“च्याट गर्दागर्दै एक्कासि हेर्नै नसकिने तस्बिरहरू आए, म त आत्तिएँ”– ती बालिकाले सुनाइन् ।
राजधानीकी एक १६ वर्षीया किशोरीले प्रत्येक दिनजसो साइबरमा च्याट गर्दागर्दै अनभिज्ञ व्यक्तिसँग सम्बन्ध जोड्न पुगिन् ।
सुरुमा त उनीहरूका कुराकानी च्याटमा मात्र सीमित र सामान्य मित्रवत् हुन्थे । तर त्यसको एक हप्ता नबित्दै उनीहरूबीच साक्षात्कार भयो र सामिप्यता पनि बढ्न पुग्यो । तर दुर्भाग्य, अहिले ती किशोरीको जीवनमा त्यही सम्बन्धले कहिल्यै बिर्सन नसक्ने तीतो अनुभूति दिएको छ ।
“सुरुमा त च्याटमा कतिमा पढ्ने, कहाँ पढ्ने ? पढाइ कस्तो छ ? लगायत मेरो भविष्यसँग जोडिएका कुराकानीमात्रै हुन्थे तर भेटिसकेपछि भने सेक्सबारे मात्रै कुरा गर्न थाल्यो र पछि यौन दुर्व्यहारसमेत गर्यो ।”–ती किशोरीले सुनाइन् ।
यतिबेला भने त्यो युवक कुनै सम्पर्कमा नै नरहेको पनि उनले बताइन् । अनलाइन च्याट गर्दागर्दै गोङ्गबुकी अर्की एक बालिका मानसिक समस्याको सिकार भइन् । “च्याट गर्दागर्दै एक्कासि हेर्नै नसकिने तस्बिरहरू आए, म त आत्तिएँ”– ती बालिकाले सुनाइन् ।
ती १२ वर्षीया बालिकाले अगाडि थपिन्– ‘आफू अनलाइनमा बस्यो नानाथरिका तस्बिर आउन थाले अनि आमालाई किन यस्तो भएको भनेर सोधेँ । आमाले अबदेखि च्याट नगर्नु भन्नुभयो, अचेल च्याट गर्न बन्द गरेकी छु ।’
इन्टरनेटले बालबालिकालाई समेत आफ्नो पहुँच बढाउनमा असीमित सम्भावनाहरू प्रदान गरेको छ । तर सँगसँगै बालमस्तिष्कले पचाउन नसक्ने अश्लील सामग्रीहरूमा समेत पहुँच बढाइ असीमित चुनौतीहरू थपिदिएको छ ।
सिविन नेपालले बालबालिकामाथि हुने यौन दुव्र्यवहारका बारेमा गरेको पटकपटकको अनुसन्धानले यी दुई मात्रै होइनन्, थुप्रै नेपाली बालबालिका अनलाइनका अश्लील सामग्रीहरूबाट नराम्ररी प्रभावित भएको देखाएको छ । यस्ता गुनासा र समस्या लिएर सिविनमा आउने बालबालिका र अभिभावकहरूको सङ्ख्या बढ्दो छ ।
सिविनले सन् २००८ मा काठमाडौँका एक हजार ५०० बालबालिकामा गरेको अनुसन्धानले ८२ प्रतिशतले इन्टरनेट प्रयोग गर्ने गरेको देखाएको छ । जसमध्ये ९४.७ प्रतिशत निजी विद्यालयका र ५८.३ प्रतिशत सरकारी विद्यालयका विद्यार्थीहरू रहेका थिए ।
यसरी इन्टरनेट प्रयोग गर्ने ती कुल बालबालिकामध्ये बालकको सङ्ख्या ९१ प्रतिशत थियो भने बालिकाको सङ्ख्या ७४ प्रतिशत थियो । यीमध्ये ६३ प्रतिशतले साइबर क्याफेमा र ५१ प्रतिशतले घरमा इन्टरनेट प्रयोग गर्ने गरेको पनि सो अध्ययनले देखाएको छ ।
अनुसन्धानका क्रममा कुलमध्ये ६०.३ प्रतिशत बालबालिकाले नचिनेकासँग च्याटमार्फत व्यक्तिगत भेटघाट गरेको र १५.५ प्रतिशतले पहिलो भेटमै नराम्रो अनुभव गरेको बताएको पाइएको छ । अनुसन्धानमा सहभागी यी बालबालिकामध्ये ६६.६ प्रतिशतले च्याटमा यौनजन्य सामग्री जस्तै तस्बिर, फिल्म रहेको बताएका थिए ।
संसारका कुनै पनि ठाउँमा उत्पादन भएका सामग्रीहरू इमेल, वेभसाइट, च्याट, सामाजिक सञ्जाल, वेब क्यामराहरूमार्फत सजिलै प्रयोग गर्न सकिन्छ । यस प्रविधिको दुरूपयोग गरी बाल यौन दुराचारीहरूले आफ्नो सशक्त सामाजिक सञ्जाल बनाइ यस्ता सामग्रीको सजिलै उत्पादन र बिक्री वितरण गरिरहेका छन् ।
