खिलानाथ ढकाल, विराटनगर, माघ २६- मोरङको पथरीका दुई पत्रकारलाई धम्की दिँदै आएका अज्ञात व्यक्तिले आज 'अन्तिम चेतावनी' भन्दै हत्या गर्ने सन्देशसहितको एसएमएस पठाएका छन्।
औजार दैनिकमा कार्यरत अर्जुन जम्नेली राई र जनविद्रोह दैनिकका विवेक भट्टराईलाई एउटै नम्बरबाट एसएमएस गरी हत्या गर्ने धम्की दिँदै आएका व्यक्तिले आज दिउँसो १ बजे अन्तिम सन्देश भन्दै एसएमएस पठाएका हुन्।
९८४२३०६१५१ नम्बरको मोबाइलबाट गरिएको एसएमएस सन्देशमा हतियार ल्याई सकिएकाले हत्या गरेरै छाड्ने जनाइएको छ। पत्रकार महासंघको आसन्न निर्वाचनको तयारीका लागि विराटनगर पुगेका राईलाई पठाइएको सन्देशमा कतै गएर लुके पनि खोजेर हत्या गरिने धम्की दिइएको छ।
धम्कीका विषयमा मंगलबार मोरङका पत्रकारले प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएका थिए। समाचार लेखेको विषयमा एसएमएस गरी धम्क्याउने व्यक्तिको पहिचान खुलिसकेको जनाए पनि प्रहरीले पक्राउ गर्न सकेको छैन। ढुङ्गा–गिटीको तस्करी हुने गरेको विषयमा समाचार लेख्दा अज्ञात व्यक्तिले केही दिनदेखि लगातार धम्की दिँदै आएको पीडित पत्रकारले बताएका छन्।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...