मार्क्सवादी नेता सप्ताह–पुराणका अगुवा


राजु अधिकारी, झापा 
पूर्वमा 'प्रगतिशील' साहित्यकारको परिचय बनाएका झापाका लेखक सरोज ओली केही दिनयता गद्गद् छन्। मार्क्सवादलाई जीवन दर्शन मान्ने उनलाई यस्तो खुसी उनको वैचारिक रुझानले होइन, आध्यात्मिक कार्यले बटुलिदिएको हो।
शनिश्चरे क्याम्पसको स्तरोन्नतिका लागि यहाँ आयोजित पुराणका आयोजक समिति अध्यक्षसमेत रहेका ओली त्यसका लागि दान गर्नेको ओइरो देखेर दंग छन्। 'एक करोड रुपैयाँ त नगदै उठिसक्यो,' उनले भने, 'सामाजिक कामका लागि सहयोग जुटाउन धार्मिक यज्ञ प्रभावकारी हुँदोरहेछ।'
शिक्षा र व्यवस्थापन विषयमा स्नातकसम्म पठनपाठन भइरहेको क्याम्पसमा स्नातकोतर तह चलाउनका लागि सञ्चालन गरिएका सबै उपाय विफल भएपछि पुराणको सहायता लिइएको उनी बताउँछन्। 'अब योजना पूरा गर्न धेरै साहस पलाएको छ,' झापाकै लेखक कृष्ण धरावासीलाई 'भाग्यवादी प्रवृत्तिका नवप्रवर्तक' भन्दै कुनैबेला सार्वजनिक आलोचना गरेका उनी अहिले उत्साही हुँदै पुराणको प्रशंसा गर्छन्। पुराणले समुदायलाई एकीकृत बनाएको उनले सुनाए।
पुराण आयोजनामा खटिएका ओली एक्ला 'मार्क्सवादी' होइनन्। धर्मलाई अफिम मान्ने राजनीतिक 'स्कुलिङ' भएका माओवादी र एमालेका नेता–कार्यकर्तासमेत जिल्लामा पुराण अभियानका अगुवा बनेका भेटिन्छन्। शनिश्चरेकै आयोजक समितिमा रहेका एकीकृत माओवादीका झापा ४ का क्षेत्रीय इन्चार्ज पवन तिम्सिना पुराणभरि त्यसैमा सक्रिय रहे। 'हरे राम नै जपेरचाहिँ बसेका छैनौं,' तिम्सिना भन्छन्, 'तर क्याम्पसलाई सहयोग जुटाउन यस्तै कार्यमात्र प्रभावी हुँदोरहेछ, त्यसैले हाम्रो पार्टीपंक्ति नै सक्रिय छ।'
दलका प्रभावशाली जिल्ला नेताहरू, स्थानीय समुदायमा स्थापित अगुवालाई  सहभागी गराएर अर्थ संकलन अभियान चलाउँदा पनि त्यसले सकारात्मक परिणाम नदिएको अनुभव तिम्सिनासँग छ। 'दुई/तीन वर्षदेखि त्यस्तो अभियान चलाउँदा पनि सफल भइएन', धार्मिक गतिविधिको प्रभाव स्वीकार गर्दै तिम्सिनाले भने,  'पुराणले भने सहयोग जुटाउन उत्साहजनक भूमिका खेलेको छ, पण्डितले व्यासमा कथा भन्न थालेपछि मान्छेलाई दान गरौंगरौं लाग्दोरहेछ।'
तिम्सिनाका शब्दमा 'नेपाली समाज मार्क्सवाद पूरै बु‰ने अवस्थामा पुगेको छैन, त्यसैले धार्मिक कार्य नै सामाजिक कामका लागि उपयोगी हुन्छ।'
एक ठाउँमा मात्र होइन, जिल्लाका दर्जनभन्दा  बढी स्थानमा अहिले यस्ता पुराण जारी छन्। ती सबैमा वाम कार्यकर्ताको सहभागिता मुख्य आयोजककै रूपमा छ। काँकडभिट्टा, ज्यामिरगढी, बाहुनडाँगी, तोपगाछीजस्ता वामपन्थी दलका आधारक्षेत्र अहिले पुराणमय छन्।
शैक्षिक संस्थाको स्तरोन्नति तथा अन्य सामूहिक काममा अर्थ जुटाउने ध्येयले भइरहेका पुराणमा नगद र जिन्सी दान गर्ने दाताको लर्को आयोजकले सोचेभन्दा राम्रो ढंगले  लागेको छ। आयोजकका अनुसार क्याम्पस सञ्चालनका लागि आयोजित पुराणबाट तोपगाछीमा ४७ लाख, एम्बुलेन्स खरिदका लागि ज्यामिरगढीमा जारी पुराणमा ३५ लाख रकम उठिसकेको छ। @ nagariknews

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...