इन्टरपोलका अनुसार सन् १९९७ देखि सन् २००५ भित्रमा इन्टरनेटमा बालअश्लील सामग्रीहरू १५०० प्रतिशतले बढेको छ । एफबिआइका अनुसार बालबालिकाको अश्लील चित्रण करोडौँ डलरको व्यापार हो । जहाँ दस लाख बालबालिकाको यौन शोषण गरिएका चित्रहरू अनलाइनमा उपलब्ध छन् भने एक लाखभन्दा बढी बालअश्लीलताका वेबसाइटहरू सञ्चालनमा छन् ।
यसरी इन्टरनेटमा बाल अश्लीलताका सामग्रीहरू छ्याप्छ्याप्ती उपलब्ध भइरहेका छन् तर यसको माग झन् बढ्दै गएको छ । जसको फलस्वरूप मागको आपूर्ति गर्न बालबालिकाको यौनशोषण पनि बढ्दै गएको छ ।
यस्ता सामग्रीको प्रयोग नगर्ने मानिसहरू पनि आर्थिक कमाई राम्रो हुने प्रलोभनले यो काम गर्न अग्रसर देखिएका छन् । यतिबेला बालबालिकाको अश्लील चित्रणको माग बढ्दै जाँदा विभिन्न वेबसाइटहरूमा कमभन्दा कम उमेरका बालबालिकालाई अझ बढी क्रूरताका साथ शोषण गरिरहेका चित्रहरू अपलोड गर्ने गरिएको बाल मजदुर सरोकार केन्द्र (सिविन) नेपालका कार्यकारी निर्देशक सुम्निमा तुलाधर बताउँछिन् ।
इन्टरनेट वाच फाउन्डेसनको प्रतिवेदनअनुसार यसरी अश्लील चित्रणमा प्रयोग गरिएका प्रत्येक तीनजनामा एकजना बालबालिका छ वर्षमुनिका र प्रत्येक २० जनामा एकजना बालबालिका दुई वर्षभन्दा पनि कम उमेरका भएको पाएको छ ।
यस्ता सामग्रीहरूमध्ये एक तिहाइ सामग्रीहरूमा बालबालिकाको बलात्कार, पीडाकामिता (सेडिजम) र अमानवीय क्रूरता रहेको इन्टरनेट वाच फाउन्डेसनलाई उद्धृत गर्दै सिविन नेपालले जनाएको छ ।
संयोजक तुलाधरका अनुसार विभिन्न वेबसाइट र सामाजिक सञ्जालका साइटहरूमार्फत दुराचारीहरूले एकै समय मिलाई बालबालिकाका यस्ता चित्रहरू र भिडियोहरू प्रत्यक्षसमेत हेर्ने गरेका छन् ।
नेपालमा बालबालिकाविरुद्ध भइरहेको इन्टरनेटको दुरूपयोग तथा हिंसाका विरुद्धमा सन् २००८ देखि अभियान थालिएको सिविन नेपालले जनाएको छ । यसअन्तर्गत अनुसन्धान, जनचेतना, राष्ट्रिय सचेतना, बालबालिका र अभिभावकसँग अन्तरक्रिया र परामर्श कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
नेपाली बालबालिकासम्बन्धी ऐन १९९२ ले बालबालिका विरुद्ध गरिने यस्ता क्रियाकलापहरूलाई अपराधको रूपमा मानेको छ । कसैले बाल अश्लीलतासम्बन्धी कार्य गरेमा छ महिनादेखि दुई वर्षसम्म कैद वा दुई लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था पनि गरेको छ ।
त्यस्तै, कसैले यौनजन्य दुर्व्यवहार गरेमा दुई महिनादेखि एक वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था नेपाली कानुनमा गरिएको छ । यी व्यवस्थाका अतिरिक्त सरकारले विद्युतीय सञ्चार आदान–प्रदान ऐन र नियमावली पनि पारित गरेको छ । तर यो ऐनमा बालबालिका संरक्षणसम्बन्धी प्रत्यक्ष बुँदाहरू उल्लेख नगरिएको संयोजक तुलाधर बताउँछिन् ।
बालबालिकालाई यस्ता हिंसाबाट जोगाउन इन्टरनेट सेवा प्रदायक, मोबाइल फोन अपरेटर, साइवर क्याफे, विद्यालय, अभिभावक तथा स्वयम् बालबालिका सचेत हुनुपर्ने देखिन्छ । -रेखाकुसुम रेग्मी / रासस


No comments:
Post a Comment
आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...