धिमाल महोत्सवले यो जातिलाई नजिकबाट चिनाएको छ । दमक नगरको नाम नै धिमालबाट राखिएको रहेछ भन्ने सुन्न पाउँदा युवापुस्ताका धेरैले अचम्म मानेका छन् । धिमाल जातीय विकास केन्द्रका अध्यक्ष रामजी धिमालका अनुसार बिर्संदै गएको मौलिक परम्परा र संस्कृतिलाई चिनारी गराउन यो महोत्सव आयोजना गरिएको हो ।
पर्यटन वर्ष २०११ को अवसर पारेर १५ दिनका लागि आयोजना गरिएको यो महोत्सवले अन्य जातजातिको पहिचानलाई बाहिर ल्याएको धिमालको दाबी छ । महोत्सवमा दमक नगरमा बसोबास गर्ने सबै २१ वटा जनजातिका संस्कृति, खानपान र पहिरन झल्किने स्टलहरू राखिएका छन् । यसको आयोजना आदिबासी जनजाति दमक नगर समन्वय समिति, धिजाविके, उद्योग वाणिज्य संघ पर्यटन बोर्ड लगायतले आयोजना गरेका हुन् ।
दमक बसपार्कसँगै जोडिएको स्थानमा आयोजना गरिएको महोत्सवमा छिर्नेबित्तिकै बनाइएको धिमाल जातिको ऐतिहासिक घर र त्यहाँभित्र टाँसिएका यो जातीसँग सम्बन्धित तस्बिरहरूले इतिहास स्पष्ट पारेको अवलोकनकर्ताहरूले बताएका छन् । 'धिमालहरूले यति धेरै सामग्रीहरू प्रयोग गर्दारहेछन् भनेर देख्दा ज्यादै खुसी लाग्यो' दमक-१४ का मोहन धिमालले भने, 'आपmनै जातिको संस्कृति नचिन्दा लाज पनि लाग्यो ।' यो स्टलमा धिमालहरूका परमपरागत बाजा तुन्जाई पनि राखिएको छ । धिमाल वृद्धहरूका अनुसार बाँसको भाटाबाट बनाइएको मौलिक तुन्जाई बनाउन र बजाउन सक्ने धिमालहरू अब बाँकी छैनन् । तस्बिरको भरमा अहिले नक्कल गरेर यो बाजा बनाइने गरेको छ । यसबाहेक धिमाल राजाको दरबार भएको विस्वास गरिनेे राजारानी पोखरी, गत वर्ष लखनपुरमा फेला परेको ऐतिहासिक डुंगा, धिमालहरूको ऐतिहासिक खान्की, दैनिक प्रयोगका सामग्री र तस्बिरहरू महोत्सवमा राखिएको छ ।
धिमाल महिलाहरूलाई अन्य जनजाति समूहका बीचमा चिनाउने पेटानी बुन्ने तान पनि महोत्सवस्थलमा राखिएको छ । तान बुन्दै बसेकी मोरङ राजघाट १ की लक्ष्मी धिमालका अनुसार धेरै मानिसहरूले पेटानी देखे पनि तान र बुन्ने तरिका चाल पाएका हुँदैनन् । 'आगन्तुकलाई पेटानी बुन्ने सीप देखाउँदैमा एउटा पेटानी तयार हुन लागिसक्यो ।'
महोत्सवमा राखिएका धिमाल जातिका परिकारले पनि धेरै आगन्तुकहरूको मन खिचेको छ । यहाँ राखिएको परम्परागत मौलिक खाना चिचिरी र बगियामा गैरधिमालहरू पनि झुम्मिएका छन् । लखनपुर-३ का वृद्ध हीराबहादुर कार्की पनि चिचिरी खाने लाइनमा उभिएका छन् । भन्छन्, 'राजवंशी, ताजपुरियाको भक्का त चाखेकै हो तर धिमालको चिचिरी पनि चाखौं भनेर लाइनमा बसेको छु ।' चिचिरी बाफमा पकाएको एक प्रकारको भात हो जुन मासुसँग खाने गरिन्छ । चिचिरी बेचिरहेकी शान्ति धिमालका अनुसार सोमबार १० केजी चामलको चिचिरी लिएर आएकीमा दिउँसो दुई नबज्दै सिद्धियो । एक प्लेट चिचिरी ४० रुपैयाँमा किन्न पाइन्छ ।
दमक नगरपालिकाका पूर्वउपप्रमुख लोकबहादुर धिमालका अनुसार करिब ४० हजार जनसंख्या भएको धिमाल जातिले यहाँका अन्य जातिहरूको पनि अगुवाइ गर्न सक्छ भन्ने कुरा महोत्सवले देखाएको बताउँछन् । 'जातीय महोत्सवको आयोजना गरेर हामीले अन्य जातिहरूलाई पनि चिन्ने मौका दिन सक्यौं' धिमालले भने ।


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...