वन अधिकृतलाई कालोमोसो


चन्दा नदिएको झोंकमा मातृकाप्रसाद यादव समूहको माओवादी कार्यकर्ताहरुले सुनसरी जिल्ला वन कार्यालयका अधिकृत रामवृक्ष ठाकुरलाई सोमबार कार्यकक्षमै कालोमोसो दलेका छन् ।
कालोमोसो दलिएको विरोधमा मङ्गलबार सुनसरीभरिका सरकारी कार्यालय बन्द गर्ने निजामति कर्मचारीहरुले जनाएका छन् भने असुरक्षा भएको भन्दै जिल्ला वन कार्यालय अनिश्चितकालीन बन्द गरिएको छ ।
माओवादीले भने काठ तस्करीमा ठाकुरको संलग्नता रहेको र पटक–पटक सम्झाउँदा अटेर गरी तस्करीलाई निरन्तरता दिएकाले कारवाहीस्वरुप कालोमोसो दलेको दावी गरेको छ । ठाकुरले आनन्द कत्था उद्योगको कारवाही एक हजारमा फुकुवा गरेको र मोटो रकम लिएको आरोप उनीहरुको छ । यसैगरी आइतबार डुम्राहाको काठ बरामदमा पनि कुनै चासो नदेखाएकाले कालोमोसो दलिएको माओवादीको भनाइ रहेको छ ।
पुर्नगठित माओवादीको यूवा सुरक्षा वल मेची कोशी व्यूरो इञ्चार्ज संयोग भट्टले कोशी पीडितले पाएको काठमा ठाकुरले अनियमितता गरेको र वन विनासमा सक्रिय रहेका कारण पाटीले कारवाही गरेको बताए । ठाकुर केही सामुदायिक वनहरुसँग मिलेर वन विनास गर्न सकृय भएको समेत भट्टले दावी गरेका छन् । ठाकुरसँग पार्टीले हाल कुनै चन्दा नमागेको तर आफ्नो कर्तुत लुकाउ चन्दाको निउ झिकेको उनले जनाए । 
माओवादीका पप्पु मण्डलले आनन्द कत्था उद्योगको कारवाही विषयमा समेत अस्पष्ट रहेको र १ हजार ३ सय ७० टुना खयरको काठसमेत कहाँ राखिएको भन्ने विषयमा जानकारी नभएको वन प्रमुख ठाकुरले बताएकाले चेतावनीस्वरुपको कारवाही गरिएको जनाए । उनले ठाकुरबाट पटक–पटक लापरवाही तथा अनियमिततामा संलग्नता देखिएको भन्दै चेतावनीस्वरुप मोसो दलिएको बताए ।
कालोमोसो दल्दा पनि सचेत नभए कडा कारवाही गर्न आफूहरु पछि नपर्ने मण्डलले चेतावनी दिए । यता प्रमुख ठाकुरले भने आफूसँग पटक–पटक गरी ५० हजार रुपैयाँभन्दा बढी रकम सहयोग गर्न आग्रह गर्दैआएको र नदिएपछि कालोमोसो दलेको बताए ।
यता अधिकृत ठाकुरलाई दुव्र्यहार र कालोमोसो दलेको आरोपमा सुनसरी प्रहरीले माओवादी कार्यकर्ता दावा लामालाई पक्राउ गरेको सुनसरी जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजेन्द्र पराजुलीले बताए । ठाकुरमाथि कार्यालय हाताभित्रै कालोमोसो दल्ने काम भएको जनाउँदै आधा दर्जन कर्मचारी संगठनहरुको सोमबार साँझ बसेको बैठकले भत्र्सना गर्दै दोषीउपर कडा कानुनी कारवाही गर्न माग गरेको छ । बैठकले कर्मचारीहरुको कार्यथलोमा सुरक्षाको ग्यारेन्टीको माग पनि गरेको छ ।
बैठकले घटनाको विरोधमा मङ्गलबार सुनसरीका सबै सरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको बैठकमा सहभागी नेपाल राष्ट्रिय कर्मचारी संगठनका सुनसरी अध्यक्ष नारायण ढकालले बताए । सो पछि पुनः बैठक बसेर थप विरोधका कार्यक्रम सार्वजनिक गरिनेछ ।
यता घटनाको विरोध गर्दै जिल्ला वन कार्यालयका सम्पूर्ण कर्मचारीले भने दोषीउपर कारवाहीको माग गर्दै माग पूरा नहुञ्जेल कार्यालयका सम्पूर्ण कामकाज ठप्प पार्ने निर्णय गरेका छन् । नेपाल कर्मचारी संगठन सुनसरी र कर्मचारी युनियन सुनसरीले समेत घटनाको विरोध गरेका छन् ।


No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...