याय माग्न सदुरमुकाम आएका छन् ।


छिमेकीले बोक्साबोक्सीको आरोप लगाएर कुटपिट गरेपछि न्याय माग्न सदरमुकाम आएका पाँचथर 
लुम्फाबुङ-६ का सार्कीबहादुर राई र उनकी श्रीमती वसन्ती ।

पीडकलाई कारबाहीको माग गर्दै आफूहरूलाई गाउँ र्फकने वातावरण बनाइदिन उनीहरूले आग्रह गरेका छन् । माघ ४ गते भएको घटनापछि पीडितहरू सदरमुकाम आएर बसे पनि डरले घटनाबारे ढिलो जानकारी गराएको उनीहरूले बताए । गाउँमा सामान्य झारफुकसमेत गर्दै आएका सार्कीबहादुर र उनकी श्रीमतीलाई  स्थानीयले टंकबहादुर राईलाई बिरामी पारेको भन्दै कुटपिट गरेका हुन् । स्थानीय भीमबहादुर राई, सन्तकुमार राई, देवेन्द्र राई, सन्त बहादुर राई, मदन राईलगायतले स्थानीय बुद्धिबहादुर राईको घरमा पुर्‍याई भाटा र चिर्पटसमेत प्रहार गरी कुटपिट गरेको उनीहरूले बताए । 'यिनीहरू बोक्साबोक्सी हुन्, सार्कीरामले बोक्सो लागी बिरामी पारेको हो' भन्दै कुटपिट गरेको उनीहरूले बताए ।  'भैंसी, बाच्छा, पाडा कति खाईस्, कतिको कोख सुकाइस् भन्दै कुटपिट गरे,' उनीहरूले बताए । 



घटनापछि पीडकले पटकपटक घर घेराउ गरी गाउँबाट ननिस्किए जे पनि गर्न सक्ने धम्की दिएपछि दुई नाबालक छोराछोरी र बस्तुभाउ अलपत्र छाडेर ज्यान जोगाउन सदरमुकाम आएको उनीहरूले बताए । शान्ति सुरक्षा मिलाइदिन जिल्ला प्रशासन र प्रहरीमा निवेदन दिएका छन् । घटनापछि स्थानीय पारालिगल कमिटीको पहलमा उनीहरूलाई घर फिर्ने वातावरण बनाउन प्रयास भइरहेको अध्यक्ष माया घिमिरेले बताइन् । कानुन सेवा समाजका टीका तिम्सिनाका अनुसार संस्थाको कानुनी सहयोगमा अदालतमा मुद्दा चलाउने तयारी भइहरेको बताए । 



मुलुकी ऐन अदलको महलमा कसैले कसैलाई बोक्साबोक्सी आरोप लगाए, विस्थापित गराए, यातना दिए, सामाजिक वहिष्कार गरे वा अमानवीय र अपमानजनक व्यवहार गरे तीनदेखि दुई वर्षसम्म कैद वा ५ देखि २५ हजारसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...