सुनसरी मोरङ औद्योगिक करिडोर क्षेत्रमा पुरुष मजदुर अभाव भएपछि उद्योगहरूले महिला कामदारको संख्या बढाएका छन् । अधिकांश पुरुष कामदार वैदेशिक रोजगारीमा गएकाले देशकै ठूलो औद्योगिक क्षेत्रमा महिला कामदारको माग बढेको छ । यो औद्योगिक क्षेत्रमा ५ सयभन्दा बढी साना–ठूला उद्योग छन् ।
सुनसरीको खनारस्थित रिलायन्स स्पिनिङ मिल्सका प्रशासकीय अधिकृत महेश पोखरेलले देशैभर अभाव भए पनि मोरङ सुनसरी औद्योगिक करिडोरमा दक्ष, अर्धदक्ष, अदक्ष सबै प्रकारका मजदुर पाइन छाडेको बताए । “हाम्रो उद्योगमा अहिले पनि डेढ सयभन्दा बढी कामदारको अवश्यकता छ,” उनले भने, “काम गर्ने मानिस नै पाइँदैनन्, त्यसैले महिला कामदारलाई प्राथमिकता दिन थालेका छौं ।”उद्योगमा काम छाडेर धेरै कामदार विदेश जान थालेकाले अभाव चर्किएको उनको भनाइ छ । “केही महिनायता त यो समस्या झनै बढेको छ,” उनले भने ।
करिब ३ हजार कामदार रहेको उद्योगमा अहिले महिला कामदारको संख्या ५ सयभन्दा बढी पुगिसकेको छ । “पहिले उद्योगमा महिला कामदार थिएनन्,” उनले भने, “पुरुष नभएपछि महिला रोजाइमा परेका हुन् ।”
सोनापुरस्थित अरिहन्त मल्टीफाइबर्सले पनि महिला कामदारको संख्या बढाएको छ । पुरुषको तुलनामा महिला कामदारलाई काम गर्न गाह्रो भए पनि विकल्प नभएको कम्पनीका प्रशासकीय अधिकृत गोविन्द बजगाईंले बताए । “महिलालाई रातिको ड्युटीमा खटाउन मिल्दैन, जसले गर्दा समस्या उत्पन्न हुन्छ र धेरै मजदुरको पनि आवश्यकता पर्छ,” उनले भने, “तर के गर्ने, कामदार नपाएपछि उनीहरूलाइ भए पनि लगाउनु प¥यो ।”
४ हजार मजदुर कार्यरत अरिहन्तमा ७ सयभन्दा बढी महिला कामदार छन् । उद्योगले महिला र पुरुषलाई उत्तिकै ज्याला दिने गरेको बजगाईंले बताए । उनका अनुसार उद्योगले ८ घण्टा काम गरेको दैनिक २ सय २५ रुपैयाँ ज्याला दिन्छ ।
रिलायन्स र अरिहन्तमा मात्रै नभई करिडोर क्षेत्रमा रहेका अधिकांश ठूला उद्योगमा मजदुर अभाव छ । यस क्षेत्रका उद्योगमा करिब ७ देखि १० हजारको हाराहारीमा अक्ष र अदक्ष मजदुर अभाव रहेको व्यवस्थापन परामर्शदाता मोहनचन्द्र घिमिरेले जानकारी दिए । “विदेश जाने लहर चलेकाले अधिकांश कामदार काम छाडेर खाडी मुलुक हिँडेका छन्,” उनले भने, “अर्कातिर भारतबाट आउने मेकानिकल मजदुर पनि देखिन छाडेका छन् ।” विदेश जाने मजदुरलाई विभिन्न अवसर दिएर स्वदेशमै रोकेर राख्नुपर्ने आवश्यकता उनले औंल्याए ।

No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...