सूचना प्रविधिका भाइरसहरू

देशभरि सूचना प्रविधिको विस्तार गर्ने उद्देश्यले खोलिएको राष्ट्रिय सूचना प्रविधि केन्द्र काम गर्न नसकेर लथालिङ्गको अवस्थामा पुगेको छ । त्यहाँ कार्यरत वरिष्ठ कर्मचारीहरूको अदुरदर्शिता र भ्रष्ट मानसिकताको कारण केन्द्र लथालिङ्ग अवस्थामा पुगेको हो । विभिन्न दातृ निकायले सूचना प्रविधिको विस्तार तथा विकासको लागि दिएको करोडौँ रूपैयाँ बालुवामा पानी हालेसरह हुन पुगेको छ । एडीबीको सहयोगमा मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र विस्तार गर्ने भनिएको सूचना सञ्जाल अहिलेसम्म विस्तार हुन सकिरहेको छैन । केन्द्रका भ्रष्ट हाकिम, कर्मचारीहरूको कारण यो कार्य अगाडि बढ्न नसकेको केन्द्र स्रोतले जानकारी दिएको छ । केन्द्रका उपनिर्देशक विकल पौड्याल र इन्जिनियर सुदीप डाँगीको मिलेमतोमा अनाधिकृतरूपमा विभिन्न निजी कम्पनी तथा संघसंस्थालाई सूचना सञ्जाल विस्तार गर्न दिएको जिम्मा अहिलेसम्म सुरु हुन नसकेको स्रोतले बताएको छ । कमिसनको खेलमा लागेका पौड्याल र डाँगीले निजी कम्पनीसँग काम दिएबापत मागेको कमिसनमा कुरा नमिलेपछि सञ्जाल विस्तारको कार्य नै अगाडि बढ्न नसकेको स्रोतले खुलाएको छ । पौडेल र डाँगीको कर्तुतलाई केन्द्रका प्रमुख अनुप बास्कोटाले पनि साथ दिइरहेको समेत स्रोतले बताएको छ । एक सय रूपैयाँ पर्ने सामान खरिदमा समेत पौडेल र डाँगीले कमिसन लिने गरेका त्यहाँका कर्मचारीले बताएका छन् । कोरियन दातृ निकायबाट प्राप्त भएको अनुदान रकमसमेत भ्रष्ट मानसिकता बोकेका पौड्याल र डाँगीको कारण अलपत्र परेको स्रोतको दाबी रहेको छ । सरकार र दातृ निकायबाट प्राप्त करोडौँ रूपैयाँमाथि पौडेल र डाँगीको मिलेर रजाइँ गरिरहेका छन् । केन्द्रको आगामी योजनासमेत प्रस्ट नपारी उपनिर्देशक पौड्याल खाली कमिसनको खेलमा दौडिरहेको त्यहाँ कार्यरत एक कर्मचारीले बताएका छन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रका थप रहस्य र त्यहाँका प्रमुख र कर्मचारीहरूका कर्तुतहरूलाई नाङ्गेझार पार्ने क्रममा केन्द्रभित्र कै कर्मचारी सक्रिय रहेको स्रोतले बताएको छ । र, आगामी दिनमा केन्द्रभित्र भएका थप अनियमितता र भ्रष्टाचारको बारेमा सूचना उपलब्ध गराउँदै जाने स्रोतको दाबी छ ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...