व्यवस्थित शौचालय नहुँदा जिल्ला वन कार्यालयको हिरासतमा रहेका बन्दीहरू थुनुवा कोठाभित्रै पिसाब गर्न बाध्य भएका छन् । थुनुवाका लागि निर्माण गरिएको भवनमा शौचालय नहुँदा उनीहरू कोठाभित्रै पिसाब फेर्न बाध्य भएका हुन् ।
सानो कोठामा दर्जन बढी बन्दी बस्न बाध्य भएको थुनुवामा रहेकाहरूले गुनासो गरे । कोठामा शौचालय नहुँदा एउटा कुनामा पिसाब फेर्न बाध्य भएको सुनसरी घर भई हिरासतमा रहेका २५ वर्षीय दाबुद मन्सुरीले बताए ।
उनले भने, 'सुरक्षाकर्मीले बाहिरबाट ताल लगाइदिन्छ, पिसाब आयो खोलिदिनुस् न भन्दा पनि खोलिदिँदैनन् ।' ताल नखोले पनि बाध्य भएर कोठाको एउटा कुनामा पिसाब फेर्न बाध्य भएको उनले बताए । थुनुवा कोठामा अहिले १३ जनालाई राखिएको छ ।
दिउँसो बाहिर शौचालय प्रयोग गरे पनि राति भने भित्रै पिसाब फेर्नुपर्ने बाध्यता भएको अर्का बन्दी सिरहा भदैयाका वकिल मियाँले बताए । उनले भने, 'थुनुवा राख्ने भवनमा शौचालय छैन, जसका कारण राति कोठामा भित्रै पिसाब गर्नुको विकल्प छैन ।' सानो कोठामा कोचाकोच भएर सुत्नुपर्ने बाध्यतासँगै पिसाबको दुर्गन्धले खपिनसक्नु हुने उनले बताए ।
वन तस्करीमा संलग्नलगायत अन्य नोक्सानी पुर्याउनेलाई पक्राउ गरी अदालतमा मुद्दा चलिरहेको समयमा पक्राउ परेकालाई वन कार्यालयले आफ्नो हिरासतमा राख्ने गर्छ । मुद्दा फैसला नभएसम्म पक्राउ परेकाले अहिलेकै थुनुवा कोठामा बन्दी भएर बस्नुपर्ने वनका सुरक्षाकर्मीले बताए ।
करिब दुई महिनायता वन कार्यालयले व्यापक रूपमा गस्ती गरिरहेकाले पक्राउ पर्नेको संख्यासमेत बढ्दै गएको सहायक वन अधिकृत ललन मण्डलले बताए । उनले भने, 'चुरेमा सुरक्षा गस्ती बढाइएको छ, सबैभन्दा धेरै चुरे क्षेत्रमै तस्कर पक्राउ पर्ने गरेका छन् ।'
भौतिक संरचनाको अभावका कारण बन्दी थुनुवा कोठाभित्रै पिसाब फेर्न बाध्य भएको निमित्त वन अधिकृत राकेश कर्णले बताए । उनले भने, 'आर्थिक अभावका कारण शौचालय निर्माण गर्न सकिएको छैन ।'


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...