अब मोबाइल सिमकार्ड मै फेसबुक


रामचन्द्र भट्ट, बार्सिलोना (स्पेन), फागुन ३ – तपाईसँग सस्तो मोबाइल सेट छ भनेपनि अब फेसबुक चलाउन मिल्ने प्रविधि आएको छ। फेसबुकको एप्लिकेसनलाई मोबाइलको सिमकार्डमै राखेर अब जुनसुकै मोबाइलबाट पनि यसलाई चलाउन सकिने प्रविधिको प्रदर्शन यहाँ सुरु भएको मोबाइल वर्ल्ड कंग्रेसमा गरिएको छ।
'हामी फेसबुकलाई अब सिमकार्डमै राख्ने प्रविधि विकास गर्न सफल भएका छौं,' फ्रान्सेली कम्पनी जेमाल्टोका उपाध्यक्ष (डिजिटल) डिर्क डोरेले भने। जेमाल्टोले फेसबुकसँगको सहकार्यमा यो सेवा परीक्षणको रुपमा सुरु गरिसकेको छ। जसरी अहिले सिमकार्ड लिएपछि निश्चित नम्बर त्यसैमा सेभ गर्न सकिन्छ फेसबुक पनि त्यसैगरी त्यही हुन्छ। जेमाल्टो सिमकार्ड बनाउने कम्पनी हो।
फेसबुकको विश्वभर बढ्दो लोकप्रियताले गर्दा यो कम्पनीले सिमकार्डमै फेसबुक एप्लिकेसन भएको प्रविधि ल्याएको हो। मोबाइलबाट फेसबुक चलाउन अहिलेसम्म इन्टरनेट सुविधा भएको सेट या मोबाइलमै फेसबुक एप्लिकेसन हुन पर्थ्यो। 'यो प्रविधि अब सिमकार्डमै हामीले राखेका छौं, यसबाट जतिसुकै सस्तो सेटबाट पनि फेसबुकको स्टाटस अपडेट गर्न, साथीहरुको स्टाटसमा कमेन्ट गर्नमात्र नभई सन्देश समेत पठाउन सकिन्छ,' उनले भने।
यो सेवा लिनको लागि जेमाल्टोकै सिमकार्ड मोबाइल टेलिफोन कम्पनीहरुले लिनु भने पर्छ। 'फेसबुकको लोकप्रियतालाई हामीले अब सिमकार्डमै राखेर जतिसुकै सस्तो सेटबाट पनि चलाउन सकिने प्रविधि ल्याएका हौं,' डारेले भने।
यो सुविधा लिनको लागि मोबाइल टेलिफोन कम्पनी र जेमाल्टोबीच सम्झौता हुन भने जरुरी छ। जुन जुन मोबाइल टेलिफोन सेवा प्रदायकले सिमकार्डमै फेसबुक राख्न आग्रह गर्छन उनीहरुलाई यो सुविधा दिन तयार भएको जेमाल्टोले जनाएको छ। सिमकार्डमै भएको फेसबुकले गर्दा कोही साथीको फेसबुक स्टाटसमा कमेन्ट गरेपछि एसएमएसको रुपमा उसकोमा सन्देश पुग्छ र के कमेन्ट गरेको छ भन्ने पनि दखिन्छ।
नयाँ प्रविधि भएकोले यो सेवाप्रति अहिले विश्वभरिका मोबाइल टेलिफोन सेवा प्रदायकहरुले निकै चासो दिएका छन्। फेसबुकको वालबाट सन्देश पठाउन पनि सकिन्छ। 'एसएमएसभन्दा यो निकै सजिलो र सस्तो पनि पर्छ,' जेमाल्टोका अधिकारीहरुले दावी गरेका छन्।
यो प्रविधि नेपालमा आउन भने समय लाग्न सक्छ। मोबाइल टेलिफोन सेवा प्रदायक एनसेल र नेपाल टेलिकमले यो प्रविधि ल्याएर आफ्ना उपभोक्तालाई मोबाइल इन्टरनेट (जिपिआरएस, थ्रीजी) बिना पनि फेसबुक चलाउने सुविधा दिनसक्छन्।
अहिले मोबाइल टेलिफोनबाट फेसबुक चलाउनेहरु संसारभरि बढेका छन्। यसले गर्दा मोबाइल सेटमै फेसबुकको एप्लिकेसनलाई राख्न समेत ठूला कम्पनीहरुले प्रतिस्पर्धा गरिरहेका छन्। जहाँ मोबाइल इन्टरनेट सेवा महंगो छ त्यस्तो देशमा सिमकार्डमै फेसबुक सेवा भएको सेवा निकै लोकप्रिय र सजिलो हुने दावी जेमाल्टोको छ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...