एचआइभीपीडितका बच्चालाई हजुरबाआमाले पनि छोएनन्


किरण चुनारा भर्खर वर्षदिनका भए । सबैको माया पाएर हातहातै हुर्किनुपर्ने समयमा उनलाई न बाजे-बज्यैले काखमा राखेर खेलाउँछन् न त अन्य आफन्तले । उनलाई काखमा राखेर खेलाउन त परै जाओस्, कोही उनको नजिकसम्म आउँदैनन् । उनी न हाँस्छन्, न खेल्छन् न त निश्चिन्त भई बस्छन् नै । उनी घरी-घरी रुन्छन् मात्र ।

'नरोएर के गर्छ त ? मेरो दूधले पेट भरिन्न,' आमा धानाले निराश हुँदै भनिन्, 'वर्षदिन भयो, यसले पेटभरि खान पाएको छैन ।' दार्चुला धाप-५ की २८ वर्षीया धाना एचआइभी संक्रमित हुन् । किरणका बुबा जयबहादुरको संक्रमणकै कारण तीन महिनाअघि मृत्यु भइसकेको छ । एक वर्षअघि जन्मेका किरणलाई संक्रमण भए/नभएको बारे परीक्षण गरिएको छैन । तर, धाना संक्रमित भएकाले किरणसमेत संक्रमित भएको आशंकामा परिवारजनले उनलाई वास्ता गर्दैनन् । 'परिवारका सदस्यको माया त टाढैको कुरा भयो,' आमा धानाले भनिन्, 'छुँदा पनि रोग सर्लाजस्तो गर्छन् । यसले बेकारमा सबैको हेला सहनुपरेको छ ।'
किरणसँगै उनकी दिदी निलमको अवस्था पनि उस्तै छ । चार वर्षीया निलमले स्कुल जान पाएकी छैनन् भने घरपरिवारले उनको पनि वास्ता गर्दैनन् । ६ वर्षीय जयन्द्र स्कुल त जान्छन्, तर कहिले कापी हुँदैन, कहिले कलम । श्रीमान्ले छाडेर गएको नासो एचआइभीका कारण तीन नाबालक छोराछोरीसँगै धाना बिचल्लीमा परेकी छिन् । गरिबीका कारण तीनै छोराछोरीको स्वास्थ्य परीक्षण गर्न नसकिएको धानाले बताइन् । 'उनीहरूमा संक्रमण भए/नभएको यकिन नभए पनि कसैले छुदैनन्,' उनले गुनासो गरिन्, 'कसैले कुनै सहयोग गरेको छैन ।'

जग्गा-जमिन केही नभएका जयबहादुरको मजदुरीबाटै चलिरहेको उनीहरूको दैनिकी अहिले अस्तव्यस्त भएको धानाले दुःखेसो पोखिन्् । 'दिल्लीमा काम गर्नुहुन्थ्यो, उनले भनिन्, 'त्यहीँबाट पठाएको पैसाले गुजारा चलेको थियो ।'
भारतको दिल्लीमा होटलमा भाँडा माझेर परिवार पाल्दै आएका जयबहादुर गत जेठमा वैदेशिक रोजगारीमा दक्षिण अपि|mका गएका थिए । दिल्लीबाटै दक्षिण अपि|mका पुगेका जयबहादुर बिरामी परेपछि तीन महिनामै घर फर्किए । 'विदेश जाँदा लागेको खर्च पनि ल्याउनुभएन,' उनले भनिन्, 'घर फर्केको तीन महिनापछि त बितिहाल्नु भो ।'
दक्षिण अपि|mकाबाट घर फर्केपछि थला परेका जयबहादुर उपचारका लागि अस्पताल गएपछि एचआइभी लागेको बताउँदै चिकित्सकले उपचार हुँदैन भनेर घर फर्काएको धानाले बताइन् । थला परेकै अवस्थामा गत कात्तिकमा जयबहादुरको संक्रमणकै कारण मृत्यु भएको हो । जयबहादुरको मृत्यु हुँदा किरण गर्भमै थिए । 'उहाँ बित्ने वेला यो पेटमै थियो,' उनले भनिन्, 'जन्मेर पनि के नै पायो र ? यस्तो हालत छ ।'
संक्रमणको पीडाले सताइरहेका वेला परिवारजनले समेत सहयोग नगरेपछि धाना र उनका तीन सन्तानले पेटभरि खानसम्म पाएका छैनन् । 'मैले पेटभरि खान पाए पो यसले पनि दूध खान पाउँथ्यो,' उनले रुँदै भनिन्, 'यो अभागीले आमाको दूध पनि पेटभरि खान पाएन ।'
संक्रमणले गर्दा कमजोर बनेका वेला पौष्टिक आहार खानुपर्नेमा कोदो-मकैको रोटी पनि पेटभरि पाइरहेकी छैनन्, उनले । 'आफ्नो दूध नआएपछि गाई-भैँसीको दूध खुवाउन पाए पनि हुन्थ्यो । तर, कहाँबाट पाउनु र कसैले दिँदैनन्,' उनले रुँदै भनिन्, 'भातको माड खुवाउनू भनेको थियो । तर, चामल नहुँदा माड पनि खुवाउन सकेकी छैन ।'
परिवारजनले तीन सन्तानसहित उनलाई अलग बस्न बाध्य पारेको छ । उनलाई कोही भेट्न पनि आउँदैनन् । दार्चुलामा संक्रमितको हितका लागि काम गर्ने थुप्रै संघसंस्था खुलेका भए पनि उनलाई कसैले सहयोग गरेको छैन । 'कसैले कुनै सहयोग गरेन,' उनले भनिन् ।
सकिनसकी काममा जाँदा पनि किरण र निलमलाई बोकेरै जानुपर्ने बाध्यता छ, धानालाई । 'दुइटैलाई बोकेर काममा जान्छु,' गिट्टी कुट्ने र भारी बोक्ने काम गर्दै आएकी उनले भनिन्, 'यिनीहरूलाई बोकेर जाँदा दिनभरि काम गर्न पनि पाउँदिनँ ।'
एचआइभीबाट थला परेकी धानाको शरीर कमजोर बन्दै गएको छ । उनीसँगै तीनै सन्तानको अवस्था पनि खासै भिन्न छैन । यस्तो अवस्थामा सहयोगको आशा राखेर सरकारी र गैरसरकारी संघसंस्थाका कार्यालय धाउँदा-धाउँदा उनी थाकिसकेकी छिन् । नाबालक छोराछोरीको पेट भर्न सहयोगका लागि हात फैलाइरहेकी छिन् ।

No comments:

Post a Comment

आफ्नो अमूल्य राय, सुझाव तथा टिप्पणीहरु यहाँ लेख्नुहोला...▼ Please leave your Comments here...▼ ...